आजको पत्रपत्रिकानेकपा एमालेनेपाल संघीय समाजवादी पार्टीनेपाली कांग्रेसराजनीतिसमाचारस्थानीय समाचार

आफूमात्र बोलेर ११ औँ महाधिवेशन सक्ने ओलीको रणनीतिलाई कसले दिँदैछ चुनौती ?

 सारांश

  • नेकपा एमालेको ११औँ महाधिवेशन मंसिरमा काठमाडौंमा हुँदैछ, जुन जेनजी आन्दोलनपछिको पहिलो हो।
  • अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोज्दै छन्, तर उनलाई पार्टीभित्रैबाट चुनौती छ।
  • विद्यादेवी भण्डारी र ईश्वर पोखरेलको समूहले ओलीलाई चुनौती दिने तयारी गरिरहेको छ।

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा आयोजना हुँदैछ । जेनजी आन्दोलनपछि हुन लागेको एमाले महाधिवेशनलाई पार्टीभित्र र बाहिरसमेत चासोका साथ हेरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वको सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी विद्रोह भएकोमात्र होइन, जेनजी आन्दोलनकै कारण ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । त्यस यता मूलधारका सबैजसो पार्टीभित्र पुनर्गठन र रुपान्तरणको चर्को बहस भइरहेको छ । कतिपय पार्टी विघटन भएर नयाँ बनेका छन् भने कतिपय पुनर्गठनको गृहकार्यमा लागिरहेका छन् ।

cpn uml chiyapan (7) h6Ayk4be1p

एमालेभित्र पनि पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय चर्को रूपमा उठ्दै आएको छ, तर एमाले अध्यक्ष ओली कुनै पनि हालतमा नेतृत्व छाड्न तयार देखिएका छैनन् । उनले पछिल्ला पार्टी बैठक र सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबाटै पनि उनी तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा रहेको बुझ्न कठिन छैन ।

एमाले सचिवालय बैठकमा ओलीलाई पार्टी पुनर्गठन गर्न र नेतृत्व छाड्न नेताहरूले सुझाव दिँदासमेत उनले अहिलेको अवस्थामा आफूबाहेक एमाले नेतृत्वको विकल्प नदेखेको बताउने गरेका थिए । त्यसो त ओली अध्यक्ष छाड्न तयार छैनन् भन्ने कुरा उनले शुक्रबार काठमाडौँमा दिएको मन्तव्यको एउटा अंशमा प्रस्ट बुझ्न सकिन्छ ।

uml gundu meeting 53C6XZ4Pp2

  • के भनेका थिए ओलीले ?

केही साथीहरूले नेतृत्व चयनको कुरा उठाएको तपाईंहरूले सुन्नुभएकै छ । पार्टीमा पुनर्गठन चाहियो भनेर एकथरी साथीहरू धेरै कराएकाले, अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गरे हुने महाधिवेशन अगाडि सारेका हौँ ।

यसपल्ट हुने महाधिवेशनमा मैले एकतर्फी रूपमा सम्बोधन गर्ने हो । मेरो उदघाटन मन्तव्य आउँछ, त्यत्ति हो । त्यसमा पनि छलफल हुँदैन । काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, कसले गरेको छैन भन्ने कार्यकर्ताहरूले देखेका छन् । को अड्या छ, को लड्या छ, कसले काम गरेको छ, कसले गरेको छैन, कार्यकर्ताहरूले मूल्याङ्कन गर्छन् ।

अहिलेको अवस्थामा त्यति लामो समय महाधिवेशन गर्न आवश्यक छैन । अहिले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेछ । त्यसपछि हामी सुविस्तासँग नीति निर्माणको काम गरौँला, कार्यान्वयन गरौँला । अहिले मुख्य काम विघटित प्रतिनिधि सभा पुनर्स्थापना हो । राष्ट्रिय राजनीतिको चुरो कुरा यही हो । उपलब्धि हासिल गर्नुपर्ने यहीँनिर छ । प्रयास गर्नुपर्ने विन्दु यही हो । हामी अहिले यसैमा जोड दिन्छौँ ।

cpn uml chiyapan (5) 09iGyshP1I

  • ओलीको बोली अन्तिम निर्णय

ओलीको यो अभिव्यक्तिबाट प्रस्ट बुझ्न सकिन्छ– महाधिवेशनमा ओलीले जे भन्छन्, त्यही लागु हुनुपर्छ । जे निर्णय गर्छन्, त्यही पार्टीको नीति हुनुपर्छ र जसलाई नेतृत्वमा ल्याउन चाहन्छन्, त्यसैलाई अरु सबैले सदर गर्नुपर्छ ।

चार वर्ष अघि २०७८ सालमा चितवनको सौराहामा भएको १० औँ महाधिवेशनमा पनि ओलीले यस्तै प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्न चाहेका थिए, तर नेताहरू भीम रावल र घनश्याम भुसाल लगायतले त्यसको विरोध गरे । उनीहरूले ओलीको निर्णयलाई चुनौती दिँदै अध्यक्ष र महासचिवमा उम्मेदवारी दिएका थिए । भलै उनीहरू पराजित बने र ओलीले भनेजस्तै नयाँ नेतृत्व चयन सम्भव पनि भयो, तर चितवन महाधिवेशनभन्दा यो पटकको माहोल भिन्न छ । त्यसवेला रावल र भुसालबाहेक अरु धेरै नेता ओलीको पक्षमा थिए । विद्या भण्डारी फ्याक्टर पनि त्यसवेला मौन प्रायः थियो ।

uml cc (17) FSkPANaOBt

यो पटक ओलीले जे सोचेका छन्, महाधिवेशन त्योभन्दा भिन्न हुने ओली इतरका नेताहरूको बुझाइ छ । एमालेभित्रको विद्या भण्डारी फ्याक्टरमात्र होइन, विगतमा १० बुँदे पक्षधर भनिएका नेता र विगतमा ओलीलाई नै साथ दिएका धेरै नेता उनीसँग असन्तुष्ट छन् । यस्तो अवस्थामा ओलीसँग असन्तुष्ट पक्ष एकै ठाउँमा उभिन सक्ने भएकाले ओलीको तेस्रो कार्यकाल पनि एमालेको नेतृत्व गर्ने चाहना पूरा हुन कठिन बन्न सक्ने देखिएको छ ।

  • कसले दिँदैछ ओलीलाई चुनौती ?

एमालेको पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने चाहना प्रकट गरेकी थिइन्, तर ओलीकै जोडबलमा उनको सदस्यतासमेत खारेज गरियो । एमालेभित्र ओलीको विकल्पमा भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्छ भन्नेहरू ओलीको यो निर्णयबाट थप असन्तुष्ट बने ।

uml cc (6) LXiJ8kI3Wp

नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट हुन् वा विष्णु पौडेल नै किन नहुन्, विद्यालाई रोक्ने ओलीको निर्णयप्रति सन्तुष्ट हुन सकेका छैनन् । त्यसमाथि जेनजी विद्रोहलाई हेर्ने दृष्टिकोणमा पनि ओली र अन्य नेताहरूमा आकाश–पातालको भिन्नता छ । यस्तो अवस्थामा ओलीले दोस्रो वा तेस्रो पुस्तालाई सहजै नेतृत्व पुस्तान्तरण गर्नुपर्नेमा कुनै हालतमा नेतृत्व नछाड्ने मुडमा पुगेपछि उनीविरुद्ध प्यानल नै बनाएर महाधिवेशनमा उम्मेदवारी दिने तयारी भइरहेको नेताहरू अनौपचारिक संवादमा बताउँछन् ।

‘ओली हठ अति भयो । यसले पार्टीलाई निकै ठुलो क्षति हुने देखिन्छ’, एक पदाधिकारीले रातोपाटीसँग भने, ‘मंसिरमा हुने ११ औँ महाधिवेशन अध्यक्ष ओलीले चाहेजस्तो र भनेजस्तो मात्रै हुँदैन ।’

ती नेताका अनुसार पूर्वराष्ट्रपति भण्डारीको समेत सहयोगमा ओलीको काउन्टरमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षका रूपमा अघि सार्ने लगभग निश्चित छ । ‘ईश्वर पोखरेल प्यानलसहित मैदानमा जानुहुन्छ’, ती नेताले भने, ‘अन्य पदाधिकारीको हकमा गोप्य ढंगले छलफल भइरहेको छ । सबै कुरा अहिले बाहिर नल्याउने सहमति छ ।’

अहिले नै धेरै कुरा बाहिर ल्याउँदा शक्ति कमजोर हुन सक्ने भएकाले पनि नेताहरू खुलेर बोल्न चाहदैनन् । ‘जेनजी विद्रोह र त्यसक्रममा भएको ठुलो जनधनको क्षतिमा सरकारको नेतृत्व गरेको व्यक्तिले कुनै आत्मालोचना लिन नपर्ने, कुनै सूचना पनि नपाउने अनि विदेशीलाईमात्र दोष दिएर उम्कन खोज्ने हामीले कस्तो नेतृत्व बोकेर हिँडेका रहेछौँ ?’, एमालेका एक उपाध्यक्ष भन्छन्, ‘जेनजी विद्रोह हुनुमा हाम्रो कमजोरी कहीँकतै छैन भनेर दाबी गर्न सकिँदैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com