अर्थतन्त्रराजनीति

प्रधानमन्त्रीले भनिन्– युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ

बिहीबार, २३ असोज २०८२, २२ : ३०

 सारांश

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा भिडियो सन्देश जारी गरिन्।

  • उनले युवा शहीद र घाइतेप्रति समवेदना प्रकट गर्दै राजनीतिक क्रान्तिको भावनालाई आत्मसात् गर्न आह्वान गरिन्।
  • प्रधानमन्त्रीले युवा पुस्ताको चाहनाअनुसार देशमा राजनीतिक र आर्थिक सुधारको प्रतिबद्धता जनाइन्।

काठमाडौँ। जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गरेकी छन्। भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र सयौँ व्यक्ति घाइते भएकोमा गहिरो दुःख व्यक्त गर्दै शहीद परिवार र घाइतेप्रति समवेदना प्रकट गरिन्।

‘यो घटना अत्यन्त पीडादायी क्षणको रूपमा सधैँ रहनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी छ।’ उनले क्रान्ति पछाडिका कारणहरूलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको बलिदानपछि देशमा राजनीतिक र आर्थिक सुधारका साथै न्याय र विधिको शासनको तीव्र चाहना रहेको औँल्याइन्। उनले देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने युवाहरूको चाहनाप्रति सरकार प्रतिबद्ध रहेको बताइन्।

‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ, उनले भनिन्। प्रधानमन्त्रीले एकातिर युवामा निराशा व्याप्त भएको र अर्कोतर्फ देशप्रति उत्कट प्रेम रहेको उल्लेख गर्दै उनीहरूको भावनालाई सम्मान गर्नुपर्नेमा जोड दिइन्।

विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्री कार्कीले यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन्। उनले युवा पुस्ताले चाहेको परिवर्तनप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको स्पष्ट पारिन्। यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्रीले आन्दोलनमा पीडित परिवारहरूलाई राहत र घाइतेहरूको उपचारका लागि विशेष कार्यक्रम अघि सारेको बताइन्। उनले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जानकारी दिइन्। भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधारहरू गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्रहरू स्थापना गर्ने बताउँदै प्रधानमन्त्री कार्कीले आजका दिन सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गरिन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com