जुम्ला । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी थालेको छ । छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो ।
हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
आयोगले दिएको विवरणअनुसार हालसम्म कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको छ ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतसहित सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न जिल्लाको मतपत्र छपाइ कार्य सकिएको छ ।
यसैबीच १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिसकिएको आयोगले जनाएको छ । दैनिक करिब एक हजार बाकस प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ ।
पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।
समानुपातिकतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।
यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको छ, जसको छपाइ माघ १६ गतेदेखि सुरु भएको हो ।
निर्वाचन नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानीलाई तीव्रता दिएको जनाएको छ ।