Site icon Hamropusta

ओपनएआईलाई टक्कर दिन ‘ग्रोक-फोर’ सबैलाई सित्तैमा उपलब्ध गराउने एलन मस्कको घोषणा

grok 4 xa techpana news 0DFOh6TWvo

एलन मस्कको एआई कम्पनी एक्सएआईले आफ्नो पछिल्लो संस्करण ‘ग्रोक-फोर’ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । हालैमात्र ओपनएआईले जीपीटी फाइभ ल्याएपछि मस्कले यो कदम चालेका हुन् ।

ग्रोक-फोर सार्वजनिक भएको करिब एक महिनापछि यसको पहुँच विस्तार गरिएको हो । सुरुमा यो कम्पनीको ‘सुपरग्रोक’ र ‘एक्स प्रिमियम’ जस्ता सशुल्क योजनाका सदस्यहरूका लागि मात्र उपलब्ध थियो ।

कम्पनीले आइतबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, “सीमित समयका लागि हामीले यसको प्रयोग सीमालाई उदार बनाएका छौँ, ताकि तपाईंले ग्रोक-फोर को पूर्ण क्षमता अन्वेषण गर्न सक्नुहोस् ।”

यो सुविधा विश्वभरका सबै प्रयोगकर्ताका लागि लागु हुनेछ । यद्यपि, एक्सएआईको सबैभन्दा सक्षम भेरियन्ट मानिने ‘ग्रोक-फोर हेभी’ मा भने सशुल्क ग्राहकहरूमा मात्र सीमित रहनेछ ।

ग्रोक-फोरमा के छन् सुविधा ?

ग्रोक-फोर मा ‘अटो’ (Auto) र ‘एक्स्पर्ट’ (Expert) गरी दुई मोडहरू छन् ।

गत हप्ता, एक्सएआईले अमेरिकामा रहेका सबै प्रयोगकर्ताका लागि ‘ग्रोक इमाजिन’ (Grok Imagine) नामक एआई भिडिओ जेनेरेसन सुविधा पनि निःशुल्क गरेको थियो । तर, यो सुविधा सार्वजनिक भएको केही दिनमै विवादमा परेको थियो ।

बीबीसीको एक रिपोर्टअनुसार, कैयौं प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गरेर टेलर स्विफ्ट र सिड्नी स्विनी जस्ता चर्चित कलाकारहरूको आपत्तिजनक भिडिओ बनाएको पाइएको थियो ।

यसैबिच, एलन मस्कले हालै ग्रोक च्याटबटभित्रै विज्ञापनहरू देखाउने योजना सार्वजनिक गरेका छन् । हालै एक ‘एक्स स्पेस’ छलफलमा बोल्दै उनले एआई मोडेलहरू चलाउन प्रयोग हुने ‘महँगो’ जीपीयूको लागत उठाउन थप राजस्व स्रोत आवश्यक रहेको बताएका थिए । मस्कका अनुसार, विज्ञापनहरू ग्रोक एआई च्याटबटको वेबसाइट र मोबाइल एप दुवैमा जवाफ र सुझावहरूको बीचमा देखाइनेछन् ।

Exit mobile version