घर परिवारको लागि भगवानको रुप बनिन जानकी पुजार।

बैतडी –
बैतडीको सिगास गाउँपालिका—४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्याए। स्वास्थ्यका सबै सूचकहरू सामान्य हँदाहँदै प्रसवको असैह्य पीडा सहेर राति ९ बजे शिशुलाई जन्म दिइन्।
तर, शिशुको अवस्था सामान्य देखिएन। सामान्य अवस्थामा जस्तै शिशु रुने, हात खुट्टाहरू चलाउनेलगायतका लक्षण देखिएन। श्वास निकै सुस्त चलेको अवस्था थियो। सुत्केरी गराएकी सोही स्वास्थ्य संस्थाकी अनमी जानकी पुजाराले गाउँपालिकाको स्वास्थ्य शाखामा शिशुको अवस्थाबारे जानकारी गराइन्। शिशुको अवस्था निकै नाजुक रहेकाले तत्काल अस्पताल लैजानुपर्ने थियो। अस्पताल लैजान माथिल्लो निकायमा पहल गरिदिन उनले अनुरोध गरिन्।
रातिको समय भएकाले हेलिकप्टरबाट उद्धार गर्न सक्ने अवस्था नभएको भन्ने जानकारी अनमी जानकीले पाएपछि झनै आपत् आइलाग्यो। शिशुलाई अस्पताल लैजान ग्रामीण सडकसम्म पुर्याउन नै करिब ४ घण्टा लाग्ने गर्छ। त्यो पनि सम्भव भएन। प्रसव पीडामा रहेकी लक्ष्मीको आँखामा आँसु भरिएको थियो।
अस्पताल लैजान असम्भव प्रायः भइसकेपछि अनमी पुजारासँग एकमात्रै विकल्प थियो, कृत्रिम श्वास दिने। स्थल मार्ग र हवाई मार्गको कुनै विकल्प नरहेको अवस्थामा अनमी पुजाराले आफ्नो सेवा अनुभवबाट शिशुलाई मुखबाट श्वास दिन थालिन्।
राति ९ बजेदेखि कृत्रिम श्वास दिन थालेकी पुजाराले लगातार ६ घण्टापछि बिहान ३ बजेको समयमा बल्ल शिशुले सानो स्वर निकालेर रुन थाले। तब पुजाराको ओठमा हाँसो देखियो। शिशुलाई जन्म दिएकी लक्ष्मीको मुहारमा पनि आँसुसँगै मलिन मुस्कान देखियो।
‘स्वास्थ्य सेवामा मेरो ६ वर्षको अनुभव छ। मैले आजसम्म वयस्क तथा वृद्धवृद्धालाई मात्रै कृत्रिम श्वास दिएकी छु। नवजात शिशुलाई दिएको यो पहिलोपटक हो’, अनमी पुजाराले भनिन्। अहिले शिशुको अवस्था सामान्य रहेको अनमी पुजाराले बताइन्।



