नयाँ भर्ना गरेर वैकल्पिक माध्यम खोज्दै स्थानीय तह

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : 2 मिनेट

नेपाल सरकारले असार एक गतेबाट शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएसँगै कर्णाली प्रदेशका स्थानीय तह तयारीमा जुटेका छन् । स्थानीय तहले आफ्नो मातहतमा रहेका शैक्षिक संस्थाहरूलाई तत्काल शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएका छन् । सोही अनुसार विद्यालयहरू विद्यार्थीको नतिजा प्रकाशन गर्ने, नयाँ भर्ना लिने तयारीमा छन् ।

यस वर्ष कोरोनाका कारण परीक्षा हुनुपूर्व नै विद्यालय बन्द भएका कारण कर्णालीका सबैजसो स्थानीय तहले आन्तरिक मूल्याकंनका आधारमा विद्यार्थीको नतिजा प्रकाशन गरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाले नयाँ शैक्षिक सत्रको लागि भर्ना अभियान सुरु गर्ने अन्तिम तयारी गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतम भन्छन्, ‘हालसम्म कक्षा ८ को बाहेक अन्य सबै नतिजा प्रकाशन भइसकेका छन् । कक्षा ८ को पनि अब केही दिनमा सबै विद्यालयले नतिजा प्रकाशन गर्नेछन् । त्यसपछि तत्काल असार एक गतेबाट भर्ना सुरु हुन्छ ।’

विद्यार्थीको भर्ना लिए पनि तत्काल भौतिक रूपमा उपस्थित भएर पढाउन सक्ने अवस्था नरहेको भन्दै उनले भर्नापछि विभिन्न वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अघि बढाउने योजना रहेको बताए । हाल नयाँ शैक्षिक सत्रका लागि किताब आउने क्रममा रहेको समेत उनले जानकारी दिए ।

यस्तै गरी पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले पनि नयाँ भर्ना लिएर वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधिलाई अघि बढाउने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्रबहादुर बुढाले नियमित कार्यसूची बनाएर भर्ना प्रक्रिया अघि बढाउने बताए ।

‘नयाँ भर्ना गर्ने विषयमा अहिले छलफल भइरहेको छ,’ उनले भने, ‘कोभिडको जोखिमलाई ध्यानमा राखेर फरक-फरक कक्षाको फरक-फरक दिन भर्ना मिति तोकेरै भए पनि भर्ना पक्रिया अघि बढ्छ भने भौतिक रूपमा पठनपाठन हुन अझै समय लाग्छ ।’

केन्द्र सरकारबाट नयाँ भर्ना अघि बढाउन निर्देशन आएको भन्दै उनले भर्ना सकिएपछि तत्कालै विभिन्न वैकल्पिक माध्यमबाट पढाइ सुरु हुने जनाए ।

भर्ना प्रक्रिया अघि बढाए पनि तत्काल विद्यालय सञ्चालन गर्न नसकिने बारेमा सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द भन्छन्, ‘विद्यार्थीको भर्ना अघि बढाइए पनि तत्काल कक्षामा आएर पढ्न पढाउन सम्भव छैन । भर्ना गरिसकेपछि केही वैकल्पिक व्यवस्था अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ ।’

यता शिक्षा विकास निर्देशनालयले पनि तत्कालै भौतिक रूपमा अध्यापन गराउन नसकिने बताएको छ । निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले केन्द्र सरकारको निर्देशन बमोजिम असार एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि तत्कालै भौतिक रूपमा पढाइ नहुने बताइन् ।

‘संघीय सरकारको नीति अनुसार स्थानीय तहले असार एक गतेबाट शैक्षिक भर्ना सुरु गर्ने छन्,’ उनले भनिन, ‘शिक्षकहरूले कोरोना विरुद्धको भ्याक्सिन नलगाउञ्जेलसम्म भौतिक रूपमा पढाउन नसकिने बताउँदै आएका छन् । यस्तो अवस्थामा भर्ना गर्ने पाठ्यपुस्तक वितरण गर्ने काम हुन्छ ।’

वैकल्पिक शिक्षा प्रणालीको विकास गर्नका लागि प्रदेश सरकारले प्रविधिमैत्री  विद्यालय बनाउनमा जोड दिएको भन्दै हमालले वैकल्पिक अध्यापनमा सहज हुँदै जाने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page