Site icon Hamropusta

पर्वतको ठानामा ‘एक घर एक धारा’

Screenshot 2026 01 13 115725

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ । सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो ।

बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो । ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो । यहाँ ८२ घरपरिवार छन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र स्थानीय मोदी गाउँपालिकाको साझेदारी तथा लाभग्राहीहरुको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।

युनिका फाउन्डेसन दी नेदरल्यान्डको ८३ लाख ३४ हजार ७२०, मोदी गाउँपालिकाको २४ लाख ९६ हजार १२९, समुदायको २७ लाख ७८ हजार ७७३ बराबरको श्रमदान गरी एक करोड ३६ लाख १० हजार ६२२ को लागतमा आयोजना सम्पन्न भएको ठाना खानेपानी तथा सरसफाइ परियोजनाका अध्यक्ष कमलबहादुर केसीले जानकारी दिए ।

उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ । आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ । बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ ।

खानेपानी अभावका कारण स्थानीयवासीहरुको बसाइँसराइ बढ्दै गएको र गाउँमा बस्नेहरुले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले जानकारी दिए । (रासस)

Exit mobile version