Site icon Hamropusta

जेलेन्स्की र पुटिनबारे कुरा फेरे ट्रम्पले

FILE - In this combination of file photos, President Donald Trump, left, and Ukraine's President Volodymyr Zelenskyy, center, are seen at the Elysee Palace, Dec. 7, 2024 in Paris, and President Vladimir Putin, right, addresses a Technology Forum in Moscow, Feb. 21, 2025. (AP Photo/Aurelien Morissard, left and center, Pavel Bednyakov, right, File)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी र रूसी समकक्षीबारे आफ्नो धारणा फेरेका छन्।

नेदरल्याण्ड्सको हेगमा भएको नेटोको शिखर सम्मेलनको अवसरमा जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले उनीप्रति सहानुभूति देखाएका छन्।

फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा जेलेन्स्कीलाई बेइज्जत हुनेगरी झपारेका ट्रम्पले बुधबारको भेटपछि भने उनलाई राम्रो मान्छे भनेका छन्।

जेलेन्सकीसँग रूस-युक्रेन युद्ध रोक्नेबारे कुरा भयो भनेर पत्रकारले सोध्दा ट्रम्पले भने, ‘होइन, होइन, मलाई उनको अवस्था कस्तो छ भनेर जान्न मन थियो। (कुराकानीका क्रममा) उनी साँच्चै धेरै राम्रो थिए। उनी कठिन लडाइँ लडिरहेका छन्। यो कठिन लडाइँ हो।’

ह्वाइट हाउसमा फेब्रुअरीमा भएको त्यो भनाभनबारे टिप्पणी गर्दै उनले दुई जनाबीच विगतमा अप्ठेरो परिस्थिति आएको बताएका थिए।

अर्कोतर्फ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले उनीबारे भने कडा प्रतिक्रिया दिए।

‘भ्लादिमिर पुटिनले यो युद्ध अन्त्य गर्नुपर्छ। मानिसहरू यस्तो तहमा मरिरहेका छन्, जुन धेरै समयदेखि देखिएको छैन,’ ट्रम्पले भने।

पुटिनले इरान-इसराइल युद्धमा मध्यस्थता गर्ने प्रस्ताव राखेकोबारे पनि उनले कुरा गरे।

Nchl
Ncell

‘त्यो पर्दैन। रूस (युद्ध रोक्ने) बारे सहयोग गर्न सक्नुहुन्छ,’ भनेर पुटिनलाई आफूले जबाफ दिएको उनले बताए।

ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविराम निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।

उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले मे १९ मा पुटिनसँग फोन वार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोन वार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्।

पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेको मानिन्छ।

रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।

जुनको सुरूमा युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसका धेरै बमवर्षक विमानहरू ध्वस्त पारेपछि रूस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता भएको थियो। तर पनि युद्ध रोक्नेबारे केही पनि प्रगति हुन सकेको थिएन।

एक घण्टाको सो वार्तामा रूसले आफ्ना सर्तहरू आधिकारिक रूपमा राख्यो। त्यस अनुसार थप भूभाग छोड्न र आफ्नो सेनाको आकार घटाउन स्वीकार गर्ने हो भने मात्र यो युद्ध रोकिने बताएको भनेर समाचार आएका छन्।

रूसले युद्धविराम नभएर आफूले दीर्घकालीन समाधान खोजेको बताउँदै आएको छ।

युक्रेनले भने रूसी राष्ट्रपति पुटिनले शान्ति नचाहेको आरोप लगाइरहेको छ।

रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले प्रकाशित गरेको सर्तहरूका अनुसार युद्धको समाधानका लागि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमिया प्रायद्वीपलाई अन्तर्राष्ट्रिय रूपमा रूसी भूमि भनेर मान्यता दिइनु पर्नेछ। त्यस्तै रूसले आफ्नो भू-भाग भनेर दाबी गरेको अन्य चार युक्रेनी क्षेत्रहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता खोजेको छ।

रूसले दाबी गरेको चार युक्रेनी क्षेत्रहरूमा हाल पूर्ण रूपमा रूसी सेनाको नियन्त्रणमा छैन। रूसले त्यहाँबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने माग गरेको छ।

युक्रेन तटस्थ देश हुनुपर्ने र नेटोको सदस्यता कहिल्यै लिन नहुने, युक्रेनमा रूसी भाषीहरूको अधिकार संरक्षण हुनुपर्ने, रूसीलाई आधिकारिक भाषा बनाउनुपर्ने र कथित नाजीकरण बन्द गर्नुपर्ने भन्ने माग रूसले पुन: दोहोर्‍याएको छ।

युक्रेनले भने रूसी भाषीहरूमाथि भेदभाव गरेको अस्वीकार गर्छ। युक्रेन नाजीकरण भएको आरोप सारा विश्वले हास्यास्पद ठान्छ।

अर्कोतर्फ युक्रेनले भने आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने सर्त राखेको छ।

उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।

रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ।

रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनले सर्त राखेको छ।

त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रूसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध विस्तारै हटाइनुपर्ने छ। रूसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ। उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

Exit mobile version