अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसीलाई बताएअनुसार अमेरिकाले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मार्फत युक्रेनलाई हतियार पठाउने सम्झौता गरेका छन्। उनले नेटोले ती हतियारको “सय प्रतिशत” खर्च बेहोर्ने पनि बताएका छन्।
राष्ट्रपति ट्रम्पले दूरवाणी अन्तर्वार्तामा भने, “हामी नेटोलाई हतियार पठाउँदैछौं, र नेटोले ती हतियारको सय प्रतिशत तिर्दैछ। हामी नेटोलाई पेट्रीयट क्षेप्यास्त्रहरू पठाउनेछौं, र त्यसपछि नेटोले ती युक्रेनमा वितरण गर्नेछ।”
पेट्रीयट एउटा शक्तिशाली हवाई सुरक्षा प्रणाली हो जसले क्षेप्यास्त्रर विमानहरूलाई रोक्न सक्छ।
यसअघि बिहीबार नेटोका महासचिव मार्क रुटेले ट्रम्पसँग कुरा गरेका थिए। रुटेले ‘एक्स’ मा लेख्दै युक्रेनलाई थप गोला बारुद र हवाई सुरक्षा आवश्यक रहेकोमा जोड दिएको बताएका छन्। उनले युक्रेनलाई आवश्यक सहयोग जुटाउन सहयोगीहरूसँग नजिकबाट काम गरिरहेको पनि जानकारी दिएका छन्।
अमेरिकी विदेशसचिव मार्को रुबियोले पनि युरोपका देशहरूसँग युक्रेनलाई पेट्रीएट प्रणाली उपलब्ध गराउने बारे सक्रिय रूपमा कुराकानी भइरहेको बताएका छन्। उनले कुनै देशले आफ्नो पेट्रीयटयुक्रेनलाई दिए राम्रो हुने बताए।
राष्ट्रपति ट्रम्पले सोमबार रुसबारे “महत्वपूर्ण घोषणा” गर्ने संकेत पनि दिएका छन्। उनले रुससँग निराश भएको बताएका छन् तर थप विवरण भने खुलाएका छैनन्।