मनकारी बेहनाः भेरी अस्पतालमा अक्सिजन किन्नकालागि बेहनाद्वारा रु दुई लाख सहयोग

२०७८ बैशाख १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा अक्सिजन ग्यास सिलिण्डर खरिदका लागि नेपालगञ्ज उपमहानगरपालिका–४ का अध्यक्ष सफिक बेहनाले रु दुई लाख सहयोग गर्नुभएको  छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावलाई ध्यानमा राखेर भेरी अस्पतालले सहयोगका लागि अपिल गरेपछि आफूले व्यक्तिगत तर्फबाट दुई सय सिलिण्डर अक्सिजन खरिदका लागि सो रकम सहयोग गरेको अध्यक्ष बेहनाले जानकारी दिनुभयो ।

मिडिया र सामाजिक सञ्जालमार्फत अस्पतालमा अक्सिजन अभावका कारण बिरामीलाई समस्यामा भइरहेको थाहा पाएपछि आफूले सो रकम सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले मुस्लिमहरुको पवित्र महिना रमजान चलिरहेको र  यसमा गरिब असहायहरुलाई दान दिने चलनअनुसार आफूले अक्सिजन खरिदका लागि सहयोग गरेको बताउँदै यस्ता मानवीय कार्यमा सहयोग गर्न सम्पूर्ण मुस्लिम समुदायलाई आग्रहसमेत गर्नुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा अक्सिजन प्राप्त गर्न नसकेर छटपटाएर बिरामी मर्न सक्ने अवस्था आएको बताउँदै यस्तो अवस्थामा मनकारी बेहनाले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । अस्पतालमा दैनिक रु तीन लाख बराबरको अक्सिजन खपत हुने गरेको बताउँदै उहाँले अब अस्पतालको स्रोतले धान्न नसक्ने अवस्थामा रहेकाले यसमा सबैको हातेमालो आवश्यक रहेको छ भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरका नगर प्रमुख डा धवलशम्शेर राणाले कोरोनाका कारण नेपालगञ्जमा विकराल अवस्था सिर्जना भइरहेकाले यो महामारीलाई सबैले एकजुट भएर सामना गर्नुपर्ने बताउनुभयो ।

रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page