Site icon Hamropusta

हिउँमा फसेकाको उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फिर्ता

जुम्ला : तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका नागरिकलाई उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फर्किएको छ।

 

 

गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो।

बिहीबार भएको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी–८ का ३४ जना स्थानीय बासिन्दा हिउँमा फसेको सूचना स्थानीयले दिएका थिए।

स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीलेकको ऐडी ओडारमा १४/१५ जना‚ गाग्री ओडारमा ६/७ जना र खोटी सल्लामा ३/४ मा जना देखिएको बताइएको छ।

बाक्लो हिउँ जमेकाले उनीहरू सहजै रूपमा घर फर्कने अवस्था नभएकाले जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेकी थिइन्।

हेलिकप्टरले ऐडी ओडार, गाग्री ओडार र खोटी सल्लामा फसेका व्यक्तिलाई राहत दिएर फर्किएको तातोपानी-८ का स्थानीय सुरतबहादुर शाहीले बताए।

जडिबुटी (खिरौंलो) कोर्न गएका गएका ३४ जना हिउँमा फसेको खबर आएको थियो। त्यसै सूचनाअनुसार हेलिकोप्टर पठाइए पनि ल्याण्ड गर्ने अवस्था थिएन।

उनीहरू देखिएका ठाउँमा ठाउँमा हेलिकप्टरले राहत झारेर फर्किएको छ।

त्यसैले हिउँमा कति फसेका थिए भन्ने तथ्यांक यकिन गर्न नसकिएको शाहीले बताए।

हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नभएकाले खाद्यान्न पुर्‍याएर आएको हो। यसअघि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको नाम आएको जुम्लाकी प्रजिअ  प्रसाईंले बताइन्।

उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएपछि बाँकी अरू पनि कुशल रहेको अनुमान छ।’

स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका व्यक्तिको उद्धारका लागि आग्रह गरेपछि कर्णाली सरकारले राहत पुर्‍याउन हेलिकप्टर पठाएको हो।

भोकबाट बच्न तत्काल उनीहरूलाई खाद्यान्न खसालेर हेलिकप्टर सुर्खेत फकिएको छ। सम्बन्धित स्थलमा पुगेका सुरतबहादुर शाहीले चिउरा, दालमोठ, चाउचाउ औषधि जस्ता सामग्री झारेको हो।

Exit mobile version