कथा : सहदेवको अन्तिम उज्यालो ।।

दैलेख =
सहदेव कहिल्यै खराब मनको मानिस थिएन। सानो गाउँमा जन्मिएर हुर्केका उनी इमान्दार, मिहिनेती र बोल्नभन्दा काममा भरोसा राख्थे। बाबुआमाको पालनपोषण, गाउँका बुढाबुढीको सम्मान, साथीभाइको प्रेम—सबैको मनमा सहदेव एउटा असल मान्छेको प्रतिक नै थिए। तर जीवन कहिलेकाहीँ राम्रो मानिसलाई पनि कठोर परिक्षा दिन्छ भन्ने अनुभव उनले धेरै ढिलो पुगे मात्र बुझे।
सहदेवले सुरु गरेको कपडा पसल पहिले निकै राम्रै चलेको थियो। गाउँका मानिसले जति विश्वास गर्थे, उतिनै भरोसाले उनी व्यापारमा अघि बढ्थे। तर बजारमा मूल्य घट्यो, सामान भण्डारण बिग्रियो, ऋण बढेर ब्याज चर्कियो। कहिल्यै नसोचेको घाटाले उनको व्यवसाय भताभुंग हुन थाल्यो। सुरुमा उनले गाउँका मान्छेलाई आफू उठ्नेछु भनेर आटको आश्वासन दिए, तर समय बित्दै जाँदा परिस्थिति उल्टो हुँदै गयो।
जसले हिजो “सहदेव त असल छ, मान्छे राम्रो छ, पैसा बिस्तारै दिन्छ” भन्थे त्यही मान्छे आज उल्टै टाठा बनेर उनको घरको ढोका अगाडि घण्टौँ उभिन थाले। “लाज छैन? रिन लिएका मान्छेले भागेर बस्ने ?”
“थुक्क, मान्छे भएर जन्मेर यस्तो कर्म!”
“हामीले मानेर पैसा दियौँ, आज फिर्ता माग्दा कुकुर सरह बिन्ती गर्छ रे!”
शब्दहरू सहदेवका कानमा चिसो धारझैँ बग्थे। असल मान्छे भएर पनि परिस्थितिले उनलाई ‘खराब’ बनाइदिएको थियो—कम्तीमा जन–मानसको नजरमा। गाली सहनुपर्यो, तिरस्कार पचाउनुपर्यो। मान्छे त मान्छे नै रहेछन्—उकै राम्रो दिन सम्झेर सान्त्वना दिन कोही आएन।
यति धेरै पीडा बीच एक दिन सहदेवका बाबालाई अचानक निकै ठूलो रोगले छोयो। बुडेसकाल, कमजोर शरीर—बाबाको ज्यानै जान सक्ने अवस्था थियो। सहदेव मनभरि भय, केही गर्न नसक्ने असहायता र आँखाभरि आँसु लिएर गाउँ–गाउँ धाए। अन्त्यमा एक जना चिनजानका दाइले १००० रुपैयाँ “ठिक छ, बुवाको लागि हो भने राख” भन्दै दिए। सहदेवको मनमा त्यो १००० रुपैयाँ संसारकै ठूलो वरदानजस्तो लाग्यो।
औषधि किन्न उनी दौडिँदै बजार पुगे। पसलबाट बुवाका लागि जरूरी औषधि लिएर घर फर्कँदै गर्दा नजिकै बस्ने साहुनि, जसले पहिले कहिले काहीँ ऋण बोकेकी थिइन्, बाटो रोक्दै ठाडै आवाजमा भनिन्—
“ए सहदेव! तेरो तिमाही ब्याज तिरीसकेको छैनस्। औषधि लिएर भाग्ने? थैली यता दे!”
सहदेव स्तब्ध।
“साहुनि, म औषधि बुवाका लागि लिएर गएको, कृपया यो थैली नखोस्नुस्। रुन्चे आवाजमा उनले भने—“म घर पुगेपछि पैसा मिलाएर तिर्छु।”
तर साहुनिको मुटु ढुंगाकै बनिसकेको थियो।
“मलाई नाटक नदेखा! तिर्ने पैसा छैन, तर औषधि चाहियो? पैसा दे, अनि लैजा!”
उनले औषधिको थैली सहदेवका हातबाट खोसिदिइन्। सहदेवले गाउँभरि बदनाम हुनुपर्ने आफ्नो नियति समातेर साहुनिका अगाडि हातजोडे।
“साहुनि, दया गर्नुहोस्… बुवा सास फेर्नै सक्तिनन्… साँच्चिकै म आज तिर्न सक्छु…”
तर सहदेवका आँसु र बिन्तीसँग साहुनिको कठोर मन पग्लेन।
“रुनु छ भने जाऊ, कोही आउँछन् भनेर नसोच। पैसा दे, औषधि लैजा…!”
सहदेव निराश, भतभती पोलिरहेको मन र खाली हात लिएर घर फर्किए। बाटोभरि आँसु रोक्न सकेनन्। घर पुग्दा बुवा अडेस लागेर सुतेका थिए, सास छिटो–छिटो फेरिँदै थियो।
“बाबा… म ल्याउन सकिनँ… पैसा… उनीहरूले… थैली…”
त्यति मात्र भन्नासाथ बोल्न नसक्ने आवाजमा बुवाको आँखाबाट पनि दुई थोपा आँसु बग्यो।
सहदेव बुवाको हात समाएर रोइरहे—
“म राम्रो मान्छे बन्न चाहें बाबा… तर परिस्थितिले मलाई कसरी खराब बनाइदियो… सबै पराइ भए… बाबाआमा बाहेक कोही साथमा रहेनन्…”
रात निकै ढिलो भयो। सहदेव बुवासँगै बसिरहे। अन्तिम क्षणमा बुवाले अस्फुट स्वरमा भने—
“छोराले… ठूला–ठूला ऋणले… मानिस होइन… मानिसका हृदयहरू बदलिन्छन्… तर तिमी… आफूलाई कहिल्यै खराब सम्झनु… तिमी खराब हैनौ… परिस्थितिले मात्र तिमीलाई छायाँ बनाएको हो…”
आखिरी साससँगै बुवाले सहदेवको हात कसेर छाडे। सहदेवका लागि संसार नै टुट्यो।
अन्तिम सस्कार गर्न सबैले चन्दा उठेपछि बुवाको दाहसंस्कार गरे सहदेव केही दिनसम्म मानिसबाट टाढै रह्यो। गाउँका त्यही मान्छेहरू आए, माया देखाए, सहानुभूति जताए—तर सहदेव अब भावनाले होइन, यथार्थले बाँच्न सिकिसकेको थियो। मान्छेको सुन्दर शब्द भन्दा कठिन बेला गरेको व्यवहार बढी साँचो हुने रहेछ भन्ने उनले बुभे।
दिन बित्दै गए। एकदिन उनले बुवाको पुरानो सन्दूकबाट एउटा चिठी भेटे—बाबाले धेरै अघि लेखेको।
“सहदेव, जीवनले तिमीलाई जति दुख देओस्, मनले दया नछोड। असल मान्छे बन्ने बाटो कठिन छ, तर हार मान्यौ भने संसारले जित्छ।”
चिठी पढ्दै गर्दा सहदेवको आँखाबाट फेरि आँसु झरे। तर यसपटक ती आँसु कमजोरीका थिएनन्—ती आँसु भित्र एक निर्णय जन्मिएको थियो।
आफू असल भएरै अघि बढ्ने।
मानिसका व्यवहारले बदलिएको आफ्नै आत्मालाई फेरि उठाउने।
सहदेवले पुनः एउटा सानो काम सुरु गरे—मजदुरी। बिहानदेखि बेलुकीसम्म उनी इमान्दारीसँग काम गर्थे। केही महिना बित्यो, काम बढ्दै गयो, जो सम्मान हराएको थियो बिस्तारै फर्कन थाल्यो।
त्यसपछि उनले एउटै कुरा सबैलाई भन्थे—
“मानिस खराब हुन्न, परिस्थिति खराब हुन्छ। असल बिर्सनु हुँदैन।”
गाउँले उनलाई फेरि नयाँ सम्मानले हेर्न थाले। तर उनले कहिल्यै बिर्सेनन्– त्यो साहुनिको हातले खोसिएको औषधि, बुवाको अन्तिम सास, र जीवनले सिकाएको कठोर तर अमूल्य पाठ।
लेख.शंकर किशोर अभय
कर्णाली प्रदेश



