समाचार

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की । पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ ।

सो कार्यका लागि आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण बिजुलीको माग बढ्न गएर फिडरहरूमा समस्या भएपछि केही दिनका लागि स्तरोन्नति स्थगित गरिएको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार पोखरामा एकदुई दिनयताको चिसो मौसमका कारण बिजुलीको माग बढेर पावर ट्रान्सफर्मरमा पनि ओभरलोड भएर समस्या आएको छ ।

“कुँडहरको १३२ केभी बसबारको आज बिहान स्तरोन्नति गरेपछि लाइन सञ्चालन गर्दा प्रतिकूल मौसमका कारण अत्यधिक लोड वृद्धि भएर फिडरहरूमा समस्या आयो । त्यसकारणले हाललाई सो कार्य केही दिनका लागि स्थगन गरिएको हो । मौसम अनुकूल भएपछि कार्यतालिका प्रकाशित गरी सो कार्य पुनः सुरु गर्नेछौँ”, केन्द्र प्रमुख यादवले भने।

विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गतको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नतिका लागि बिहान ६ः०० देखि ११ः०० बजेसम्म चार दिनसम्म पोखराको सम्पूर्ण क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com