डाक्टरको लापरवाहीले संक्रमितको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, मृतकका दुई छोरा पक्राउ

२०७८ बैशाख २९, बुधबार
पढ्ने समय : 2 मिनेट

कोभिड–१९ विशेष अस्पताल जनकपुरमा चिकित्सकको लापरबाहीका कारण एक कोरोना संक्रमितको मृत्यु भएको आरोप परिवारले लगाएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगा बस्ने करिब ५३ वर्षीय सुखचैन महतो रहेका छन् ।

कोरोना संक्रमित भएपछि उपचारका लागि कोभिड विशेष अस्पताल पुगेका महतोको समयमै उपचार हुन नसक्दा मृत्यु भएको मृतकका छोरा निरज महतोले आरोप लगाएका छन् ।

‘मैले बुबालाई थप उपचारका लागि जलेश्वरबाट जनकपुर ल्याएँ छोरा निरजले भने, ‘तर, यहाँ अस्पतालमा बिरामीको बारेमा चासो लिने न कुनै नर्स थिए, न कुनै  डाक्टर नै । कोही बिरामीलाई हेर्न समेत आएनन्’

बुबालाई अक्सिजनको आवश्यकता भएपनि अस्पतालमा अक्सिजन लगाइदिने समेत कोही नभएको निरजले गुनासो गरे।

‘केही बेरपछि अस्पतालकै एकजना आएर अक्सिजनको सिलिन्डर दियो, तर सिलिन्डर दिएपनि त्यसमा माथिको पाइप थिएन’ निरज भन्छन् । आफूले बाहिर गएर अक्सिजनको पाइप किनेर लिएर आउँदा बुबाको मृत्यु भइसकेको उनले सुनाए ।

बिरामीको  मृत्यु पश्चात निरज , उनका दाइ र तथा अन्य बिरामीका कुरुवाहरूले आक्रोश पोख्दै अस्पतालमा तोडफोड गरे।

छोरा निरजका अनुसार बिहानैदेखि सबै बिरामीको त्यस्तै अवस्था भएका कारण अन्य बिरामीका कुरुवा पनि आक्रोशित थिए।

आक्रोशित भीडले कोभिड अस्पतालका एक कर्मचारीमाथि हातपातसमेत गरेका थिए ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले स्वास्थ्यकर्मीलाई हातपात गर्दै आइसियू कक्षमा तोडफोड गरेको बताए।

तोडफोडबाट आइसियू कक्षका ३ वटा भेन्टिलेटरमा क्षति पुगेको डा.यादवको भनाइ छ । उनले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप गलत रहेको जिकिर गरे ।

‘बिरामी सिकिस्त अवस्थामै जलेश्वर अस्पतालबाट आएका थिए’ उनले भने, ‘चिकित्सकले बिरामीको रिपोर्ट पनि हेर्न नपाउँदै मृत्यु भयो ।’ मृतकका आफन्तले बलजफ्ति आइसियू कक्षमा बिरामी राखेको १५ मिनेट नबित्दै उनको मृत्यु भएको दावी यादवको छ ।

बिरामीको मृत्यु हुनासाथ मृतकका छोराहरूले  स्थानीयको सहयोगमा ड्यूटीमा रहेका ४–५ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र इँटा प्रहार गरी ३ वटा भेन्टिलेटर तोडफोड मेसु यादवले आरोप लगाए।

कोभिड अस्पतालमा केही व्यक्तिहरुले तोडफोड गरिरहेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मृतकका छोराहरु मनोज महतो र पप्पु महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यता, मृतकका दुई छोरा प्रहरी नियन्त्रणमा रहेको र कान्छो छोरा एक्लै अस्पतालमा रहेकोले मृतक बाबुको शव उडाउन समेत समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page