शिक्षासमाचारसम्पादकीय

विद्यार्थीले शिक्षकलाई कुटपिट गर्दै खोला किनारमा लगेपछि…

मङ्गलबार, ०८ पुस २०८२, १६ : ३१
  • जाजरकोटमा विद्यार्थीहरूले शिक्षकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • विद्यार्थीहरूले शिक्षकमाथि विद्यालयमा दौड प्रतियोगितामा पक्षपात गरेको आरोप लगाएका छन्।
  • प्रहरीका अनुसार शिक्षकले सुरुमा विद्यार्थीलाई हातपात गरेको र त्यसपछि कुटपिट भएको बुझिएको छ।

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ भाइरल छ–जहाँ विद्यार्थीहरूको एक ठुलो हुलले कुनै एक व्यक्तिलाई कुटपिट गरिहेको देखिन्छ ।

खोलामाथि भिरालो बाटोमा ती विद्यार्थीहरूले कुटपिट गर्दै निकै परसम्म पुर्‍याएको देखिन्छ । भिडिओमा विद्यार्थीले शिक्षकमाथि कुटपिट गरिरहेको भनिएको छ ।

रातोपाटीले यो विषयमा बुझ्दा भिडिओ जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० को श्री मावि सिर्पचौरको हो । उक्त विद्यालयका विद्यार्थीहरूले आफ्नै विद्यालयका शिक्षक वीरबहादुर बस्नेतमाथि कुटपिट गरेको भिडिओ रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका जाजरकोटका प्रहरी निरीक्षक, सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार यो भिडिओ गएको शुक्रबारको हो ।

दुई दर्जनभन्दा धेरै विद्यार्थीहरूले शिक्षक बस्नेतमाथि कुटपिट गरेर घाइते बनाएका छन् । विद्यार्थीहरूले विद्यालयको प्राङ्गणबाट कुटपिट र धकेल्दै बाहिर निकालेका थिए । कतिपयले विद्यार्थीले शिक्षकमाथि कुटपिट गर्नुका पछाडि शुक्रबार विद्यालयमा दौड प्रतियोगिता गरिएको र शिक्षक बस्नेतले पक्षपात गरेको भन्दै विद्यार्थीले कुटपिट गरेको बताएका छन् । तर प्रहरी निरीक्षक खड्काले भने सुरुमा शिक्षक बस्नेतले नै विद्यार्थीमाथि हातपात गरेको कुरा आएको बताए ।

‘सरले नै पहिला विद्यार्थीलाई हातपात गर्नुभएको रहेछ, विद्यार्थीको कपाल लामो भयो, मुन्द्रा लाएको भन्दै त्यस्तो गर्नु भएको भन्ने बुझिएको छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘त्यसपछि विद्यार्थीले हामीमाथि यस्तो गर्ने भनेर कुटपिट गरेको रहेछ ।’

घाइते शिक्षकले उजुरी ल्याएर स्थानीय प्रहरी चौकीमा पुगेको र प्रहरीले विद्यालय व्यवस्थापनलाई नै मिलाउने गरी पठाइएको पनि उनले बताए ।

‘विद्यालयजस्तो पवित्र भूमिको विवादको कुरा हो, विद्यालय व्यवस्थापन समितिको होला, नभए पालिका शिक्षा समिति होला, त्यहाँ गएर मिलाउन भनिएको छ,’ उनले भने, ‘प्रहरी स्कुलमा जाँदा राम्रो हुँदैन भनेर पठाएको त्यहाँको प्रहरी अफिसरले कुरा गरेको थिए ।’

सामाजिक सञ्जालमा भने विद्यार्थीले अनुशासन कायम नगरेको भन्दै टिप्पणी भएको छ । शिक्षक बस्नेत सामान्य घाइते भएका बताइएको छ । यो विषयमा विद्यालयमा प्रधानाध्यापकलाई बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com