स्थायी कमिटीपछि सक्रिय प्रचण्ड, देउवा र बाबुरामसँग संयुक्त सरकार प्रस्ताव

२०७७ फाल्गुन २५, मंगलवार
पढ्ने समय : 2 मिनेट

साविकको माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक पेरिसडाँडामा बसे लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन्। पेरिसडाँडामा मंगलबार दिउँसो बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेन।

तर, ओलीलाई विस्थापित गर्ने प्रयासलाई भने माओवादी केन्द्रले अघि बढाउने निर्णय लियो। सरकारसहित अन्य मुद्दामा साझा एजेण्डा बनाउन माओवादी केन्द्रको स्थायी कमिटीले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग संवाद थाल्ने निर्णय गरेको थियो।

नेकपा एमालेतिर लागेको रामबहादुर थापा बादल समूह सहभागी नभइ बसेको स्थायी कमिटी लगत्तै प्रचण्ड प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे।

प्रतिनिधिसभा पुन:स्थापित भएपछि फागुन १२ मा उनी नेकपा अध्यक्षको हैसियतमा बूढानीलकण्ठ पुगेका थिए। तर मंगलबार अपराह्न उनी नेकपा माओवादी केन्द्रको अध्यक्षका हैसियत देउवा निवास पुगेर सहकार्य प्रस्ताव गरे।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त मोर्चा बनाउन अस्वीकार गरेका उनै देउवासँग गएर प्रचण्डले संयुक्त सरकारको प्रस्ताव गरेको स्रोतले बताएको छ

देउवानिकट स्रोतका अनुसार करिब १८ मिनेट लामो संवादका क्रममा प्रचण्डले ओलीलाई विस्थापित गरेर माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए।

प्रचण्डले ओली प्रवृत्तिले नेपाली राजनीति नराम्ररी प्रभावित भएको भन्दै उनलाई विस्थापित गर्नै पर्ने मत राखेका थिए। तर देउवाको उही रेडिमेड जवाफ, ‘तपाईंका कुरा सुनेँ तर म यसबारेमा पहिले पार्टीमा छलफल गर्नेछु।’

प्रचण्डले ओलीको नेतृत्वमा देश झन् झन् जटिलतामा फस्दै गएको तर्क गरेका थिए। ‘ओली नेतृत्वमा रहँदा देश झन् जटिलता तर्फ गयो, कुनै कुराको पनि निकास दिन सकेन’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘देउवाजीले पनि यी कुरालाई सकारात्मक लिनु भएको छ। केपी ओली प्रवृत्तिले अझै संकट बढाउने कुरामा दुवै नेता सहमत भएका छन्।’

छलफलका क्रममा फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेतिरै रहेर ओली सरकारमा यथावत मन्त्रीहरु फिर्ता नगरेकोमा प्रचण्डलाई जिज्ञासा राखेका थिए। देउवाको जिज्ञासा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरूप्रति लक्षित थियो।

तर बादल, टोपबहादुर रायमाझीसहित माओवादीबाट ओली समूहका पुगेका मन्त्रीहरुले एमालेमै बस्ने मत राखेका छन्। त्यहीकारण आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीमा पनि उनीहरु उपस्थित भएनन्। माओवादी केन्द्रले पनि विकसित घटनाक्रमबारे उनीहरुको दृष्टिकोण बुझेर मात्रै थप कारवाही अघि बढाउने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बाबुरामसँग पनि 

बूढानीलकण्ठमा देउवालाई भेटेका प्रचण्ड त्यसपछि जनयुद्धका आफ्ना सहकर्मी एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न उनको निवास टोखा पुगे।

त्यहाँ पुगेर पनि उनले ओलीलाई विस्थापित गर्दै जसपा, माओवादी केन्द्र र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने कुरा राखेका स्रोत बताउँछ।  ‘जसपाको पनि प्रतिनिधित्व हुने गरी सरकार बनाऊँ’, प्रचण्डले बाबुरामसँग भने, ‘तीन दल मिलेर सरकार बनाउँदा उचित पनि हुन्छ।’

ओली एक कदम अगाडि

प्रचण्डले बाबुरामसँग संवाद गर्नुअघि नै प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरु खटाएर जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग वार्ता गरिसकेका छन्।

सिंहदरबारमा मंगलबार दिउँसो बसेको जनता समाजवादी संसदीय दलको बैठकमा बाबुराम उपस्थित भएनन्। कारण बिरामी भनिएको थियो। तर उनले आफ्नै निवासमा प्रचण्डसँग भने संवाद गरेका छन्।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओलीले गरेका प्रस्तावबारे छलफल भएको थियो। उक्त छलफलमा सांसद रेशम चौधरीलाई रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न ओली सकारात्मक भएकाले वार्तालाई अघि बढाउनुपर्ने निचोड निकालेको छ।

जसपा अहिले ओली र प्रचण्डको तानातानमा परिरहेको छ। ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोसँग वार्ता अघि बढाएका छन्। अर्कातिर प्रचण्ड उपेन्द्र यादव र भट्टराईसँग संवादमा छन्।

तर जसपाको पछिल्लो समीकरण हेर्दा महन्थ ठाकुर र राजेन्द्र महतो बहुमतमा हुने देखिएको छ। अर्कातिर यादव र भट्टराई अल्पमतमा पर्ने सम्भावना बढेर गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page