चीनले आफूलाई अमेरिकाकै बराबरीमा पुगेको देखाइदियो

- अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ताले व्यापार युद्ध रोक्ने सहमति गर्यो।
- चीनले आर्थिक दबाबलाई थेग्दै अमेरिकालाई बदला लियो, दुर्लभ खनिज र चुम्बकको प्रयोग गर्दै दबाब सिर्जना गर्यो।
- ट्रम्पको व्यापार युद्धका कारण अमेरिका कमजोर बनेको र चीनले भूराजनीतिक रूपमा आफ्नो शक्ति स्थापित गरेको देखिन्छ।
महाशक्ति राजनीतिमा यस्ता क्षणहरू पनि आउँछन्, जतिबेला हामी विश्व राजनीतिका ‘टेक्टोनिक प्लेट’ हरु सर्दै गरेको सहजै अनुभव गर्न सक्छौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङबिचको पछिल्लो शिखर बैठक यस्तै एउटा पानिढलो थियो
गत अक्टोबर ३० तारिखमा भएको भेटमा दुई नेताले व्यापार युद्ध रोक्ने सहमति गरे । यसैवर्ष ट्रम्पले त्यस्तो युद्ध थालेका थिए । तर, कथाको मुख्य पाटो उनीहरूबिच भएको सम्झौता बिल्कुलै होइन । बरु उक्त भेटमा चीनले अमेरिकासँग आफू पनि बराबरी हैसियतको शक्ति भइसकेको सन्देश स्पष्ट रूपमा जसरी दियो, त्यो चाहिँ चासोको विषय हो ।
चीनले आफूमाथि अमेरिकाले सिर्जना गरेको आर्थिक दबाबलाई थेग्ने काम मात्रै गरेन सफलतापूर्वक अमेरिकासँग आफ्नै बलबुतामा बदला समेत लियो । वैश्विक आपूर्ति शृङ्खलामा खास गरी दुर्लभ खनिज पदार्थ (रेयर अर्थ) र चुम्बकहरूमा अमेरिकाको निर्भरतामा टेकेर चीनले अमेरिकालाई दबाबमा राख्यो ।
दशकौँदेखिको अ–औद्योगिकरण (डि–इन्डष्ट्रियलाइजेसन)का कारण थिल–थिलो बनेको अमेरिकाले चीनको दबाब झेल्न नसक्ने अवस्था बनेको थियो । अन्ततः अमेरिकाले दबाब थेग्न सकेन । भविष्यमा कुनै दिन इतिहासकारहरूले अमेरिका र चीन भूराजनीतिक रूपमा कहिले बराबर हैसियतमा पुगे भनेर अनुसन्धान गरे भने, उनीहरू पक्कै पनि ट्रम्पले राम्रो सोच बिचार नगरी सुरु गरेको व्यापार युद्धको नतिजाको बिन्दुमा आइपुग्न सक्छन् ।
यस्तो हिसाबकिताब असाध्यै संवेदनशील समयमा आएको छ । फलतापूर्वक अमेरिकासँग आफ्नै बलबुतामा बदला समेत लियो ।
चीनले आफूमाथि सिर्जना गरिएको आर्थिक दबाबलाई थेग्ने काम मात्रै गरेन, सफलतापूर्वक अमेरिकासँग आफ्नै बलबुतामा बदला समेत लियो ।
अमेरिकामा कायम रहेका दुवै प्रमुख दल निकट रणनीतिकारहरूले चीन र अमेरिकाबिचको प्रतिस्पर्धा आर्थिक, प्राविधिक तथा सैन्य ढङ्गले निर्णायक बिन्दुमा पुग्छ भन्ने ठानेको दशक आधामा मात्रै पुगेको छ । उनीहरुले सोचेको भन्दा आधा समयमै यस्तो अवस्था सिर्जना भएको छ ।
ट्रम्प र उनको समूह अमेरिकामा ‘म्यानुफ्याक्चरिङ’ फर्काउने, व्यापार सन्तुलन कायम गर्ने तथा प्रतिरक्षा उद्योग पुनर्निर्माण गर्ने काममा हतारिएर लागेका छन् । तर पछिल्लो ट्रम्प–सी शिखर बैठकको परिणामले उनको पहललाई कमजोर बनाउन सक्ने देखिदैछ ।
ट्रम्पले अमेरिका–चीन बैठकलाई ‘जी–२’ समेत भन्न भ्याए । यसले गर्दा अमेरिकाले आफ्नो मुलुकमा पुनःऔद्योगिकरण गर्न तथा अन्तर्राष्ट्रिय रूपमा चीनलाई सन्तुलनमा राख्न चाहिने साझेदारहरूको महत्त्व घटाएको छ । साथै बेइजिङले अमेरिका विरुद्ध प्रयोग गरेको आक्रामक उपकरणले काम गर्छ भन्ने देखाएर ट्रम्पले अमेरिकामाथि थप दबाब बढाउने बाटो खोलिदिएका छन् ।
त्यसो गर्दा चीनले उनको ‘अमेरिका पहिलो’ एजेन्डामा थप नियन्त्रण कायम राख्न सक्छ । यस्तो हुनु हुँदैनथ्यो ।
यसका पछाडि ट्रम्पको अनावश्यक भड्काइपूर्ण कदमहरू जिम्मेवार छन् । गत फेब्रुअरीमा उनले आफ्नो पहिलो कार्यकालमा सुरु गरेको व्यापार युद्ध पुनः ब्युँताइदिए । चीनबाट आउने सामानमा भन्सार महसुल बढाउँदै लगे । त्यस्तो महसुल १ सय ४० प्रतिशतसम्म पुग्यो । उनले आफ्नै मुलुकका अप्ठेराहरू भने ख्यालै गरेनन् । आपूर्ति शृङ्खलालाई व्यवस्थित गर्नै सकेनन् ।
उता चीनले भने त्यस्तो गल्ती गरेन । सन् २०१८ मा पहिलो पटक ट्रम्पले भन्सार महसुल लगाएपछि चीन अर्को त्यस्तै व्यापार युद्धको आकलन गर्दै आन्तरिक तथा बाह्य तयारी गरेर बस्यो । चीनले पहिलेकै अवस्था दोहरिन सक्छ भन्ने आकलन गरेर बसेको थियो । साथै त्यसबाट कसरी जुध्ने भन्ने तयारी पनि गरेको थियो ।
राजनीतिक रङ्गमञ्चलाई रणनीतिक रूपमा खेलाउने धृष्टता गर्दै ट्रम्पले चीन विरुद्ध फायर खोलेर अमेरिकाकै धरातल कमजोर बनाइदिए । उनले सीको क्षमताबारे गलत अनुमान मात्रै गरेनन् आपूर्ति शृङ्खलामा अमेरिकाको निर्भरता कति छ भन्ने हेक्का समेत राखेनन् ।
ट्रम्पको भन्सार महसुल वृद्धिले अप्ठेरोमा पुगेका सीले गत अप्रिलमा जवाफी हमला गरे । उनले अमेरिकामा गाडीदेखि क्षेप्यास्त्रसम्म बन्न अत्यावश्यक मानिने ‘रेयर अर्थ’ र चुम्बकहरूको निर्यातमा कडाइ गर्न थाले । उनले यस्तो कडाईको धम्की कुनै बेला वाइडेन सरकारको पालामा दिएका थिए । तर यसपटक उनले धेरै हिसाब गरेर कदम चाले ।
झनै कठोर अमेरिकी जवाफको सम्भावनाका बाबजुद चीनले त्यस्तो जोखिम मोलेको थियो । सीले अमेरिकाले हार्छ भन्नेमा जोखिमपूर्ण बाजि खेलेका थिए । तर उनी नै सत्य साबित भए । मे महिनासम्म आइपुग्दा ट्रम्प गले । ट्रम्पले तनाव कम गर्ने तरिका अपनाउँदै आफूले लगाएका भन्सार महसुलहरू घटाइदिए ।
आफूलाई सुदृढ बनाइसकेको चीनले गत अक्टोबरमा फेरि ‘रेयर अर्थ’ कै सहारा लियो । नाटकीय रूपमा दबाब झनै बढाउँदै लग्यो । अमेरिकाले निर्यातमा कडाइ गरेको दृष्टान्तको सहारा लिएर बेइजिङले संसारभर आफ्नो मुलुकबाट ‘रेयर अर्थ’ किन्ने देश वा कम्पनीलाई अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्न थाल्यो । यस्तो अनुमति किन्न, प्रयोग गर्न मात्रै नभएर अन्यत्र बेच्न पनि चाहिने भयो । यतिसम्म कि थोरै मात्र चिनिया रेयर अर्थ प्रयोग भएका सामानसमेत बेच्न अनुमति चाहिने अवस्था सिर्जना गरिदियो उसले ।
अमेरिकाले यस्तो सोचेकै थिएन । एकाएक चीनले अमेरिका र वैश्विक उत्पादनको निधारमा बन्दुक ताके जस्तै अवस्था सिर्जना गरिदियो ।
ट्रम्पको टोलीले यसको बदलामा नयाँ खाले ‘चीप’ निर्यातमा कडाइ तथा वित्तीय प्रतिबन्धको तयारी गर्यो, जसकारण चीनले आफ्नो आक्रामक शैली सुधार्ने अपेक्षा गरिएको थियो । तर ट्रम्पले आट गरेनन् । यी विकल्पहरु पाखा लगाएर उनी भन्सार महसुल खुकुलो गर्नेतर्फ लागे । केही समयपछि, यी दुई नेताले कोरियाको वुशानमा भेटघाट गरे । ट्रम्पको पुरानो फुर्तिफार्ति सबै हरायो । उनले भन्सार माहसुल घटाउने, चीनलाई अन्य सुविधाहरू दिने तथा तनाव कम गर्ने बाटो रोजे ।
सबै कुराहरु साम्य हुँदै जाँदा ट्रम्पका कारण अबका दिनमा चीनलाई अमेरिकाको सीमा थाहा भयो । साथै ट्रम्पले व्यापार युद्ध सुरु गर्दाको अवस्था भन्दा पछिल्लो समयमा अमेरिकाको हालत झनै गलेको र लुरुक्क परेको देखियो ।
चीन आफू कमजोर हुँदा उसले दशकौँ लगाएर आफ्नो सामर्थ्य बढायो । उत्ताउलो भएर गलत समयमा आफ्नो शक्ति परीक्षण गर्न बाहिर निस्किएन । तर यता ट्रम्पले त यसअघि नै अरूले नै बनाइदिएको अमेरिकी सर्वोच्चता सहजै पाएका थिए । तथापि पाठ भने भर्खर सिक्दै छन् ।
बेइजिङले अमेरिकाबाट भटमासको आयात पुनः सुचारु गरेको छ । भटमास अमेरिकाले चीनमा गर्ने निर्यातको प्रमुख वस्तुमा पर्छ । तर यसपटक चीनले पहिलेको तुलनामा कम आयात गर्दैछ । चीनले ‘रेयर अर्थ’को अनुमति पत्र प्रणाली अर्को वर्षसम्म सारेको छ ।
चीनले जुनसुकै बेला त्यस्ता प्रणाली सक्रिय पार्न सक्ने त्रासमा अमेरिकाका कम्पनीहरूलाई लगाएको निर्यात नियन्त्रण खुकुलो पारेको छ भने उता अमेरिकाले फेन्टानिल उत्पादनमा प्रयोग हुने विभिन्न पदार्धहरुको उत्पादनमा गरेको कडाइ खुकुलो पार्दै चीनलाई १० प्रतिशत भन्सार महसुल कटौती गरिदिएको छ ।
अब चीनलाई लगाइएको अमेरिकी भन्सार दर अमेरिकी सहयोगी तथा साझेदारहरूलाई लगाइएको भन्सार महसुलको हाराहारीमा पुग्यो । त्यसो हुँदा अमेरिकी व्यवसायहरूले चीन बाहेक अन्य देशमा आफ्ना आपूर्तिकर्ताहरूको विविधीकरण गर्न निरुत्साहित हुन्छन् । अर्थात अमेरिकी व्यवसायीका लागि चीन नै आकर्षक रहने अवस्था सिर्जना भएको छ ।
अमेरिकाले चीन मामला राम्रोसँग सञ्चालन गर्न नसकेको प्रभाव व्यापारमा मात्रै सीमित हुने छैन । आफ्नै रक्षामा राम्रोसँग खडा हुन नसकेको अमेरिका आफ्ना साझेदार मुलुकहरूलाई अप्ठेरो पर्दा कसरी उभिन्छ भन्ने प्रश्न पक्कै उठ्नेछ । अबका दिनमा चीनले उत्साहित हुँदै ताइवानलगायत अन्य मुद्दामा अमेरिकाको रवैयाको परीक्षण गर्न पनि सक्छ ।
अमेरिकाका विरुद्ध जानका लागि चीनसँग अन्य संवेदनशील नियन्त्रण विन्दु पनि छन् । जस्तै असाध्यै संवेदनशील औषधि तथा ‘एन्टिबायोटिक’ उत्पादन गर्न चाहिने पदार्थमा चीनको दबदबा आज पर्यन्त कायमै छ ।
फौजी क्षेत्रमा सेनाका जर्नेलहरूबिच एउटा भनाई चर्चित छ । उनीहरू भन्छन्– हिउँदमा रुसमा आक्रमण गर्न नजानु । यो भनाई आर्थिक क्षेत्रमा पनि त्यत्तिकै महत्त्वपूर्ण छ– असाध्यै संवेदनशील वस्तु आयात गर्ने मुलुकसँग व्यापार युद्ध सुरु गर्नुअघि आफ्ना कमजोरीबारे हेक्का नगरी पाइला चाल्नु मूर्खतापूर्ण हुन्छ ।
राजनीतिक रङ्गमञ्चलाई रणनीतिक रूपमा खेलाउने धृष्टता गर्दै ट्रम्पले चीन विरुद्ध फायर खोलेर अमेरिकाकै धरातल कमजोर बनाइदिए । उनले सीको क्षमताबारे गलत अनुमान मात्रै गरेनन् आपूर्ति शृङ्खलामा अमेरिकाको निर्भरता कति छ भनि हेक्का समेत राखेनन् । अबका दिनमा ती आपूर्ति शृङ्खलाहरूमा अमेरिकाको नियन्त्रण रहँदैन । अन्ततः अमेरिका चौतर्फी अप्ठेरोमा छ ।
राष्ट्रिय शक्तिको निर्माण र प्रयोग असाध्यै गम्भीर काम हो । यो काम हचुवामा ठुलो कुरा गरे जस्तो सजिलो हुँदैन । यसका लागि कहिले र कसरी लड्ने तथा कस्तो बेला नलड्ने भन्ने राम्रोसँग बुझ्ने धैर्य, सहनशीलता, योजना र अनुशासन चाहिन्छ । चीनले यस्तो कुरा बुझेको छ ।
आफू कमजोर हुँदा उसले दशकौँ लगाएर आफ्नो सामर्थ्य बढायो । उत्ताउलो भएर गलत समयमा आफ्नो शक्ति परीक्षण गर्न बाहिर निस्किएन । तर यता ट्रम्पले त यस अघि नै अरूले नै बनाइदिएको अमेरिकी सर्वोच्चता सहजै पाएका थिए । तथापि पाठ भने भर्खर सिक्दै छन् ।

