आजको पत्रपत्रिकाबेलाको बोलीसमाचार

रास्वपा-बालेनसँग सहकार्य गर्न किन हच्किए जनमत र नाउपा नेपाल ?

आइतबार, १३ पुस २०८२, १८ : ०५

काठमाडौँ । आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच सातबुँदै सहमति भयो । जसअनुसार अब बालेन रास्वपामा प्रवेश गर्नेछन् र आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।

आफू दलीय राजनीतिमा प्रवेश गर्नुअघि बालेनले विभिन्न नेताहरूसँग छलफल गरेका थिए । मधेस केन्द्रित वैकल्पिक दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशम चौधरी, निवर्तमान सांसद डा. अमेरशकुमार सिंह, सामाजिक अभियन्ता सुरेन्द्र चौधरी लगायतसँग पनि बालेनले बैठक गरेका थिए । उज्यालो नेपाल पार्टीका संरक्षक ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेन र रास्वपा सभापति रवि लामिछानेले छलफल गरेका थिए ।

तर तीन दिनको घनीभूत वार्तापछि बालेन र रास्वपाबिच मात्रै एकताको सहमति भयो । मधेस केन्द्रित दलहरूसँग भने मधेसको एजेन्डामा कुरा नमिल्दा सहकार्य हुन नसकेको बताइन्छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मेयर शाहले आफूलाई एकताका लागि आग्रह गरेको तर आफूहरू त्यसको पक्षमा नरहेको बताए । ‘हाम्रो कुरा रविजी र बालेनजीसँग भएको हो, उहाँहरुले सँगै जाऔं भन्नुभयो तर हामी एकताको पक्षमा छैनौं । बरु कार्यगत एकता वा सहकार्यको विषयमा छलफल गर्न सकिन्छ भनेको छु,’ राउतले भने । कार्यगत एकता वा सहकार्यका लागि अझै समय रहेको उनले बताए ।

‘रवि र बालेन मधेसको एजेन्डामा अलि स्पष्ट देखिनुभएको छैन । हिजो भएको सम्झौतामा पनि त्यो कुरा स्पष्ट छैन । त्यस्तोमा एकताको कुरा झन् सम्भव छैन,’  राउतले भने ।

ck raut 3u0dlawtqf KSLoDwSdF1

नागरिक उन्मुक्ति पार्टी नेपालका उपाध्यक्ष अब्दुल खानले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीले कुराकानी गरेको तर एजेन्डामा कुरा नमिलेकाले अगाडि नबढेको बताए । वैकल्पिक शक्ति बनाउने कुरा भएपनि मधेसबारे स्पष्ट एजेण्डा नहुँदा कुरा अगाडि नबढेको उनले बताए । यद्यपि सहकार्यको सम्भावना बाँकी नै रहेको उनको भनाइ छ ।

रास्वपा सभापति लामिछाने र मेयर शाहसँग बैठक गरेका विघटित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मधेसको मुद्दामा स्पष्ट नभएका कारण अहिल्यै सहकार्य हुन नसकेको बताए । ‘उहाँहरुको आग्रह परिवर्तनकारी शक्ति सबै एक ठाउँमा आएर देशका लागि केही गरौं भन्ने थियो । तर मधेसको मुद्दा र एजेन्डामा उहाँहरु स्पष्ट नभएकाले अहिले नै एक ठाउँ रहन सकेनौं ।’

सिंहले अगाडि भने, ‘उहाँहरुको साथमा गएपनि एउटा चुनाव जित्ने कुरा हुन्थ्यो, म जित्थे पनि । तर म एक जनाले जितेर के हुन्थ्यो, म जुन ठाउँबाट राजनीति गरिरहेको छु जहाँको छु त्यसकै कुरा समेटिएको छैन भने त्यहाँ किन जानु भन्ने हो ।’ रास्वपा र बालेनबिचको सम्झौतामा मधेस र संघीयताबारे उच्चारण नै नभएकाले आशंका उत्पन्न गराएको सिंहले बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले रास्वपा र बालेनबिचको सम्झौताले मधेसको हकमा विभिन्न आशंका उब्जाएको बताए । ‘बालेन र रास्वपाबिच मध्यरातमा जे सम्झौता भएको छ त्यो शंकास्पद छ,’ लाले भने, ‘त्यसमा संघीय लोकतान्त्रिक गणतन्त्रको चर्चा छैन, त्यसको बारेमा उहाँहरुले आफ्नो धारणा स्पष्ट पार्नुभएको छैन, त्यसले आशंका उब्जाएको छ ।’

जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले त रास्वपा-बालेन सम्झौतालाई प्रतिगामी नै भनेका छन् । सातबुँदे सम्झौतामा संघीयता, समानुपातिक समावेशिता र गणतन्त्रको शब्द पनि उचार नगरेको भन्दै उनले यो सम्झौता जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको भावना विपरीत रहेको टिप्पणी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com