Site icon Hamropusta

असोजमा ३० हजार ५ सय विदेशी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

mountain

गण्डकी । गत असोजमा ३० हजार ५ सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का अनुसार यसमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५ सय २८ पर्यटक रहेका छन्।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत वर्ष असोजको   तुलनामा यस वर्ष १८५ जना पर्यटक कम आएका छन्। आर्थिक वर्ष २०८१/८२ को असोजमा ३० हजार ७ सय ३२ पर्यटक भित्रिएका थिए भने २०८०/८१ मा २८ हजार ७ सय ५ जना आएका थिए।

असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने भएकाले कात्तिकमा पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ। गत कात्तिकमा ३३ हजार ३ सय १० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

तिहारलगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको  चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताए। यो याममा विदेशी पर्यटक पदयात्राका लागि आउने गर्छन् भने चाडपर्व र बिदाको समय पर्ने भएकाले आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको छ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, उपल्लो मुस्ताङ, घोरेपानी, पुनहिललगायत अन्नपूर्ण फेरोका गन्तव्यस्थलमा यस याममा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने गरेको छ। मुक्तिनाथसहितका धार्मिक गन्तव्यमा जाने भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन्।

Exit mobile version