Site icon Hamropusta

ट्रम्पलाई टक्कर दिन मस्कद्वारा ‘अमेरिका पार्टी’ घोषणा

अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन्।

‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ’, मस्कले शनिबार एक्समा लेखेका छन्, ‘आज तपाईंहरूलाई आफ्नो स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ।’

यसअघि ट्रम्प प्रशासनकाे सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए। त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो।

उक्त विधेयक अमेरिकाका दुवै सदनबाट पास भएपछि शुक्रबार ट्रम्पले हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दल घोषणा गरेका हुन्।

सन् २०२४ को निर्वाचनमा मस्कले ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन अर्बौं डलर खर्चेका थिए। ‍त्यसैकारण ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाउँदै मन्त्रिपरिषद् बैठकमा समेत सहभागी गराएका थिए। तर ‘बिग ब्युटिफुल बिल’मा विवाद परेपछि यी दुईबीचको मित्रता अहिले तिक्ततामा परिणत भएको छ।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर यस विषयमा ट्रम्पबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

Exit mobile version