कर्णाली प्रदेशराजनीति

४ अर्ब ६१ करोडमा ‘कर्णाली सिंहदरबार’ ठेक्का : भौतिकमन्त्रीमाथि किन लाग्यो सेटिङको आरोप ?

४ अर्ब ६१ करोडमा ‘कर्णाली सिंहदरबार’ ठेक्का : भौतिकमन्त्रीमाथि किन लाग्यो सेटिङको आरोप ?

 सारांश

  • कर्णाली प्रदेश सरकारको ‘कर्णाली सिंहदरबार’ भवन निर्माणमा भौतिक पूर्वाधारमन्त्रीमाथि सेटिङको आरोप लागेको छ।
  • २०७६ सालमा ५१ करोड लागत अनुमान गरिएकोमा, हाल डीपीआर परिमार्जनपछि लागत ४ अर्ब ६१ करोड पुगेको छ।
  • मन्त्री बुढाले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै, अनियमितता प्रमाणित भए एक दिन पनि पदमा नबस्ने बताए।

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना ‘कर्णाली सिंहदरबार’ भवन निर्माणको ठेक्कामा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढामाथि नै सेटिङको आरोप लागेको छ । सामाजिक सञ्जालदेखि केही मिडियामा समेत मन्त्री बुढा नै संलग्न रहेर सेटिङ गरेको चर्चा छ ।

मन्त्री बुढामाथि यो आयोजनाको बोलपत्र आह्वानदेखि ठेकेदारकै सेटिङमा लागत अनुमान समेत बढाएको आरोप छ ।

के हो ‘कर्णाली सिंहदरबार’ आयोजना ?

तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७६ सालमै अघि बढाएको आयोजना हो- कर्णाली सिंहदरबार । यो आयोजना अन्तर्गत सबै मन्त्रालय एकै ठाउँमा रहने गरी एकीकृत भवन बनाइने भनेर २०७६ मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणतर्फ रहेको (वीरेन्द्रनगर नगरपालिका–७ इत्राम) दुई बिघा खाली जमिनमा भवन निर्माण गर्ने निर्णय त्यो बेला सरकारले गरेको हो ।

यतिसम्म कि सरकारले त्यही बेला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको थियो, जसमा आयोजनाको लागत अनुमान ५१ करोड थियो ।

‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने त्यो बेलाको डीपीआरमा उल्लेख थियो । यस्तै, त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने योजना थियो ।

यद्यपि, संघीय सरकारले जग्गा नदिएपछि कार्यान्वयनमा विलम्ब भयो । त्यसपछिका हरेक वर्ष भवन निर्माणका लागि सरकारले ५ देखि ३० करोडसम्मको बजेट विनियोजन गर्दै आएपनि जग्गा प्राप्ति नहुँदा फ्रिज भयो ।

प्रदेशको नाममा जग्गा नभएको र प्रस्तावित जग्गा संघीय सरकारले भोगचलन गर्न नदिएको भन्दै आयोजना कार्यान्वयनमा विलम्ब भएको यसअघिका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीहरू बताउँथे ।

Karnali Infrastrure Ministry

पटक–पटकको प्रयासपछि संघीय मन्त्रिपरिषद्ले गत जेठमा सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२ हजार ६५८.६० वर्गमिटर जमिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशलाई उपलब्ध गराउने स्वीकृति दिने निर्णय गर्‍यो ।

चालु आर्थिक वर्षको बजेटमा पनि एकीकृत प्रशासनिक भवन निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नेगरी ७४ करोड विनियोजन गरेको छ । तर निर्माण कार्यपूर्व नै ठेक्काको प्रक्रियादेखि लागत अनुमान बढाएको विषयले आयोजना विवादित बनेको छ ।

५१ करोडदेखि स्वाट्टै ४ अर्ब ६१ करोड लागत

अहिले सबैभन्दा विवादमा आएको विषय हो, ५१ करोड लागत स्वाट्टै कसरी ४ अर्ब ६१ करोड पुग्यो ?

दोस्रो, बोलपत्र आह्वानमा समेत सेटिङ । २०७६ सालमा बनेको डीपीआरमा ५१ करोड लागत अनुमान रहेकोमा २०८० सम्म आउँदा दोस्रो पटक परिमार्जन गरिएको पाइएको छ । दोस्रो डीपीआरमा लागत अनुमान बढाएर दुई अर्ब २६ करोड ३६ लाख ३१ हजार ८३१ पुर्‍याइयो । जसमा कर्णाली सिंहदरबार ९ सय वर्गमिटरमा बनाइने लगायतका कुराहरु छन् ।

२०८० चैतमा यामलाल कँडेल मुख्यमन्त्री बने । उनले आफ्नै ‘विश्वासपात्र’ शेरबहादुर बुढालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनाए । त्यसपछि पुनः डीपीआर परिमार्जन गरेर आयोजनाको लागत आश्चर्यचकित रूपमा स्वाट्टै ४ अर्ब ६१ करोड पुर्‍याइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका एक कर्मचारीका अनुसार हरेक सरकारको आ–आफ्नै डिमान्ड अनुसार डीपीआर परिमार्जन गर्ने काम भएका छन् । अहिलेका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढामाथि ठेकेदारकै सेटिङमा लागत अनुमान तयार पारिएको र बोलपत्र आह्वान गर्दाखेरि नै सेटिङ गरिएका जस्ता आरोप छन् ।

यही विषय मंसिर १७ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठकमा समेत प्रवेश पाएको थियो । सांसद कृष्णबहादुर जिसीका अनुसार प्रशासनिक भवन निर्माणको ठेक्काको विषयमा सेटिङ भएको कुराहरूबारे नेकपाले चासो दिइरहेको छ । ‘यो विषयमा थप अध्ययन भइरहेको छ,’ उनले भने ।

शनिबार अर्थ तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य हिक्मत विष्टको अध्यक्षतामा बसेको समितिको बैठकले भौतिकमन्त्री बुढा र सचिव अर्जुन बमलाई बोलाएर उक्त विषयमा बुझेको थियो । विष्टले रातोपाटीसँग भने, ‘मन्त्रीकै संलग्नता भएको विषय बाहिर आएपछि हामीले बोलाएर सोधेका थियौँ ।’

जवाफमा मन्त्री बुढाले बोलपत्र आह्वानपछि सातवटा कम्पनीले प्रस्ताव पेस गरेको र एउटा कालोसूचीमा परेका कारण ६ वटाले प्रस्ताव पेस गरेको जवाफ दिएको विष्ट बताउँछन् ।

लागत बढेको कुरामा बुढाले खासै प्रष्ट जवाफ दिएनन् । विष्टका अनुसार मन्त्रीको चित्तबुझ्दो जवाफ नआएपछि पुनः उक्त आयोजना सम्बन्धी हालसम्मका सम्पूर्ण कागजात झिकाएर छानबिन गर्ने निर्णय भएको छ ।

‘हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ,’ उनले थपे, ‘लागतमा यति ठुलो फरक कसरी भयो अध्ययन गर्छौँ ।’

अनियमितता गरेको प्रमाण ल्याए एक दिन पनि मन्त्री पदमा बस्दिनँ : मन्त्री बुढा

आइतबार उक्त विषयबारे भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले मन्त्रिपरिषद्बाट नै स्वीकृत भएर आएको योजना भएको दाबी गरे । ‘कर्णाली प्रदेशको ‘सिंहदरबार’ गौरवको आयोजना कसरी समयमै सम्पन्न गर्न सकिन्छ भनेर हामी लागिपरेका छौँ । तर अहिले आएर के कारणले मिलेमतो भयो भन्ने जस्ता कुराहरू उठिरहेका छन्,’ उनले भने ।

Sher Badaur Budha

ठेक्कापट्टा र बोलपत्र आह्वानसम्बन्धी सम्पूर्ण काम सुर्खेतस्थित निर्देशनालयबाट नै हुने भन्दै उनले यससम्बन्धी तथ्यांक वा सूचना लिनुपरेमा वा के भइरहेको छ भनेर बुझ्नका लागि त्यही निर्देशनालयबाट जानकारी लिनुपर्ने बताए । ‘तर विडम्बना यस विषयमा न कसैले मन्त्रीसँग सोधेको छ, न सचिवसँग, न त निर्देशनालयको कार्यालय प्रमुखसँग नै,’ उनले भने, ‘सम्बन्धित निकायसँग जानकारी नै नलिई बाहिर यस्ता भ्रामक सूचनाहरू हावाको भरमा फैलाउने हो भने पक्कै पनि विकास निर्माणमा ठूलो बाधा पुग्छ । सरकारको बुझाइ पनि यही छ कि यस्तो गलत प्रवृत्तिबाट हामी टाढा रहनुपर्छ ।‘

‘४ अर्ब ६१ करोडको बजेटमा ९ वटा संरचना बन्ने कुरा छ, कुन–कुन भागमा कति बजेट परेको छ भन्ने तपाईंहरूले हेरिसक्नुभएको होला । यदि अझै पनि केही कुरा बुझ्नुभएको छैन भने निर्देशनालयका प्रमुख वा प्राविधिकहरूलाई बोलाएर छलफल गरी प्रष्ट हुन म सुझाव दिन्छु,’ मेरो लक्ष्य र उद्देश्य स्पष्ट छ । जनताले मलाई मत दिएर माननीयका रूपमा पठाउनुभएको हो । मैले ४० जना माननीय र मेरो संसदीय दलको नेताको अगाडि रोस्टममै उभिएर भनेको थिएँ, मैले कहीँ कतै नराम्रो काम गरेँ वा आर्थिक अनियमितता गरेँ भने म एक दिन पनि मन्त्री पदमा बस्दिनँ ।‘

किन बढ्यो लागत ?

रातोपाटीले यो विषयमा भौतिक मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख सूर्यबहादुर शाहीलाई सोधेको छ । उनका अनुसार अहिले पेस भएका कम्पनीहरूबारे मूल्यांकन भइरहेको छ ।

‘६ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन्, अहिले प्राविधिक मूल्यांकनको चरणमा छ,’ उनले भने, ‘इस्टिमेट सबै तयार भएको छ ।’

उनले अगाडि भने, ‘हामीले लागत अनुमान तयार गर्दा ८ वटा (७ मन्त्रालय र १ मुख्यमन्त्री कार्यालय) मन्त्रालय थिए । मन्त्रालयको संख्या बढ्नु, अन्डरग्राउन्ड पार्किङ थपिनु र आर्थिक वर्ष परिवर्तन हुँदा दररेट अनुसार स्वतः केही प्रतिशत बढ्ने कुरा भइहाल्यो ।’ लागत बढ्नुमा मन्त्रालय संख्या ८ पुग्नुभएको उनको दाबी छ । तर अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय घटाएपछि मन्त्रालयहरूको संख्या ७ मै सीमित छ ।

शाहीका अनुसार ४ अर्ब ६१ करोडको लागत भनेको १० प्रतिशत फिजिकल कन्टिन्जेन्सी, १० प्रतिशत प्राइस एडजस्टमेन्ट र ४ प्रतिशत कन्टिन्जेन्सी तथा भ्याट सहितको कुल रकम हो । यी सबै जोड्दा लागत बढी देखिएको हो । साथै, एरिया पनि बढेको छ भने डिजाइन पूरै परिवर्तन गरिएको छ । विगतका भन्दा अत्याधुनिक पनि बनाइएकाले लागत अनुमान बढेको उनको दाबी छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता, सीडीई रमेश सुवेदीले मुख्यमन्त्री कार्यालयमा मन्त्री तथा सचिवहरूसँगको छलफलबाट पहिचान भएका आवश्यकताहरूलाई समावेश गर्दा लागत अनुमान वृद्धि भएको बताए ।

‘बाहिर आएका कुरामा सत्यता छैन, मूल्यांकनको फाइल अझै निर्देशनालयमै छ, मन्त्रालयमा आएको छैन,’ उनले भने, ‘अदालतमा रद्द गर्न मुद्दा परेको थियो । मुद्दा खारेज भएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com