आजको तस्बिर

‘सरकारको आधिकारिक पोर्टल’ नेपाल डट जीओभी डट एनपी डेढ वर्षदेखि अलपत्र

नेपाल सरकारको आधिकारिक पोर्टलको ट्याग दिइएको नेपाल डट जीओभी डट एनपी विगत डेढ वर्षभन्दा लामो समयदेखि अलपत्र परेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज भएसँगै सो पोर्टल समेत बेवारिसे बनेको हो ।

२३ जनवरी २०२४ यता कुनै पनि परिवर्तन तथा नयाँ गतिविधि नदेखिने उक्त साइटले लगभग काम समेत गर्न छोडिसकेको छ । वेबसाइट खुले पनि त्यसमा रहेका लिङ्कहरूले काम गर्दैनन् ।

तत्कालीन समयमा नेपाल सरकारका सम्पूर्ण वेबसाइट तथा अनलाइन सेवाको जानकारी एकै स्थानबाट लिन सकिने माध्यम बनेको पोर्टलमा रहेका सबैजसो लिङ्कहरूको म्याद अहिले गुज्रीसकेको छ ।

साइट खुले पनि त्यसको होम पेज, सरकार, बिजिनेस र नागरिक कुनै पनि क्षेत्रका सामग्री देखिँदैनन् । पोर्टलको बिचमा नेपालको नक्सा राखिएको छ । नक्सामा नेभिगेट गर्दा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका साइटहरू देखा पर्थे । तर अहिले भने मधेस प्रदेश, कोशी प्रदेश र गण्डकी बाहेकका प्रदेश पोर्टलहरू खुल्दैनन् ।

सरकारले तत्कालीन एनआईटीसी खारेज गरेपछि त्यसको ठाउँमा एकीकृत डेटा व्यवस्थापन केन्द्र (आईडीएमसी) खडा गरिएको छ । जसलाई विगतको एनआईटीसीले हेर्दै आएका (जस्तैः  जीआईडीसी (सरकारको एकीकृत डेटा सेन्टर) लगायतको व्यवस्थापन तथा सञ्चालन) जिम्मेवारी सुम्पिएको छ ।

यस अनुरूप ‘नेपाल सरकारको आधिकारिक पोर्टल’ को सञ्चालन तथा व्यवस्थापनको कार्य समेत आईडीएमसीकै कार्य क्षेत्रमा आउँछ । तर उक्त संस्थाका कार्यालय प्रमुख मनिष भट्टराईले पोर्टलको कन्ट्रोल आईडीएमसीमै भएको विषय आफ्नो जानकारीमा नरहेको बताए । “यस विषयमा मैले बुझ्नै पर्ने हुन्छ,” भन्दै उनले थप समय मागे ।

तत्कालीन एनआईटीसीका अधिकारीहरू पोर्टलका लागि छुट्‍टै भर्चुअल मसिन समेत रहेको र  त्यसको सम्पूर्ण लग-इन तथा क्रेडेन्सियल हस्तान्तरण गरेर आफूहरू बिदा भएको बताउँछन् । अख्तियारले भ्रष्टाचार मुद्‍दा चलाएपछि त्यहाँका केही कर्मचारी अदालती झमेलामा फसेका छन् भने करारका अधिकांश कर्मचारी बिदा भइसकेका छन् ।

सुरुवाति समयमा नागरिक एप जस्तै नेपाल डट जीओभी डट एनपी पोर्टललाई एकीकृत पोर्टलको रूपमा डिजाइन गरिएको थियो । प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गरिरहेको उक्त पोर्टल पछि एनआईटीसीलाई हस्तान्तरण गरिएको तत्कालीन एक कर्मचारीले सुनाए । “नागरिक एप जस्तै सबै सिस्टमलाई एकीकृत गर्न उक्त साइट खोलिएको थियो । त्यसमा गएपछि स्वदेशी-विदेशी सबै प्रयोगकर्ताले अन्य साइटमा भौतारिनु नपर्ने गरी त्यसको डिजाइन गरिएको थियो । हामी छँदा त्यसमा सरकारका सबै साइटहरू लिंक गरिएका थिए । सायद अहिले अपडेट गर्ने मान्छे नै छैन क्यारे !,” ती कर्मचारीले भने ।

एसियाली विकास बैँकको सहयोगमा जाभामा तयार पारिएको नेपाल सरकारको आधिकारिक पोर्टल अपग्रेड गर्नुपर्ने बेला भइसकेको थियो । तर अपडेट त परको कुरा, अहिलेको व्यवस्थापन तथा मातहतका कर्मचारीलाई सो पोर्टल आफूहरूसँग रहेको विषयको जानकारीसम्म छैन ।

आईडीएमसीका कम्प्युटर इन्जिनियर तथा सूचना अधिकारी अशोक रानाले आफूहरूसँग उक्त पोर्टलको कन्ट्रोल नभएको बताए । तत्कालीन समयमा पोर्टल अपडेटको जिम्मेवारी कन्सल्ट्यान्टको रूपमा रहेका सुमन पोखरेलले हेर्ने गर्थे । उनले डेढ दुई वर्षअघि आफू बिदा हुँदा त्यसको सम्पूर्ण लग-इन क्रेडेन्सियल सबै कम्प्युटर अधिकृत सन्तोषकुमार शर्मालाई हस्तान्तरण गरेको बताए ।

त्यसपछि हामीले यस विषयमा शर्मासँग बुझ्ने कोसिस गर्‍यौँ ।  कुराकानीमा उनले पोर्टलको क्रेडेन्सियल आफूसँग भए पनि अहिलेसम्म कसले हेर्ने भनेर नतोकिएका कारण पोर्टलको सीएमएस नखोलिएको हुनसक्ने जवाफ दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com