फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद

फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवा
रामेछाप । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आइतबार रामेछापमा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद कार्यक्रम आयोजना गरेको छ ।
फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा मान्दै आएको उल्लेख गर्दै उहाँको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जेन–जी आन्दोलनको पृष्ठभूमि, यसले नेपाली राजनीतिमा पारेको प्रभाव, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता तथा लोकतान्त्रिक अभ्यासमा देखिएको परिवर्तनका विषयमा फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहभागीहरूले आ–आफ्ना धारणा राख्दै गहन छलफल गरिएको थियो ।
कार्यक्रममा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गरे । उनले केही समूहले आन्दोलनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाउँदै आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको बताए । तामाङले आगामी फागुन २१ गते निर्वाचन हुन नसक्ने धारणा राख्दै वर्तमान राजनीतिक सङ्कटको निकास संसद् पुनः स्थापना नै भएको स्पष्ट गरे। संसद् पुनः स्थापनाको पक्षमा आफूले हस्ताक्षर गरिसकेको र सो विषय अदालतमा विचाराधीन रहेको पनि उनले बताए ।
वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति तथा नेकपा एमालेका नेता आनन्दकुमार श्रेष्ठले भदौ २३ गतेको आन्दोलन र भदौ २४ गते घटेको घटनालाई फरक–फरक रूपमा हेरेर निष्पक्ष छानबिन हुनुपर्ने बताए । भदौ २४ गतेको घटना कुनै आन्दोलन नभई स्पष्ट रूपमा विध्वंस भएको उनको भनाइ थियो । उनले एमाले संसद् पुनः स्थापनाको पक्षमा रहे पनि सरकारले निर्वाचनको वातावरण बनाएमा निर्वाचनमा जान पार्टी तयार रहेको बताए ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नवयुवाहरूको आन्दोलनका केही मागहरू जायज भए पनि निर्णायक मोडमा पुग्दा आन्दोलन दिशाहीन बनेको टिप्पणी गरे । आन्दोलन व्यक्तिगत रिसिवीमा केन्द्रित हुँदा व्यक्तिगत, संस्थागत तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको र यसले मुलुकलाई कम्तीमा १० वर्ष पछाडि धकेलेको उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले भने लामो समयदेखि एउटै नेतृत्वको निरन्तरता, बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार र सुशासनको अभावका कारण युवापुस्तामा असन्तुष्टि चुलिँदै जाँदा जेन–जी आन्दोलन जन्मिएको बताए । उनले आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने स्पष्ट म्यान्डेट पाइसकेको उल्लेख गर्दै अहिलेको अवस्थामा निर्वाचन नै एक मात्र विकल्प भएको धारणा राखे ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले जेन–जी आन्दोलनले राजनीतिक सचेतना बढाएको, वैकल्पिक राजनीतिक धार उदय गराएको र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगलाई थप बलियो बनाएको बताए ।
कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

