आहा ! रारा गोल्डकप शनिबारदेखि, पहिलो खेलमा सहारा र एपीएफ भिड्ने

२०७७ चैत्र २०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

कोरोनाबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना हुने गरी १९ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । १६ हजार ५ सय सिट क्षमताको पोखरा रंगशालाको प्यारापिटको सिट प्लानिङ गर्दा सुरुमा ५० प्रतिशत मात्र सिट प्लानिङ गरिने भएको सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

उनले भने, “कोरोनाको कहर अझै जारी रहेकोले हामीले आवश्यक स्वास्थ्य मापदण्डलाई सकेसम्म पालना गछौं, दर्शकहरुलाई मूल गेटमै मास्क वितरण गरी सेनिटाइजर गरी रंगशाला प्रबेशको व्यवस्था गर्छौं ।” प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोसिएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लब र आयोजक सहारा क्लबसहित ८ टोलीको सहभागिता हुने र प्रतियोगिताकोे तयारी पूरा भएको अध्यक्ष थापाले बताए । शनिबार आयोजक सहारा क्लव र विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफबिच प्रतिस्पर्धा हुने भएको छ ।
गत वर्षको १८ औं संस्करणमा १२ टिमबाट घटेर १० टिमको सहभागिता रहेको आहा रारा गोल्ड कपमा यस बर्ष भने ८ टिममात्र सहभागि हुने भएका हुन् । कोेरोनाले गर्दा अधिकांश क्लबहरुले फुटवल खेलाडीहरुलाई तयारी अवस्थामा राख्न नसकेका कारण आफूहरुले चाहेर पनि ८ भन्दा बढी टिम यसपाली सहभागि गराउन नसकेको क्लबका महासचिब रामजी प्रसाद अधिकारीले बताए ।

पोखरा रंगशालामा यही चैत २८ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैयाँ साथमा मेडल प्रमाण पत्र प्राप्त गर्नेछ छ । गत वर्षको विजेता मनाङ मर्यास्याङ्दी क्लब हो भने उपविजेता नेपाल पुलिस क्लब थियो ।
२०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएकोे छ । उक्त प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको महासचिब रामजी प्रसाद अधिकारीले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने क्लवले जनाएको छ ।

यस वर्षदेखि उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार प्रदान गरिने भएको छ । उनीहरुलाई उक्त अवार्डको साथमा जनही नगद २५ हजार समेत प्रदान गरिने भएको छ ।
क्वार्टरफाइनलको खेल अवलोकनका लागि दर्शकले १ सय ५०, सेमिफाइनलमा २ सय र फाइनल खेलको लागि दर्शकले ३ सय रुपैयाँ तिर्नुपर्ने क्लबले जनाएको छ । प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरी क्लबले २ हजारमा सिजनल टिकट उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय