अन्तराष्टिय समाचारआजको तस्बिररोजगार

बंगलादेशमा उत्पन्न तनावपछि कस्तो छ त्यहाँका नेपालीको अवस्था ?

काठमाडौँ । बंगलादेशमा इन्कलाब मञ्चका विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि उत्पन्न तनावबिच पनि त्यहाँ रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अधिकारीहरूले त्यहाँस्थित नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म त्यहाँ रहेका नेपाली विद्यार्थीहरू सकुशल छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बंगलादेशमा भइरहेको प्रदर्शनका कारण नेपाली विद्यार्थीहरूलाई कुनै समस्या नपरोस् भनी मन्त्रालय सचेत रहेको बताए ।

उनका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार त्यहाँ रहेका हाम्रा नेपाली विद्यार्थीहरूलाई कुनै प्रकारको समस्या छैन । ‘उनीहरू जहाँ हुनुहुन्छ, सकुशल हुनुहुन्छ,’ उनले थपे, ‘त्यहाँस्थित हाम्रा राजदूतलाई पनि स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूसँग समन्वय गरी नेपाली विद्यार्थीहरूको सुरक्षामा ध्यान दिन निर्देशन दिएका छौँ, हालसम्म हाम्रा सबै विद्यार्थीहरू सकुशल छन् ।’

आन्दोलनको क्रममा बंगलादेशमा एक जना हिन्दुको हत्यालाई लिएर नेपालमा पनि प्रदर्शन तथा विरोधहरू भइरहेका छन् । यसले त्यहाँका नेपाली विद्यार्थीहरूलाई असर पार्ने हो कि भन्ने चिन्ता परराष्ट्र मन्त्रालयलाई रहेको छ, तर हालसम्म त्यस्तो कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि त्यहाँ रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका र कुनै प्रकारको समस्या नरहेको बताएका छन् । ‘नेपाली विद्यार्थीहरूबारे जानकारी लिएका छौँ, कुनै समस्या छैन, उनीहरू जहाँ छन् सबै जना सुरक्षित छन्,’ उनले भने । नेपाल–बंगलादेशबिचको सुमधुर सम्बन्धका कारण आन्दोलनकारी तथा स्थानीय व्यक्तिहरूबाट नेपालीहरूलाई कुनै खतरा नरहेको पनि उनले स्पष्ट पारे ।

सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरहरू भ्रम फैलाउने प्रकृतिका भएकाले तिनमा विश्वास नगर्न पनि राजदूत भण्डारीले आग्रह गरे । उनले भने, ‘सामाजिक सञ्जालमा आएका भिडिओ र तस्बिरहरू भरपर्दो हुँदैनन् । कसैले भ्रम फैलाउनका लागि पनि यस्ता सामग्री प्रयोग गरेको हुन सक्छ । त्यसैले कुनै कुरामा अन्योल भए आधिकारिक स्रोतबाट जानकारी लिनुपर्छ ।

बंगलादेशमा करिब २७ सय नेपाली विद्यार्थी र करिब ३०–४० जना अन्य नेपाली नागरिक विभिन्न पेसामा आबद्ध भई बसोबास गरिरहेका छन् । उनीहरू सबै सुरक्षित रहेका बताइएको छ ।

हादीको हत्या भएको १० दिनपछि नेसनल सिटिजन्स पार्टी (एनसीपी) का खुल्ना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलब सिंकदरलाई पनि सोमबार बिहान गोली प्रहार गरिएको थियो । ढाका ट्रिब्युनका अनुसार सिकदरको उपचार खुल्ना मेडिकल कलेज अस्पतालमा भइरहेको छ ।

यसरी दुई जनामाथि आक्रमण भएपछि बंगलादेशमा सन्त्रासको अवस्था सिर्जना भएको छ । त्यहाँको सरकारले २० जना बंगलादेशी नेता तथा केही पत्रकारको सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी सन् २०२४ मा शेख हसिना सरकारविरुद्ध आन्दोलनमा सक्रिय रहेका नेताहरूको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com