समाचारसामाजिक सञ्जाल

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरू रहेका छन् । ट्रमा सेन्टरमा मात्रै उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् ।

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट बद्री रिजालले दिएको जानकारी अनुसार उपचारका लागि ल्याइएका ५० जना घाइतेमध्ये ६ जनाले ज्यान गुमाएका हुन् ।

रिजालका अनुसार अहिले त्यहाँ तीनजनाको आईसीयुमा उपचार भइरहेको छ। दुईजनाको ओटीमा अपरेशन भइरहेको छ।
रिजालका अनुसार अझै घाइते ल्याउने क्रममा जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ ।

अहिलेसम्म सबैभन्दा धेरै ट्रमा सेन्टरमा ६ जनाले ज्यान गुमाउँदा निजामती अस्पतालमा ३ जनाको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजना, त्रिवि शिक्षण अस्पतालमा एकजना र बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि एकजनाले ज्यान गुमाएका हुन् ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूलाई अहिले विभिन्न अस्पतालमा लाने क्रम जारी छ।केहीलाई अस्पताल पुर्‍याउँदै ज्यान गइसकेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com