प्रदेशराजनीतिसमाचार

पूर्वमा ठुला दललाई झस्काएर पश्चिम लाग्ने हर्कको तयारी

 सारांश

  • २०७९ को स्थानीय तह निर्वाचनमा हर्क साम्पाङले धरानमा चुनाव जितेका थिए, र अहिले श्रम संस्कृति पार्टी खोलेका छन्।
  • हर्क साम्पाङको अभियानले कोशी प्रदेशका १२ जिल्लामा राम्रो प्रभाव पारेको छ, र उनले आगामी निर्वाचनमा ठुलो दल बन्ने लक्ष्य राखेका छन्।
  • विभिन्न राजनीतिक विश्लेषकहरूले हर्क साम्पाङको अभियानले पुराना दलहरूलाई चुनौती दिने र आगामी निर्वाचनमा नतिजा उल्ट्याउन सक्ने संकेत गरेको बताएका छन्।

विराटनगर । २०७९ सालको स्थानीय तह निर्वाचनमा हर्कराज राई (हर्क साम्पाङ) धरानका उम्मेदवार थिए । त्यसबेला उनलाई चुनाव प्रचारमा सघाउने केही मानिस मात्रै अघिपछि थिए, ह्यान्ड माइक लिएर आफैं प्रचारमा खट्थे ।

साम्पाङलाई त्यसबेला ठुला पार्टीका नेता, कार्यकर्ता उल्याउँथे र निर्वाचन जित्नेको त कल्पना नै गर्दैन थिए । तर, उनले सानदार तरिकाले कांग्रेस–माओवादी गठबन्धनका साथै एमालेका उम्मेदवारलाई पराजित गरे ।

त्यसपछि श्रम अभियान निरन्तर चलाएर चर्चा कमाएका हर्क अहिले श्रम संस्कृति पार्टी खोलेर आगामी निर्वाचनमा ठुलो दल बन्ने कसरतमा छन् । कोशी प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधिमूलक अभियान चलाइसकेका उनको पार्टीका प्रवक्ता सत्य घले भन्छन्, ‘१४ जिल्लाबाटै हामीले जित्ने हो ।’

घलेले भनेजस्तै साम्पाङ पुगेका कार्यक्रमहरूमा मानिसको भिड सामान्य राजनीतिक कार्यक्रमको जस्तो छैन । डाँडाकाँडा, घरका छत, बार्दली र साँघुरा गल्लीहरूमा समेत मानिसहरू ओइरिएर साम्पाङ सहभागी र्‍याली तथा सभाहरूमा सहभागी भएका छन् ।

विशेषगरी पहाडी भूगोलमा यति ठुलो जनसहभागिता जुट्नुले पुराना दलहरूको संगठनलाई साँच्चै चुनौती दिएको पुष्टि गर्छ । मानिसहरू स्वःस्फूर्त रूपमा हर्कलाई हेर्न र सुन्न आएका जस्तो देखिन्छ । यसले साम्पाङको प्रभाव केवल धरान वा तराईमा सीमित नभएर पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङको कुना–कन्दरासम्म विस्तार भइसकेको देखिन्छ ।

harkajee2

भिडमा युवायुवतीहरू मोबाइल हातमा लिएर भिडियो खिचिरहेका देखिन्छन् भने पाका उमेरका नागरिकहरू पनि ध्यानपूर्वक सुनिरहेका देखिन्छन् । यसरी देखिएको उत्साह र सहभागीहरूको ‘बडी ल्याङ्गवेज’ले उनीहरू साम्पाङप्रति आशावादी रहेको संकेत गर्छ । राजनीतिक विश्लेषकले भनेजस्तै मतदाता अब पुराना दलको ‘हनुमान’ हैनन्, विकल्पको खोजीमा रहेका तस्बिरमा झल्किएको छ ।

प्रायः सबै सभा तथा र्‍यालीमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । कुनै पार्टीको झन्डाभन्दा देशको झन्डा बोकेर हिँड्ने हर्कको शैलीले सर्वसाधारणलाई आकर्षित गरेको देखिन्छ । साम्पाङको सादगी र उनलाई सुन्न लालायित भिड हेर्दा उनी ग्रासरुटका नेता बनेको देखिन्छ ।

साम्पाङको यो अभियानले पूर्वका ठुला दलहरू एमाले, कांग्रेस र माओवादीलाई झस्काइदिएको छ । एक हिसाबले भन्ने हो भने ती दलका उम्मेदवारहरू डराएका छन् । ‘हैन हाम्रा कार्यकर्ताहरू नै माटो भन्दै लागिरहेका छन् । गाह्रो पार्छजस्तो देखियो,’ एमाले खोटाङका एक नेताले भने ।

नेपाली कम्युनिस्ट पार्टी भोजपुरका एक नेताले पनि पहाडी जिल्लामा आफूहरूलाई अप्ठ्यारो पार्ने देखिएको बताए । ‘केही न केही प्रभाव देखिएको छ । निर्वाचनको समयसम्म यस्तै तरिकाले अगाडि बढ्ने हो भने हामीलाई गाह्रो पर्ने देखिन्छ,’ उनी झस्किए ।

कांग्रेस झापाका एक नेताले आदिवासी जनजाति मतदाताहरू हर्क साम्पाङतिर डोहोरिरहेका बताए । ‘हाम्रा नेता आउँदा मान्छे जाँदैनन् । साम्पाङतिर बिनाप्रचार कुदिरहेका छन्,’ उनले भने । साम्पाङले पूर्वमा अभियान सकेर अब पश्चिमतिर लाग्ने तयारी गरेका छन् । उनले मंसिर २० गते हेटौंडा, २१ गते चितवन, २२ गते काठमाडौँ र २३ गते काभ्रेमा कार्यक्रम गर्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘अब पश्चिमतिर मिलाएर आउँछु ।’ उनले आफ्नो अभियानलाई देशव्यापी लाने बताएका छन् ।

harkajee4

श्रम संस्कृति पार्टीका प्रवक्ता घलेले कोशी प्रदेशका अधिकांश जिल्लामा अभियान सफल भइसकेको र जनलहर उत्साहजनक रहेको दाबी गरे । ‘कोशीको दुईटा जिल्ला ओखलढुंगा र सोलुखुम्बु बाँकी छ, अर्को महिना हुँदै छ । अरू सबै जिल्ला सकिसक्यो,’ उनले भने, ‘प्रदेश १ (कोशी) मा हामी पहिलो हुन्छौँ । १४ जिल्लामै हाम्रा सांसद जित्ने अवस्था छ ।’

धनकुटा स्थायी घर भएका राजनीतिक विश्लेषक हेमराज भण्डारी हर्कको अभियानले पुराना दलहरूलाई ठुलो चुनौती थपिएको बताउँछन् । हर्कको अभियानले पुराना दलहरूको गढ भत्काउने उनको दाबी छ । ‘पूर्वमा अहिलेसम्म जसरी उहाँ जानुभएको छ, त्यसलाई हेर्दा पुराना पार्टीहरूलाई राम्रै धक्का पुर्‍याउने देखिन्छ । केही ठाउँमा पुराना पार्टीहरूको गढ भत्किन्छ,’ भण्डारीले भने ।

उनले धनकुटालगायत पहाडी जिल्ला र पूर्वका जनजाति बाहुल्य क्षेत्रमा साम्पाङको मनोवैज्ञानिक प्रभाव गहिरो परेको बताए । ‘उहाँहरूले छोटो समयमा जो विस्तार गरिरहनु भएको छ, त्यो राम्रै देखिन्छ । हर्कजीको नामको एउटा ब्रान्ड– श्रम गरौँ देश बनाऔँ भन्ने सिम्बोलिक नाराले मान्छेलाई तानेको छ । ठुला कुरा नगर्ने, बरु श्रम गरेर देश बनाउने भन्ने म्यासेजले काम गरेको छ,’ भण्डारीले भने ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल पनि हर्क साम्पाङको उदय र अभियानले आगामी निर्वाचनमा परम्परागत नतिजा उल्ट्याउन सक्ने संकेत गरेको बताउँछन् । ‘कोशी प्रदेशको विभिन्न ठाउँहरूमा साम्पाङको अभियान राम्रै देखिएको छ । यसपटक मतदाता कुनै पार्टीप्रति पनि प्रतिबद्ध भएर यो यसको गढ हो भनेर बस्ने अवस्था छैन । मतदाता कतै पनि जान सक्ने अवस्था छ अहिले,’ पोखरेलले भने ।

harkajee

उनले झापा र पहाडी जिल्लाहरूमा कांग्रेस, एमाले र माओवादीको पकड मानिने क्षेत्रहरूमा समेत हर्क साम्पाङको अभियानले प्रभाव जमाएको बताए । ‘कुनै पार्टीको पनि गढ अबचाहिँ गढ रहँदैन । पूर्वका जनजातिहरूको बिचमा र तराईमा आइपुग्दा झापामा पनि राम्रै देखिएको छ,’ उनले थपे ।

अहिलेका ठुला पार्टीहरूले आगामी निर्वाचनमा पनि पुराना अनुहार (टेस्टेड नेता) दोहोर्‍याएमा नतिजा भयानक हुन सक्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको संगठित सदस्य नै भोट हाल्न आएन भने के हुन्छ ?

पार्टीहरूले उम्मेदवार उठाउँदा युवालाई उठायो भने एउटा कुरा, नत्र पहिल्यै मन्त्री भइसकेका टेस्टेड मान्छेहरू नै आफैँ अघि सरे भनेचाहिँ खैरियत होलाजस्तो लाग्दैन । हर्कको अभियानले ठुलै झड्का लाग्न सक्छ ।’

harkajee3

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com