विराट गोल्डकप फुटबलको उपाधि एपिएफलाई

२०७८ बैशाख ५, आईतवार
पढ्ने समय : < 1 मिनेट

मोरङको विराटनगरमा सम्पन्‍न छैठौं विराट गोल्डकप फुटबलको उपाधि विभागिय टोली एपिएफ क्लबले जितेको छ । गएराति विराटनगरस्थित सहीद रङ्गशालामा भएको खेलमा भारतको पञ्‍जाब पुलिसलाई १-० ले हराउँदै एपिएफले उपाधि जितेको हो ।

एपिएफको जीतमा प्रदीप लामाले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको १०औं मिनेटमा गोल गरेका थिए ।

एपिएफले क्‍वाटरफाइनलमा अर्काे विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्दै अघि बढेको एपिएफले सेमिफाइनलमा आयोजक विराटनगर महानगरपालिकालाई ३–२ ले स्तब्ध बनाउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

पहिलो पटक विराट गोल्डकपमा सहभागी पञ्जाब पुलिसले गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अघि बढेको थियो भने क्‍वाटरफाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० र सेमिफाइनलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले पराजित गरेको थियो ।

विराट गोल्डकपको च्याम्पियन बनेको एपिएफले उपाधिसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page