कर्णाली प्रदेश

सुर्खेतमा जेनजी आन्दोलनको नाममा लुटपाट गर्नेको खोजी गर्दै प्रहरी

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अप्रिय घटनाबारे अनुसन्धानका लागि जनसहयोगको अपिल गरेको छ ।

प्रहरीले यी घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि सर्वसाधारणसँग प्रमाण जुटाउन आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै आन्दोलनको आवरणमा भएका यस्ता आपराधिक गतिविधिहरूको छानबिन गर्न आम नागरिकको सहयोग अपरिहार्य रहेको जनाएको छ ।

ती घटनासँग सम्बन्धित कुनै पनि तस्बिर, भिडियो वा विभिन्न सामाजिक सञ्जालमा प्रकाशित लिङ्कहरू भए जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उपलब्ध गराउन अपिल गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायa उपरीक्षक मोहनजंग थापाले बताए । संकलित प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाउने उनले जनाए ।

देशभर जेनजी आन्दोलनका नाममा भइरहेका प्रदर्शनहरुका क्रममा सुर्खेतमा पनि व्यापक विरोध प्रदर्शन भएको थियो । यसै क्रममा केही समूहले आन्दोलनको आडमा आपराधिक गतिविधि गरेको आशंका गरिएको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम राख्न र कानुन हातमा लिने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।

विशेषगरी भदौ २४ गते आन्दोलनले उग्र रुप लिँदा वीरेन्द्रनगरमा रहेका सबै राजनीतिक दलका पार्टी कार्यालय जलाइएका थिए । यस्तै वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गर्नुका साथै प्रदेशसभा जलेर पूर्णरुपमा ध्वस्त भएको छ । अन्य दर्जन बढी सरकारी कार्यालयहरुमा आगजनी भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com