बिज्ञान प्रविधिखेलकुदसमाचार

पब्जी विश्वकपको ग्रान्ड फाइनल आजदेखि, कस्तो होला नेपाली टिम होरा ईस्पोर्ट्सको प्रदर्शन ?

नेपाली टिम होरा ईस्पोर्ट्स सहभागी भएको ‘पब्जी मोबाइल वर्ल्डकप २०२५’ (पीएमडब्लूसी) को फाइनल आज (शुक्रबार) देखि सुरु हुँदैछ । यसअघि ग्रुप स्टेज र सर्भाइभल स्टेजबाट छानिएका उत्कृष्ट १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।

१ देखि ३ अगस्टसम्म चल्ने प्रतियोगितामा हरेक दिन ६ ओटा खेल हुनेछन् । सम्पूर्ण १६ ओटै टिमले तीन दिनमा कुल १८ खेल खेल्नेछन् । ती खेलबाट उच्चतम अङ्क ल्याउने टिम नै विजेता बन्नेछ । त्यसैगरी दोस्रो तेस्रो हुँदै १६ औं स्थानसम्मका टिमको निर्धारण हुनेछ ।

ग्रान्ड फाइनलमा प्रवेश गरेसँगै नेपाली टिम होरा ईस्पोर्ट्सले न्यूनतम २५ हजार डलर पुरस्कार राशि सुनिश्चित गरिसकेको छ । यदि १६ औं स्थानभन्दा माथिल्लो स्थान हासिल गरेमा पुरस्कार राशि थपिँदै जानेछ । पहिलो हुने टिमले पाँच लाख डलर पुरस्कार पाउने । यसमा ‘स्म्याश रुल’ नामक नियम छ । यसले गर्दा अन्तिम दिनको कुनै एक खेलबाट पनि कुनै टिम विश्वकपको विजेता बन्न सक्छ । स्म्याश रुलका बारेमा थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

ग्रुप स्टेजमा १३ औं स्थानमा पर्दा नेपाली टिमले २७ हजार ५०० डलर पुरस्कार हात पारेको थियो । त्यस्तै सर्भाइभल स्टेजमा शीर्ष स्थानमा परेसँगै टिमले थप २५ हजार डलर पनि सुरक्षित गरिसकेको छ । अब फाइनल खेलमा नेपालले हासिल गर्ने स्थानका आधारमा कुल पुरस्कार राशि निर्धारण हुनेछ । नेपाली टिम होरा ईस्पोर्ट्समा खेलाडीहरू जिगल, नो फियर, स्काई र स्लिपी रहेका छन् ।

यो प्रतियोगितामा नेपाल पहिलो पटक छनोट भएको हो । यसअघि पब्जी मोबाइल्सले आयोजना गर्ने ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२’ मा नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको थियो । तुलनात्मक रूपमा पीएमजीसीभन्दा पीएमडब्लुसीको पुरस्कार राशि बढी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com