भोकलाई मातृत्वले जित्यो : जब सिंहनीले कृष्णसारको बच्चा हुर्काउन थाले

कथा हो, अफ्रिकाको केन्यास्थित साम्बुरु राष्ट्रिय निकुञ्जको । त्यहाँ एक सिंहनीले कृष्णसारको अबोध बच्चालाई आफ्नो शिकार बनाइनन् । बरु स्नेहपूर्वक आफूसँगै राखिन् र पालनपोषण गरिन् ।
सिंहले अक्सर कृष्णसार (हरिणजस्तै जनावर) लाई आफ्नो सिकार बनाउँछ । तर, यो कथाले प्रकृतिको रीतलाई पनि प्रेमले कसरी जित्छ भन्ने देखाउँछ ।
खासमा, उक्त सिंहनी शिकारकै खोजीमा हिँडिरहेकी थिइन् । सोहीबेला उनले सानो बच्चासहित घाँसे मैदानमा चरिरहेको कृष्णसारलाई लखेट्न थालिन्। सिंहनीबाट बाँच्न कृष्णसार त भाग्यो, तर सानो बच्चा भाग्न सकेन ।
त्यो कमजोर र सानो बच्चालाई सिंहनीले सजिलै मार्न वा खान सक्थिन्। तर, उनले त्यसो गरिनन् । बरु आफूसँगै लिएर राख्न थालिन् ।

उनले त्यो सानो, कमजोर प्राणीलाई आफ्नै सन्तान जसरी चाटिन्, आफ्नो छायामा सुताइन्, र अरू सिंहहरूबाट जोगाइन् । र, अपनाइन् । त्यो मातृत्व देखेर सिंहनीको नाम राखियो ‘कमुन्याक’।
साम्बुरु भाषामा यसको अर्थ हो ‘धन्य’ ।
उनी करिब २–३ वर्षकी थिइन् । उनको शरीरमा आफ्नै बच्चा जन्माएको कुनै चिन्ह थिएन । तर उनमा मातृत्वको भावना यति प्रबल थियो कि उनी आफ्नो प्राकृतिक शिकारको बच्चालाई माया गर्न थालिन् ।
यो घट्ना जब क्यामरामा कैद भयो, विश्वभर चर्चित भयो । अखबारहरू, टेलिभिजन, डकुमेन्ट्रीहरूले यस घटनालाई कभर गरे ।
यो मानिसले पनि गर्न नसक्ने अटुट प्रेम प्राणीमा देखिँदा सबै जना अचम्ममा परे ।
पहिला चर्चा गरौं, सिंहको समाज र जीवनचक्र
सिंह सामाजिक संरचना बाहिरबाट हेर्दा शक्तिशाली र व्यवस्थित देखिए पनि भित्रभित्रै निकै कठोर र प्रतिस्पर्धात्मक हुन्छ, जहाँ एउटा समूह अर्थात् ‘प्राइड’ भित्र धेरै सिंहनीहरू र केही भाले सिंहहरू हुन्छन् । समूहको वास्तविक आधार भने सिंहनीहरू नै हुन्छन्, किनकि उनीहरूले नै शिकार गर्ने, बच्चाहरू हुर्काउने र समूहलाई निरन्तरता दिने काम गर्छन् । जबकि भाले सिंहहरू मुख्यतः आफ्नो प्रभुत्व कायम राख्न र बाहिरी आक्रमणबाट समूहलाई जोगाउन भूमिका खेल्छन् ।
जब नयाँ भाले सिंहहरू कुनै समूहमा प्रवेश गर्छन्, उनीहरूले पहिले त्यहाँका पुराना भालेसँग लडाइँ गर्छन् । त्यो समूहका भालेलाई मारेपछि एउटा अत्यन्त कठोर प्रक्रिया सुरु हुन्छ, जसमा पुराना बच्चाहरूलाई पनि मारिन्छ । ताकि, सिंहनीहरू पुनः प्रजननका लागि तयार होऊन् र नयाँ भाले सिंहको वंश विस्तार हुन सकोस्, र यो व्यवहार जति क्रूर देखिए पनि जंगलको जैविक नियमभित्र सामान्य मानिन्छ, जहाँ करुणा वा सहानुभूतिको स्थान निकै सीमित हुन्छ ।
यही कठोर नियमबीच त्यस घटना घट्यो जसले वैज्ञानिकहरूलाई मात्र होइन, विश्वलाई अचम्मित बनायो ।
जब शिकार बनेन भोजन
एकदिन साम्बुरुको खुला मैदानमा एउटा वयस्क सिंहनीले नवजात कृष्णसार अर्थात् एन्टिलोपको बच्चालाई भेटिन्, र सामान्य अवस्थामा यस्तो बच्चा केही सेकेन्डमै सिंहनीको भोजन बन्ने निश्चित थियो, किनकि सिंहका लागि कृष्णसार सजिलो र स्वाभाविक शिकार हो ।

तर त्यस दिन प्रकृतिको नियम उल्टियो, किनकि सिंहनीले बच्चालाई आक्रमण गरिनन्, बरु नजिक गएर सुँघिन्, चाटिन् र आफ्नै बच्चाजस्तोसँगै राख्न थालिन् । यो दृश्य देख्दा सुरुमा वन्यजन्तु रक्षकहरूलाई लाग्यो, सिंहनीले बच्चालाई आफ्नै सन्तान ठानेकी होलिन्, तर केही दिनको अवलोकनपछि स्पष्ट भयो कि सिंहनीलाई थाहा थियो यो आफ्नो बच्चा होइन ।
किनकि, उनले बच्चाको वास्तविक आमालाई पनि केही समय नजिक आउन दिइन् र दूध खुवाउन अनुमति दिइन्, तर त्यसपछि फेरि आमालाई टाढा लखेटेर बच्चालाई आफ्नै संरक्षणमा राखिन्, जसले यो व्यवहार केवल भ्रम नभएर सचेत संरक्षणजस्तो देखिन थाल्यो ।
मातृत्वको अनौठो विस्तार
सिंहनीले बच्चालाई सधैं आफ्नो छेउमा राख्थिन्, घाम लाग्दा छायाँमा सँगै बस्ने, जिब्रोले सुम्सुम्याउने र अन्य शिकारी वा सिंहहरू नजिक आएमा आक्रामक रूपमा प्रस्तुत हुँदै बच्चालाई जोगाउँथिन् । जुन सामान्यतया सिंहनीहरूले आफ्नै सन्तानप्रति मात्र देखाउँछन्, तर यहाँ एउटा शिकार प्रजातिको बच्चाप्रति पनि त्यही मातृत्व देखिएको थियो ।
अझ रोचक कुरा के थियो भने, सिंहनीले बच्चाको वास्तविक आमालाई कहिलेकाहीँ नजिक आउन दिँदै दूध खुवाउन दिन्थिनन्, तर त्यसपछि फेरि उसलाई लखेट्थिन्, मानौं, बच्चा अब आफ्नै संरक्षणमा रहेको हो, र यो दृश्यले वन्यजन्तु विज्ञहरूलाई गहिरो अन्योलमा पार्यो । किनकि शिकारी र शिकारबीचको सम्बन्ध यसरी परिवर्तन हुनु अत्यन्त दुर्लभ मानिन्छ ।
बारम्बार दोहोरिएको आश्चर्य
यो घटना एकपटक मात्र भएको थिएन, किनकि त्यही सिंहनीले केही महिनाभित्र तीनवटा फरक एन्टिलोप बच्चाहरू अपनाएको देखियो, जसले यो व्यवहार संयोग मात्र नभई कुनै गहिरो जैविक वा भावनात्मक कारणसँग जोडिएको हुनसक्ने संकेत दियो ।
डिसेम्बर २१, २००१ मा । लार्सेन्स लजका ड्राइभरको रिपोर्ट अनुसार सिंहनीसँग एउटा सानो कृष्णसार बच्चा थियो, जसको नाभीको डोरी अझै झुन्डिएको थियो । सेभ द एलिफेन्ट्सकी अनुसन्धानकर्ता साबा डग्लस–ह्यामिल्टन र उनकी बहिनी डुडु त्यहाँ पुग्दा जोडी करिब दुई हप्ताको भइसकेको थियो ।

उनीहरू दुवै दुब्लो थिए, तर जीवित थिए । सिंहनीले त्यो बेलादेखि शिकार नै गरेकी थिइनन् । उनको काँधका हड्डीहरू चक्कुजस्तै देखिन्थे । उनी भोकै थिइन्, तर बच्चालाई छोड्दिनथिन् ।
बच्चा भने आफ्नी आमासँग दूध खान जान्थ्यो । सिंहनी टाढाबाट चिन्तित भएर हेर्थिन । यदि बच्चा टाढा गयो भने उनी पछि लाग्थिन्, तर कहिल्यै आक्रमण गर्दिनथिन् । उनी बच्चालाई मायाले चाट्थिन्, कान चपाउँथिन्, र सँगै सुत्थिन् ।
साबाले भनेकी थिइन्, ‘बच्चा नै अगुवा थियो । सिंहनी उसको पछि लाग्थिन्, जस्तो प्रेममा पागल मान्छे ।’ उनी दिनभरि सुत्न चाहन्थिन्, तर बच्चा घुम्थ्यो, उनी पनि पछि लाग्थिन्।
यो सम्बन्ध दुई हप्ता टिक्यो । किनकी, एक दिन सिंहनी सुतिरहेका बेला अर्को भाले सिंहले त्यसलाई मारेर खायो, र त्यसपछि सिंहनीले देखाएको प्रतिक्रिया सामान्य शिकारी व्यवहारभन्दा फरक थियो, किनकि उनी अत्यन्त आक्रोशित भइन् ।
भाले सिंहमाथि आक्रमण गरिन् । लामो समयसम्म बेचैन र शोकाकुल देखिइन्, जसले प्रत्यक्षदर्शीहरूलाई समेत भावुक बनाएको थियो । त्यसपछि पनि उनले अर्को बच्चा अपनाइन् र फेरि उस्तै संरक्षण र माया देखाइन्, मानौं, मातृत्वको भावना उनको स्वाभाविक शिकारी प्रवृत्तिभन्दा बलियो भएको थियो ।
दोस्रो घटना
कस्तो प्रेमको सन्जोग हो । जहाँ मानिसहरू प्रेम दिवस मनाइरहेका हुन्छन् । माया साटासाट गर्छन् । त्यही दिन भ्यालेन्टाइन डे (फेब्रुअरी १४, २००२) मा कमुन्याकले दोस्रो बच्चा अपनाइन् ।
वन्यजन्तु अधिकारीहरू अचम्ममा परे । उनले बच्चालाई चाटिन्, छायामा राखिन्, र अरू सिंहहरूबाट जोगाइन् । उनी बच्चाकी आमालाई केही समय दूध खुवाउन दिन्थिन्, त्यसपछि भगाउँथिन् । पहिलो जस्तै, यो बच्चा पनि कमजोर भयो र उद्धार गर्नुपर्यो।
त्यसपछि उनीले तेस्रो, चौथो, पाँचौं र छैटौं बच्चा अपनाइन् ।
हरेक पटक उनी सुरक्षात्मक थिइन् । यदि कोही नजिक आयो भने गर्जिन्थिन् । एउटा बच्चा मर्दा उनी शोकमा डुब्थिन्, गर्जँदै घुम्थिन्, रिसाउँथिन् ।
वन वार्डेन सायमन लेइराना र गेब्रियल लेपारियोले भने, ‘यो रहस्यमय छ । उनी कृष्णसारको बच्चाहरूलाई आफ्नै बच्चाजस्तै मान्छिन् ।’
के भन्छन्, त विज्ञ ?
यो असाधारण घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो र ‘द गार्डियन’ लगायतका प्रतिष्ठित पत्रिकाहरूले यसबारे विस्तृत रिपोर्ट प्रकाशित गरे, त्यसपछि वन्यजन्तु विज्ञहरू र व्यवहार वैज्ञानिकहरूबीच यसलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा व्यापक बहस सुरु भयो ।
सामान्यतया सिंहले कृष्णसारलाई सजिलै मार्छन् । कृष्णसार सिंहको मुख्य शिकारमध्ये एक हो । तर, पोथी सिंहले एक पछि अर्को शिकारको बच्चा अपनाएको यो अनौठो व्यवहारबाट चकित केही विज्ञहरूले यसलाई ‘म्याटरनल मिसडाइरेक्सन’ अर्थात् मातृत्व प्रवृत्तिको दिशाभ्रम भने । जसमा आफ्नै सन्तान गुमाएको वा प्रसवको अवस्थामा रहेको पोथीले अर्को प्रजातिको बच्चालाई पनि आफ्नो सन्तानझैँ व्यवहार गर्न सक्छ । कतिपयले सिंहिनीले यसो गर्नुको कारणमा हार्मोनल परिवर्तन, भावनात्मक प्रतिक्रिया वा व्यवहारिक भ्रम माने ।
प्रसिद्ध संरक्षणविद् डाफेशेलड्रिक यस्तो व्यवहार दुर्लभ भए पनि असम्भव नभएको बताइन् । उनले मातृत्वको भावना केवल मानवमा सीमित नभई धेरै स्तनधारी प्रजातिमा देखिने साझा जैविक प्रवृत्ति भएको उल्लेख गरेकी थिइन्, जसले यो घटनालाई अझ गहिरो वैज्ञानिक र भावनात्मक अर्थ दियो ।
उनका अनुसार संसारमा अन्य उदाहरण छन् जहाँ कुकुरले बिरालोको बच्चो अपनाएको, हात्तीले गाईको बच्छो जोगाएको, वा भालुले हरिणको बच्चालाई आफ्नो बच्चा जसरी हेरचाह गरेको पनि यदाकदा देखिन्छ । प्रकृतिमा माया कहिलेकाहीँ प्रजातिभन्दा माथि जान्छ ।
यो चर्चा भइरहँदा कमुन्याक सन् २००२ पछि अचानाक हराइन् । सन् २००३ मा उनलाई खोजियो, तर भेटिएन । आशा गरिन्छ, उनले आफ्नै बच्चा पाइन् र सामान्य जीवन बाँचिन् ।



