सुर्खेत । गण्डकी प्रदेशको पोखरामा ०७९ कार्तिक ३ मा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापनसँगै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झन्डा कर्णाली प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई हस्तान्तरण गरे ।
झन्डासँगै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने निश्चित भयो । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको मिति ०८१ मंसिर २ देखि ८ गतेसम्मका लागि तय गऱ्यो । बाजागाजासहित आयोजक झन्डा बोकेर कर्णाली प्रदेश फर्किए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता तयारीका निम्ति ‘५–प’ सिद्धान्त अर्थात् पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रोत्साहन र पुरस्कार अघि साऱ्यो । दोहोरो अंकको ‘गोल्ड मेडल’ लक्ष्यसहितको योजना पनि तय गरियो ।
यतिखेर पूर्वाधारतिर प्रादेशिक रंगशाला लगभग सम्पन्न भइसकेको छ, जुन प्रदेश गौरवको आयोजनाभित्र परेको थियो । सुर्खेतमा अन्य केही खेलकुद कार्यक्रमहरू पनि भइरहेका थिए ।
तर, राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले ०८१ मंसिरमा हुने भनिएको प्रतियोगिता खेल पूर्वाधारको अभाव देखाउँदै नयाँ मिति ०८१ चैत २३ देखि ३० गतेसम्म तय गऱ्यो । त्यो समयमा हुन सकेन ।
त्यसपछि तेस्रोपटक ०८२ जेठ ३ देखि १० गतेसम्मको मिति तोकियो । यस मितिमा प्रतियोगिता हुने आशा गरिएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मुख्यमन्त्री यामलाल कँडेलले २५ फागुन ०८१ मा मुख्य आयोजक समितिको सचिवालयको उद्घाटन गरे ।
किन भएन प्रतियोगिता ?
तेस्रो मिति पनि गुज्रिएपछि मन्त्री चौधरीले आफ्नो एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा प्रमुख पूर्वाधारको अभावका कारण प्रतियोगिता हुन नसकेको बताए ।
यद्यपि, कर्णाली प्रदेश खेलकुद विकास परिषद् भने मंसिरमै प्रतियोगिता गर्न आफू सक्षम रहेको बताउँदै आइरहेको थियो । मन्त्री चौधरीको भनाइप्रति कर्णालीका खेल क्षेत्रका सरोकारवाला सहमत छैनन् ।
राजनीतिक विवादले खेलकुद चौपट
संघीय सरकारमा कांग्रेस–एमाले गठबन्धन बनेसँगै कर्णालीमा पनि सत्ता समीकरण बदलियो । जसको प्रभाव खेलकुद आयोजनामा पनि देखियो ।
एमालेबाट मुख्यमन्त्री यामलाल कँडेल बने । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ माओवादी केन्द्र निकट हुन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्य सचिव विश्वामित्र सञ्ज्याल पनि माओवादी निकट हुन् । तर, मन्त्री चौधरी कांग्रेसका छन् ।
मुख्यमन्त्री कँडेल र सदस्यसचिव सञ्ज्यालबीचको आन्तरिक विवाद र घिसिङ र चौधरीबीचको मतभेदले पनि आयोजना अस्तव्यस्त बनाएको हो ।
सञ्ज्यालले ०८१ साउन २६ मै ‘१०० दिने काउन्टडाउन’ कार्यक्रम गरी प्रतियोगिता गर्न दबाब दिने प्रयास गरे । उक्त कार्यक्रमको उद्घाटन गर्न विभागीय मन्त्री घनश्याम भण्डारी बोलाइए ।
तर, मुख्यमन्त्री कँडेलले सहभागी नहुन निर्देशन दिएपछि भण्डारी कार्यक्रममा सहभागी भएनन् । जबकि, आयोजक खेलकुद विकास परिषद्ले ‘१०० दिन काउन्टडाउन’ शीर्षकलाई खेलकुद गीत विमोचन भनेको थियो ।
पछि कार्यक्रमलाई ‘खेलकुद गीत विमोचन’ भनिएपछि मन्त्री भण्डारीले ‘काउन्टडाउन ब्यानर’ मुनि गीत विमोचन गरे । तर, प्रतियोगिताबारे केही नबोली कार्यक्रमबाट बाहिरिए ।
मुख्यमन्त्री कँडेलले आयोजनाको नेतृत्व संघीय सरकारसँग रहेको भन्दै प्रदेशस्तरीय पहलप्रति असन्तुष्टि जनाए । उनले सदस्य सचिव सञ्ज्याललाई हप्काएका थिए ।
के होला अब ?
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर साउन २२ गते मुख्यमन्त्री यामलाल कँडेलसँग छलफल गरे । छलफलमा मुख्यमन्त्रीले अब मिति हेरफेर नहुने गरी अन्तिम निर्णय गर्न आग्रह गरे ।
“अब पनि मिति तोक्दै खेल नहुने हो भने सोचेर मात्रै मिति तय गर्नुहोस्,” उनले भने, “कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौँ र त्यहीअनुसार तयारी पनि गरिरहेका छौँ ।”
संघका युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिता गर्न अब मिति नसार्ने गरी तयारी भइरहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।
तर, प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बस्नुपर्ने हुन्छ । मन्त्री चौधरी र सदस्य सचिव घिसिङबीच बोलचालसमेत बन्दजस्तै छ । जसका कारण प्रतियोगिता अन्योलमै छ ।
सदस्य सचिव घिसिङ भन्छन्, “बोर्डको बैठक नबसी प्रतियोगिता हुन्छ भन्न सकिने अवस्था छैन । निर्णय परिषद् अध्यक्ष (मन्त्री) बाट आउनुपर्छ ।”