कर्णाली प्रदेशप्रदेशसमाचारस्थानीय समाचार

साइरन, तटबन्ध र उद्धार टोलीसहित वीरेन्द्रनगर विपद्‌ प्रतिकार्यमा जुट्यो

वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्राकृतिक बहुप्रकोपको उच्च जोखिममा रहेको क्षेत्र हो । मनसुन सुरु भएसँगै नगरपालिकाले बाढी, डुबान र नदी कटानजस्ता विपद्‌बाट जनधनको क्षति न्यूनीकरण गर्न विभिन्न पूर्वतयारी र प्रतिकार्य कार्यक्रम सञ्चालनमा ल्याएको छ।

 

नगरपालिकाले तल्लो तटीय क्षेत्रलाई प्राथमिकतामा राख्दै बाढीको पूर्वसूचना प्रणाली, वर्षा मापन केन्द्र, उद्धार सामग्री, र तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेको छ । इत्रामखोला, आँपखोली र तल्लो पर्सेनी क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ। आँपडालीमा बायो इन्जिनियरिङ प्रविधिबाट बनाइएको तटबन्ध प्रभावकारी रहेको छ ।

विपद्को सूचना समयमै फैलाउन तल्लो पर्सेनीमा रिमोटबाट सञ्चालन हुने साइरन जडान गरिएको छ, जसले खतराको तह पार गरेपछि नगर कार्यालयसहित स्थानीयवासीलाई सतर्क गराउँछ।

विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नम्बर २ र ९ बाढी र डुबानको उच्च जोखिममा छन् । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । यस्तै, वडा नम्बर १४, १५ र १६ पहिरो, वडा नम्बर ३ भूकम्प र वडा नम्बर १६ चट्याङबाट वर्षेनि प्रभावित हुँदै आएका छन् ।

आपत्‌कालीन कार्य सञ्चालन केन्द्रका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको नगरपालिकाको दाबी छ । २०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । हाल उक्त क्षेत्रमा तटबन्ध गरिएको हो । इत्राम खोलामा पनि तटबन्ध बनेपछि दुई सय बढी घरधुरी लाभान्वित भएको बताइएको छ ।

वीरेन्द्रनगर-९, तल्लो पर्सेनीमा बाढी-डुबानको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । नगरपालिकाले त्यसक्षेत्रका ६३ घरधुरीलाई लक्षित गरी रिमोटबाट चल्ने साइरन जडान गरेको छ । नगरपालिकाको कार्यालयमा पनि ध्वनि सुनिने उक्त साइरनले निकास खोलामा पानीले खतराको विन्दु पार गर्ने बित्तिकै बाढीको सूचना दिन्छ । यसले कार्यालयबाट उद्वार सामग्रीसहित परिचालन हुने मद्दत पुग्ने बताइएको छ ।

यस्तै, नगरपालिकाको सूचना प्रवाह तथा विपद्‌ व्यवस्थापन संयन्त्र अनुसार संचार प्रभावकारी रूपमा कार्यान्वयन गर्न भीएच एफ सेट, मोबाइल सेट र आपत्‌कालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ । स्थानीयका अनुसार २०७१ को बाढीबाट यो टोलका तीन जनाले ज्यान गुमाएका थिए ।

उपकरण र जनशक्ति तयारी अवस्थामा

मनसुन प्रतिकार्यका लागि आपत्‌कालीन कार्य सञ्चालन केन्द्रमा निम्न उपकरणहरू तयारी अवस्थामा छन् ।

  • २ थान रबरबोट, २ दमकल, २ डोजर
  • ८० थान लाइफ ज्याकेट, २० रबर ट्युब
  • १ एम्बुलेन्स, ५ स्ट्रेचर
  • १० फायर बल, ४ थान फायर सेफ्टी इक्विपमेन्ट

त्यस्तै, उद्धारका लागि तालिम प्राप्त

  • १४ अग्नि नियन्त्रक, ४१ द्रुत लेखाजोखा टोली
  • २४ खोज तथा उद्धारकर्ता
  • १७ जना वासटोली सदस्य पनि परिचालनको तयारीमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com