अध्यात्म/दर्शनअन्यआजको तस्बिरआजको पत्रपत्रिकाजीवन शैलीपत्रपत्रिकाप्रदेशबिज्ञान प्रविधिमनोरञ्जनरोजगारसामाजिक सञ्जालसाहित्य

कथा: बिदेश गयो दुखले, तर आयो काठको बाकसमा।।

सुर्खेत =

 

गाउँका पहाडहरूमा बिहानैको कुहिरो ओघर्लिएको थियो। कुकुरहरूको भुकाई र चिसो हावाको सुस्केरा बीच, गंगा आमा भान्साको झ्याल ढोकामा उभिएर बाटो हेर्दै थिइन्। उनी हरेक बिहान यहीँ उभिन्थिन्—छोराको सम्झनामा, उसको हाँसो, उसको गल्ती, उसका साना–साना सपना, सबैलाई सम्झिँदै।

 

छोरा—अमर।
अमर २३–२४ वर्षको उमेरमै गाउँका सबैभन्दा चञ्चल, रमाइलो र भरपर्दो युवक मानिन्थ्यो। परिवारमा बुवा बितेपछि गंगा आमाको काँधमा जीवनको भार भारी हुँदै गयो। अमरले भने–
“आमा, अरूको घरमा मजदुरी गरेर तपाईंलाई दुःख म त्यसै दिन्न। म बिदेस जान्छु। काम गर्छु, पैसा कमाउँछु। तपाईँलाई पक्कै सुख मिलाइदिन्छु।”
गंगा आमा डराउँदै भन्थिन्—
“बाबु, विदेशमा धेरै दुःख छ भन्छन्, त्यहाँ मानवभन्दा त मेशिनको मान हुन्छ रे।”
अमर हाँसिदै जवाफ दिन्थ्यो—
“दुःख त साह्रो घरमै छ नि आमा। विदेशमा पनि दुखै होला, तर भविष्य त त्यहीं छ। म जान्छु, तपाईंलाई राम्रो घर बनाइदिन्छु।”
आमाले आँखा पुछिन्। छोरो मनाएन, घरका ऋण पनि सल्टाउनुपर्ने भयो। अन्ततः अमर बिदेश जाने तयारीमा जुट्यो।

 

 

बिदाइको दिन
गाउँको बास्सैमा भेला भएका मान्छे। कोही शुभकामना, कोही सल्लाह, कोही चेतावनी। गंगा आमाको मन चाहिँ भनेजस्तै भारी।
अमरले आमाको हात समाउँदै भन्यो—
“चिन्ता नगर्नु, आमा। यो एक–दुई वर्ष त झ्याप्पै बित्छ।”
आमाले ढुक्क हुने अभिनय गरिन्, तर उनको मन टुक्राटुक्रा।
एउटै छोरो, एउटै आशा, एउटै सहारा।

 

 

विदेश यात्रा र पीडा
कतारको मरुभूमिमा उत्रँदा अमरले कल्पना गरेको चम्किलो विदेश भेटेन। हावासँगै चल्ने बालुवाको धुलो, ५० डिग्री छिचोल्ने घाम, अनि ढुंगासँगै उठाइ–घचेडाइ गर्नुपर्ने काम।

पहिलो हप्तामै थकाइले शरीर लट्ठ।

 

दोस्रो महिनामा तलब समयमा नआउने, ओभरटाइम अनिवार्य हुने, खाना पानीको अभाव, कोठामा आठ–दस जना थिचिएकै।

 

 

तर अमर भन्ने गर्थ्यो—
“आमाले सुन्नु हुदैन। म राम्रै छु भन्ला।”
ऊ मोबाइल चलाएर पनि धेरै बोल्दैनथ्यो।
“काम धेरै छ आमा, पछि कुरा गर्छु” भन्दै फोन छिटो काट्थ्यो, ताकि आमा चिन्तित नहोउन्।
तर रातको अँध्यारोमा, कंक्रीटको कोठामा, अमर कहिलेकाहीँ आफैँसँग बोल्थ्यो—
“किन आएँ? तर फर्किन पनि सक्दिन, ऋण तिरिसकेकै छैन।”

 

साथीहरू भन्थे—
“हामी जस्तै हो दाई, देशका बिडम्बना। दुखले पठाउँछ, रगत–पसिनाले चल्छ विदेश।”

 

 

घरमा आमा
गाउँमा गंगा आमाले छोरो पठाएको पैसाले ऋण तिरिन्, दुई–चार बोरा सिमेन्ट हालिदिने सपना पनि देखिन्।
छोरो पठाउन धेरै बेचबिखन गरिएका थिए।
आमा रातमा एक्लै पल्टेर छोरो सम्झन्थिन्—
“खान भनेको खान्न होला, सुत्न भनेको सुत्दैन होला, कसरी छ होला?”
आमाले भनेजस्तो फोन आउने समय कम हुँदै गयो।
अमरको स्वर थाकेको, निरिह, तर हदैसम्म भोलिको आशाले भरिएको—
“आमा, अर्को महिना तलब मिल्छ, केही पठाइदिन्छु। घरको छाना फेरौँला।”

 

 

दुर्भाग्यको दिन
एक रात गंगा आमा पानी ल्याउन बाहिर निस्कँदा गाउँको बाटोमा कलकल गर्दै मोटरसाइकल आएको आवाज सुनिइो।
गाउँका केटाहरू ढोकासमक्ष आए—
“आमा, अफिसबाट फोन आएको छ… अमर दाई काम गर्दा बेहोस भएर लडेछन् रे…”
आमाको खुट्टा कमजोर भयो।
“क–कसरी ? छोरा त हिजोमात्रै फोन गरेको थियो।”
तेस्रो दिन विदेशी कम्पनीबाट कागज आयो—
हीटस्ट्रोकका कारण अमरको मृत्यु।

 

 

गाउँमै लहर चल्यो।
बिदेस गयो दुःखले, तर आयो काठको बाकसमा—
यही वाक्य सबैको मुखमा।

 

 

काठको बाकस आउँदैछ
एक सातापछि त्रिभुवन विमानस्थलमा बाकस राखिएको थियो।
यसरी फर्कने कल्पना त कसैले गरेको थिएन।
अमरले काठको बाकसमा आएको शरीरलाई हेर्दै आमाले चिच्याएर रोइन्—
“बाबु, घर बनाइदिन्छु भनेको त अन्त्येष्टि गर्न आयौ? यस्तो सपना देखेको थिइनँ।”
काठको बाकसमा राखिएको अमरको शरीरलाई गाउँलेहरूले काँध हालेर ल्याए।
केही युवाहरू रोइरहेका, केही बुढाबुढीहरूले आकाशतिर हेरेर प्रार्थना गरिरहेका।
गाउँका बालुवामा, टिनको छानोमुनि, आमाको चिच्याहट चारैतिर गुन्जिरहेथ्यो—
“किन पठाएँ म? किन छोडेर आयौ?”

अमरको अवस्थामा गाउँका केटाहरूले गीत बनाइदिए, जसको शब्दहरू सारा गाउँभरि फैलिन थाले—

“बिदेश गयो दुःखले
तर आयो काठको बाकसमा,
थाकेको शरीर होइन,
सपना आयो रित्तै कागजमा।”

 

 

गाउँका भलाद्मीहरू जम्मा भएर विदेशी रोजगारमा सरकारको ध्यान नपुगेको, युवाहरूको मृत्यु बढ्दै गएको, अनि आमाहरूको आँसु नरोकिने कुरा उठाए।
तर त्यो सबै राजनीतिक भाषणजस्तै लाग्यो गंगा आमाको लागि।

 

आमालाई त केवल छोरो चाहिएको थियो।

आमाको सम्झना
घरको झ्यालबाट बाहिर हेर्दा गंगा आमालाई अमर खेतमा दौडिरहेको जस्तै लाग्थ्यो।
साँझ परेपछि पहाडमा उक्लिएको सूर्य अस्ताउन खोज्थ्यो र उनी भन्थिन्—
“यो सूर्य पनि मेरो छोराजस्तै हो, बिहान मुस्कानसहित ब्यूँझिन्छ, रात पर्नासाथ हराउँछ।”
ऊ हरर रात छोराको तस्बिर अँगालेर सुत्थिन्।
छोरी–छोराविहीन एक्लो घर, काठको बाकसमा आएका सपनाहरू, र अधुरो जीवन।

 

 

गाउँका युवाहरू
अमरको मृत्युपछि गाउँका केहि युवाहरूले विदेशको योजना रोके।
“अमर दाइको हालत देखेर पनि जानु?” एकले भन्यो।
तर अर्को युवाले उत्तर दियो—
“तर घरमा पैसा छैन, रोजगारी छैन, रहरले विदेश जान्नौँ, बाध्यताले जाँदैछौँ।”
यो त केवल अमरको कथा होइन, हजारौँ युवाको यथार्थ थियो।

 

देशमा रोजगारीको अभाव, विकासको अभाव, अनि धेरै सपना बोकेर बिदेसिने बाध्यता।

गंगा आमाको अन्तिम शब्द
गंगा आमाले अमरको चितामा आगो लगाउने बेला भनिन्—
“म त बूढी आमा, बाँच्छु भने यही खेत–बारीमा बाँच्छु।
तर मेरा जस्तै आमाहरूले काठको बाकस समात्न नपरोस्।
सरकारले सुन्ने हो भने, युवाहरू घरमै राखिदेऊन।”
उनको स्वरमा रोदन थियो, तर शब्दमा आह्वान।

 

 

समाप्ति (तर कहिल्यै नसमाप्त हुने पीडा)
अमरको काठको बाकस गाउँलेहरूले बिर्सन चाहन्थे, तर समय–समयमा त्यो बाकस सम्झनामा बदलिन्थ्यो।
यो पिडा हरेकको हो अब सरकारले यो देशमै रोजगारी सिर्जना गरेर बिदेशीने युबालाई रोक्नु पर्छ।

 

यो कथा कसैको जीवन सङ्ग मेल खायमा संयोग मात्र हुनेछ

कथाकार
लेख=शंकर किशोर अभय
कर्णाली प्रदेश

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com