सोमबार, २१ पुस २०८२, १६ : ३०

- जेनजी आन्दोलन घटना सम्बन्धी जाँचबुझ आयोगले केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ।
- आयोगले यसअघि पूर्व गृहसचिव, आईजीपी र प्रमुख जिल्ला अधिकारीको पनि स्थान हद फुकुवा गरिसकेको छ।
- आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई विदेश भ्रमणमा रोक लगाएको थियो।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझको दायरामा रहेकाहरूका लागि लगाएको स्थानहद फुकुवा गरेको छ ।
त्यो आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद आयोगले सोमबार फुकुवा गरेको प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । ओलीको स्थानहद फुकुवासँगै आयोगले लगाएको सबैको स्थान हद फुकुवा भएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई असोज १२ गते निर्णय गर्दै स्थान हद लगाएको थियो ।
उनीहरूलाई विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न आयोगले सरकारलाई भनेको थियो ।
पूर्वगृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्वप्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय आयोगले पुस ७ गते गरेको थियो । अनुसन्धान प्रमुख थापाको भने त्यसअघि नै स्थान हद फुकुवा गरिएको थियो ।



