आजको पत्रपत्रिकाराजनीति

झापा–५ का मतदाता के सोच्दैछन् ?

 सारांश

  • झापा-५ मा केपी ओली र बालेन शाहबीचको प्रतिस्पर्धालाई लिएर विश्लेषण गरिएको छ।
  • बालेनको र्‍यालीमा देखिएको जनसहभागिता र ओलीको राजनीतिक विरासतबीचको भिन्नतालाई प्रस्तुत गरिएको छ।
  • लेखकले बालेनको व्यवहार र ओलीको शैलीलाई तुलना गर्दै आगामी निर्वाचनको सम्भावित नतिजाबारे चर्चा गरेका छन्।

झापा–५ सधैंजसो नेपाली राजनीतिक शक्ति सन्तुलनको एउटा बलियो प्रतीक मानिन्छ । यो वामपन्थी आन्दोलनको त्यो ऐतिहासिक गढ हो, जसले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने कयौँ नेतृत्व जन्माएको छ । यसपटक फेरि यो क्षेत्र प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनको केन्द्रविन्दुमा छ, तर यसको कारण र सन्दर्भ अघिल्ला चुनावहरूभन्दा निकै फरक छ ।

यहाँको प्रतिस्पर्धा अब केवल उम्मेदवारहरूबीचको प्राविधिक लडाइँ मात्र रहेन, यो त स्थापित राजनीतिक विरासत र उदाउँदो नयाँ चेतनाबीचको टकराव पनि हो । माघ ६ गते दमक पुगेपछि मैले प्रत्यक्ष देखेको दृश्यले यही यथार्थलाई थप प्रस्ट बनायो ।

नेकपा (एमाले) का अध्यक्ष एवं तीन पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) आमनेसामने उत्रिनु आफैँमा एउटा ठूलो राजनीतिक परिघटना हो । तर, त्यो भन्दा अहम् प्रश्न हो– झापा–५ का मतदाताले अब कसलाई रोज्नेछन् ?

यही ऐतिहासिक टकराव हेर्नका लागि हामी माघ ६ गते झापा गयौँ । बिहान ७ बजे काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत हामी भद्रपुरतर्फ उड्यौं । जाडोयाममा उडानहरू प्रायः ढिलो हुने कटु अनुभव पहिल्यै भएकाले समयमै दमक पुग्न सकिएला कि नसकिएला भन्ने संशय मनमा थियो ।

झापा निर्वाचन क्षेत्र नं. ५ को निर्वाचन अधिकृतको कार्यालयले रास्वपाका वरिष्ठ नेता बालेनको मनोनयनका लागि बिहान ११ बजे र प्रधानमन्त्री ओलीका लागि दिउँसो १ बजेको समय निर्धारण गरिएको थियो । हामी बिहानको ८ बजेतिर भद्रपुर अवतरण गर्‍यौँ ।

अबको चुनौती थियो– भद्रपुरबाट समयमै दमक पुग्ने । सामान्य अवस्थामा ५० मिनेट लाग्ने यो सडक यात्रा निर्माणाधीन ‘एसियन हाइवे’ का कारण कष्टकर बनेको रहेछ । सडकको दयनीय अवस्थाले गर्दा सार्वजनिक यातायातमा दुईदेखि साढे दुई घण्टा लाग्ने स्थानीयको सुझावपछि हामीले समयको संवेदनशीलतालाई बुझ्दै बिहान ९ बजे विमानस्थलबाटै ट्याक्सी रिजर्भ गरेर दमकतर्फ हुइँकियौं ।

घडीले १०ः५५ बजाउँदा हामी दमक बजारको गणतन्त्र चोक पुग्यौं । त्यहाँ पुग्नेबित्तिकै बालेनको र्‍याली निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढिसकेको थियो । हामी क्यामेरा, ट्राइपोड, बुम माइक र झोला काँधमै झुण्ड्याएर हामी भिडभित्र पस्यौं र दृश्यहरू कैद गर्न थाल्यौं । पत्रकारिताको धर्म निर्वाह गर्ने क्रममा दिनभरि गह्रौँ झोला र उपकरण बोकेरै हामीले निर्वाचन अधिकृतको कार्यालय वरिपरि रिपोर्टिङ जारी राख्यौं ।

त्यो बेलाको ऊर्जा केवल पेसागत जिम्मेवारीको मात्र थिएन; त्यो त देशभरिका नागरिकको चासोको केन्द्र बनेको झापा–५ मा युवाहरूको ढुकढुकी मानिएका बालेन र नेपाली राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीबीचको चुनावी टक्करलाई पहिलोपटक क्यामेरामा कैद गर्ने अवसरको उत्साह पनि थियो ।

balen shaha UBRM6YRact

ओलीका लागि झापा केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक पहिचान र शक्ति प्रदर्शनको थलो पनि हो । उनका समर्थकहरूको बाक्लो उपस्थिति, संगठित पार्टी संरचना र लामो समयदेखिको राजनीतिक पकड त्यहाँ स्पष्ट देखिन्थ्यो ।

तर, दमकको गणतन्त्र चोकबाट अघि बढेको बालेनको र्‍यालीले फरक सन्देश दिइरहेको थियो । त्यो दृश्यले झापा–५ अब ओलीका लागि पहिले जस्तो पूर्णतः सुरक्षित किल्ला रहेन भन्ने संकेत गरिरहेको थियो । बालेनको र्‍यालीमा ओर्लिएको मानवसागरले धेरैलाई चकित तुल्यायो । दशकौंदेखि वामपन्थी प्रभाव रहेको क्षेत्रमा यस्तो दृश्य विरलै देखिन्थ्यो ।

भिडलाई न त आँखा चिम्म गरेर अतिरञ्जित महिमामण्डन गर्न मिल्छ, न त सजिलै नजरअन्दाज नै । यथार्थ के हो भने, भिडमा मधेशका विभिन्न जिल्ला, काठमाडौं र अन्यत्रबाट आएका समर्थकहरू पनि थिए । तर त्यहीँभित्र नयाँ राजनीतिक चेत बोकेका स्थानीय युवा र परिवर्तनको तीव्र प्रतीक्षा गरिरहेका मतदाताहरूको बाक्लो उपस्थिति पनि थियो ।

त्यो देखेर मेरो मनमा केही प्रश्न उब्जिए– यो भिड केको संकेत हो ? यो केवल निर्मित भिड हो वा झापा–५ को बदलिँदै गरेको राजनीतिक मनोविज्ञानको संकेत हो ?

बालेनको राजनीतिक उदय परम्परागत ढाँचाभन्दा नितान्त भिन्न छ । उनी न त झापाका पुराना नेता हुन्, न त कुनै स्थापित पार्टीको संगठनमा खारिएका पात्र । मधेशको पृष्ठभूमि, काठमाडौंको शहरी अनुभव र काठमाडौं महानगरको मेयरका रूपमा उनले देखाएको ‘एक्सन ओरिएन्टेड’ राजनीति नै उनको मुख्य पुँजी हो ।

यही पुँजी लिएर उनी झापा–५ जस्तो हेभीवेट क्षेत्रमा उत्रिनु आफैँमा एउटा ठूलो राजनीतिक सन्देश हो ।

ओलीसँग दशकौँको अनुभव, बलियो संगठन र राज्य सञ्चालनको लामो अभ्यास छ । उनले झापा–५ लाई राष्ट्रिय राजनीति र विकाससँग जोडेर हेर्ने क्षमता राख्छन् । तर, प्रश्न अझै बाँकी छ– के अब त्यो विरासत मात्रै चुनाव जित्न पर्याप्त होला ?

झापा–५ मा देखिएको बालेनको लहरले स्पष्ट पारेको छ– ओलीका लागि यो चुनाव सहज हुनेछैन । यो प्रतिस्पर्धा ‘फलामको चिउरा’ सरह छ, जसलाई चपाउन राजनीतिक कौशल, संगठन र जनविश्वासको त्रिवेणी चाहिन्छ । माघ ६ गतेको मनोनयन केवल एउटा औपचारिक प्रक्रिया मात्र थिएन, त्यसले आगामी निर्वाचनमा मतदाताहरू केवल पार्टीको झण्डा हेरेर मात्र मत हाल्ने मनस्थितिमा छैनन् भन्ने सन्देश पनि दियो ।

मतदाता विकल्प खोज्दैछन्, प्रश्न गर्दैछन् र नेतृत्वसँग ठोस परिणामको माग गरिरहेका छन् । यसरी हेर्दा झापा–५ को लडाइँ केवल ‘ओली बनाम बालेन’ मात्र होइन । यो त पुरानो राजनीतिक विरासत र नयाँ राजनीतिक चेतनाबीचको महासंग्राम हो । र, यसैको परिणामले झापा–५ को मात्र नभई समग्र नेपाली राजनीतिको भविष्यको दिशा तय गर्नेछ ।

  • बालेनको व्यवहार र ओलीको शैली

झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि बालेन आफूले भाडामा लिएको घर पुगे र फेसबुकमा एउटा संक्षिप्त तर अर्थपूर्ण स्ट्याटस लेखे– झापा–५ । संयोगवश, म त्यतिबेला निर्वाचन अधिकृतकै कार्यालयमा थिएँ । स्ट्याटस पोस्ट भएको केही मिनेटमै मेरो टाइमलाइनमा त्यो देखियो र त्यसमा आएको प्रतिक्रियाको बाढीले मलाई पुनः अचम्मित बनायो । लाइक र कमेन्टको वर्षा यसरी भइरहेको थियो, मानौँ कुनै उल्कावृष्टि भइरहेको छ ।

त्यही क्षण मैले आफैँलाई प्रश्न गरेँ– यिनमा आखिर त्यस्तो चमत्कारिक के छ ? केहीबेर अघि र्‍यालीमा मैले प्रत्यक्ष देखेका बालेन र यी भर्चुअल संसारका बालेन एउटै हुन् त ? मेरो प्रत्यक्ष अनुभवले यसको उत्तर ‘होइन’ भन्दा अरू दिन सकेन । एकातिर लाखौँ समर्थक उनलाई विलक्षण र अभूतपूर्व नेतृत्वका रूपमा पुज्छन् भने अर्कोतिर उनलाई घमण्डी, हठात् उदाएका र भाग्यले उचालिएका पात्रका रूपमा आलोचना गर्नेहरूको पनि कमी छैन ।

बालेन वास्तवमै कस्ता छन् भन्ने जिज्ञासा ममा विगत साढे तीन वर्षदेखि थियो, तर उनले सञ्चारमाध्यमसँग टाढै रहने नीति लिएका कारण त्यो अवसर जुरेको थिएन । त्यसैले झापा यात्रा मेरा लागि केवल रिपोर्टिङ मात्र नभएर एउटा व्यक्तिगत जिज्ञासा मेटाउने यात्रा पनि थियो ।

र्‍यालीका क्रममा मैले भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेनलाई नजिकबाट नियाल्ने मौका पाएँ । सामान्य कदकाठी, गहुँगोरो वर्ण र औसत उचाइका ती युवक भिडबीच हात हल्लाउँदै समर्थकहरूको अभिनन्दन स्वीकारिरहेका थिए । हामी पनि क्यामेरा काँधमा बोकेर पसिना चुहाउँदै र्‍यालीसँगै अघि बढिरहेका थियौं ।

र्‍याली जहाँ पुग्यो, त्यहाँको माहोल लोभलाग्दो थियो । कतिपयले त ‘प्रधानमन्त्रीज्यू, झापामा स्वागत छ’ भन्दै नारा लगाइरहेका थिए ।

तर, त्यही लोभलाग्दो भिडभित्र मैले एउटा अस्वाभाविक दृश्य देखेँ । उनी चढेको गाडीमै सँगै रहेका आफ्ना कार्यकर्तालाई बालेन ‘तँ र म’ को शैलीमा झपार्दै थिए । किन झपारे, त्यो त थाहा भएन तर साथीभाइबीचको सामान्य संवाद भन्दा त्यो व्यवहार निकै रुखो थियो ।

निर्वाचन अधिकृतको कार्यालय नजिकिँदै गर्दा बालेन गाडीबाट ओर्लिएर पैदल हिँड्न थाले । अब उनी मेरो झनै नजिक थिए । उनी आफ्ना सहयोगीहरूलाई निरन्तर निर्देशन दिइरहेका थिए, तर ती निर्देशनहरूको शैली कताकता ‘मालिक र दास’ बीचको संवाद जस्तो सुनिन्थ्यो ।

समर्थकहरूलाई हेरेर मन्द मुस्कान दिए पनि त्यो हार्दिकता साँच्चै हृदयदेखि आएको हो कि भन्नेमा मलाई शंका लाग्यो । त्यत्तिकैमा उनले आफूलाई पछ्याइरहेका दुई–तीन जनालाई अचानक कडा रूपमा धकेल्दै भने– ‘तँ यहाँ किन आएको ? गइहाल ।’ त्यसपछि झापाका रास्वपा व्यवस्थापक भनिएका एक व्यक्तिलाई समेत उनले दाह्रा किटेर अनुहार रातोपिरो पार्दै धकेलेको दृश्य मैले आफ्नै आँखाले देखेँ ।

balen thapa gs2ucr5QeQ

म सामान्यतया यस्ता दृश्य मोबाइलमा खिच्ने मान्छे होइन, तर उनको यो व्यवहार देखेपछि मैले सचेत हुँदै उनको हिँडाइलाई मोबाइलमा कैद गरेँ ।

त्यसपछि उनी दलबलसहित कार्यालयभित्र छिरे । बाहिर प्रहरीले सञ्चारकर्मीलाई रोकेका कारण केहीबेर तनाव भयो । सार्वजनिक महत्त्वको उम्मेदवारी दर्ता प्रक्रिया खिच्न नपाइने कुरामा पत्रकार र प्रहरीबीच नोकझोक भएपछि अन्ततः हामी भित्र जान सफल भयौं । भित्रको दृश्य झनै रोचक थियो । बालेनको टोली प्राविधिक रूपमा निकै कमजोर देखियो । न उनीहरूसँग पार्टीको आधिकारिक टिकटको सक्कल प्रति थियो, न नागरिकता, न त प्रस्तावक र समर्थककै टुंगो । यही अलमलका कारण मनोनयन प्रक्रिया झण्डै एक घण्टा रोकियो ।

यसबीच मैले कलाकार अर्जुन घिमिरेलाई सोधेँ– व्यवस्थापन किन यति फितलो ? तर उनको प्रतिक्रिया सकारात्मक थिएन । उनीहरू तनावमा छन् भन्ने बुझेर मैले त्यसलाई सामान्य रूपमा लिएँ । सबै कागजी प्रक्रिया मिलेपछि बालेन बाहिरिए । सञ्चारकर्मीको भिड झनै बढ्यो । म क्यामेरापर्सन रविलाई दृश्यका बारेमा सल्लाह दिँदै थिएँ, अचानक अर्जुन घिमिरेले मेरो पाखुरामा दुख्ने गरी धक्का दिए ।

मैले शान्त भावमा प्रश्न गरेँ– यो के तरिका हो ? तर जवाफ हप्काइको शैलीमा आयो । त्यसपछि मेरो धैर्यको बाँध पनि टुट्यो र मैले प्रतिकार गरेँ । मेरो मुख्य ध्यान त लाखौँको आशा बनेका बालेनतिरै थियो । तर, उनी सधैँझैँ पत्रकारका प्रश्नलाई बेवास्ता गर्दै लुसुक्क बाहिरिए ।

oli kp JYIWROaO0W

बालेन निस्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओली कार्यालयमा प्रवेश गरे । उनी सीमित समर्थकका साथ आएका थिए, तर उनको शैली भने नितान्त फरक र शिष्ट थियो । उनले पत्रकारहरूलाई आफैँ आग्रह गर्दै भने– जिज्ञासा छन् भने मनोनयनपछि कुरा गरौँ है ।

प्रक्रियामा समय लाग्ने भएपछि उनले फेरि भने– आउनुहोस्, तपाईंका प्रश्न छन् भने सोध्नुस्, म जवाफ दिन्छु । त्यसपछि ओली र पत्रकारबीच खुला संवाद भयो ।

झापा–५ को यो दृश्य केवल दुई उम्मेदवारको तुलना मात्र थिएन । यो त व्यवहार र शैली, क्रेज र संवाद, तथा मौनता र खुलापनबीचको प्रत्यक्ष द्वन्द्व थियो । यही भिन्नताले नै झापा–५ को चुनावी प्रतिस्पर्धालाई झनै रोचक र अर्थपूर्ण बनाउँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com