
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभागमा बन्ने मल्टिमिडिया ल्याब निर्माण गर्न तीन करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । विभागको क्यामेरा भवनमा ‘स्टेट-अफ-द-आर्ट मल्टिमिडिया ल्याब्रेटोरी’ बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा अर्थ मन्त्रालयले तीन करोड रुपैयाँ छुट्याएको हो ।
उक्त बजेटबाट निर्माण हुने ल्याब विभागले चलचित्र र टेलिभिजन प्रोडक्सनका लागि प्रयोग गर्ने छ । “यस ल्याबले विभागको शैक्षिक र व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुर्याउँछ । हामीले यसलाई फिल्म र टेलिभिजन प्रडक्सनका लागि उपयोग गर्छौँ,” विभागको सूचनामा भनिएको छ ।
विभागले ल्याब निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइ दिन माग गर्दै पाँच महिना अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयसँग पटक पटक छलफल गरेपछि प्रस्ताव बुझाएको थियो । प्रस्तावअनुसार सरकारले ल्याब निर्माण गर्न बजेट छुट्याएको हो ।
आइतबार विभागका प्रमुख डा कुन्दन अर्याल र फ्याकल्टी सदस्य डा देवराज अर्यालले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबाट ल्याब निर्माण गर्न विनियोजित बजेट स्वीकृत गरिएको सम्बन्धी पत्र बुझेका छन् ।



