बयलपाटा सुदुर पहाडकै पहिलो ५० शैया अस्पताल !
सुदूरपश्चिम प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै अछामको बयलपाटा अस्पताललाई भाद्र १ गतेदेखि प्रदेश मातहतको ५० शैयाको सुविधा सम्पन्न अस्पतालको रूपमा सञ्चालनमा ल्याउने भएको छ।
सामाजिक विकास मन्त्री मेघराज खड्काको पहलमा भएको यो निर्णयले अस्पतालको दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्दै ७०% हाल कार्यरत कर्मचारीलाई समावेश गर्ने र बाँकी ३०% खुल्ला प्रतिस्पर्धाबाट भर्ना गरिने व्यवस्था गरिएको छ।
प्रदेशकै चौथो र सुदूरपहाडको पहिलो यस्तो अस्पतालका रूपमा बयलपाटामा अब विशेषज्ञ सेवा, सर्जरी, मातृ–शिशु स्वास्थ्य लगायत सेवा विस्तार हुने जनाइएको छ।
१७ वर्षदेखि ‘न्याय हेल्थ’सँग साझेदारीमा सञ्चालित अस्पताल अब सरकारी संरचनामा प्रवेश गरेपछि नागरिकले गुणस्तरीय र निःशुल्क सेवा पाउने आशा गरिएको छ।
यो निर्णय सुदूरपश्चिममा स्वास्थ्य अधिकारको प्रत्याभूति र संवैधानिक दायित्व कार्यान्वयनको दिशामा ऐतिहासिक कदम भएको बताइएको छ।