मनोरञ्जनरोजगार

रोकिए सुटिङ, हल बन्द, करोडौं लगानी जोखिममा

काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले फिल्म क्षेत्रलाई पनि ठुलो प्रभाव पारेको छ ।

लामो समयदेखि विभिन्न चुनौतीहरूको सामना गर्दै पुनरुत्थानको प्रयासमा रहेको नेपाली फिल्म उद्योगमा जेनजी आन्दोलनले थप गहिरो घाउ लगाएको छ । यस आन्दोलनले फिल्म निर्माण, छायाङ्कन, सम्पादनदेखि प्रदर्शनसम्म हरेक पक्षमा परेको देखिन्छ ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले जेनजी आन्दोलनले फिल्म क्षेत्रमा बहुआयामिक प्रभाव पारेको बताउँछन् । ‘अहिले सुटिङहरू रोकिएका छन्, फिल्म प्रदर्शन स्थगित भएका छन्,’ उनी भन्छन्, ‘कलाकारले काम गर्न पाएका छैनन्, बन्दले गर्दा प्राविधिकले समेत बन्द कोठामा सम्पादनलगायत काम गर्न जान सकेका छैनन् ।’ आन्दोलनको क्रममा भएको तोडफोडलाई गम्भीर समस्याको रूपमा हेरेका निरौलाले तोडफोडको आतंकले त्रसित पारेको उनको धारणा छ ।

फिल्म क्षेत्रले कोरोना, भूकम्पजस्ता विपत्तिपछि भर्खरै उठ्न खोजिरहेका बेला फेरि यस्तो परिस्थिति आउँदा यसको पुनरुत्थानमा थप समय लाग्ने निरौलाको आकलन छ । ‘एक पटक बिग्रिएपछि त्यो माहोल बनाउन समय लाग्छ,’ उनी थप्छन्, ‘अहिलेको माहोलमा मानिसहरू फिल्म हेर्न हलसम्म जान्छन् भन्ने लाग्दैन ।

कलाकार, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का पनि जेनजी आन्दोलनले फिल्म उद्योगमा गम्भीर असर पारेको बताउँछन् । ‘सिनेमा हलहरू चाहिँ बन्द भइराछ । सबैभन्दा ठुलो त फिल्म प्रडक्सन हुन पाएको छैन । रिलिजको तयारीमा रहेका फिल्म रोकिएका छन्,’ खड्का भन्छन्, ‘सिनेमा हलहरू बन्द हुँदा आर्थिक कारोबारमा ठुलो नोक्सानी भएको छ ।’ लगानीकर्ताहरूले लगानी रिर्टन लिने समय फिल्मको प्रचार–प्रसारमा गरेको खर्च खेर गएको उनको भनाइ छ ।

‘कतिले ऋण लिएर फिल्म बनाएका हुन्छन्, ब्याज बढ्ने भयो, प्रचार–प्रसार खर्च बढी लाग्ने भयो, यी सबैले उत्पादकहरूलाई थप मारमा पार्छ,’ खड्का थप्छन्, ‘कतिको रिलिज भइसकेका सिनेमाले लगानी उठाउन पाएनन् । अब भोलि फेरि गरेर रिलिज गर्ने सम्भावना कम हुन्छ ।’ फिल्म क्षेत्र सामान्य अवस्थामा फर्किएपछि पनि गति लिन एक–डेढ महिना लाग्ने र दसैँ–तिहारजस्ता मुख्य व्यापारिक सिजनहरू पनि यसपालि गुमेको उनको भनाइ छ ।

‘दसैँ–तिहारमा त फिल्मको माहोल त बन्दैन । किनभने मान्छे अहिले आत्तिएका छन्,’ खड्काले भने । नेपाली फिल्मको धेरै व्यापार हुने दसैँ–तिहारको समयमै यस्तो स्थिति आउनुले उद्योगलाई ठुलो धक्का पुगेको उनको निष्कर्ष छ ।

फिल्म हल बन्द

Film-Hall

नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । तर देशमा निशेध आज्ञा र कफ्यु भने कायमै छ । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान जटिल परिस्थितिका कारण देशभरमा फिल्म बन्द छ ।

नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले देशको अवस्था सामान्य नभएसम्म चलचित्र घर बन्द रहने बताएका छन् । उनले भने, ‘यस्तो अवस्थामा फिल्म हलमा को आउँछ ?’ देशको अवस्था सामान्य बनेपछि मात्र फिल्म हल खुल्ने उनलाई लागेको छ ।

मुलुकमा १६५ चलचित्र घर छन् ।

रोकियो छायाङ्कन

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले सर्वसाधारण त्रसित छन् । यस्तो अप्ठ्यारो परिस्थितिका कारण छायाङ्कन तयारीमा रहेका र फ्लोरमा रहेका फिल्मको छायाङ्कन प्रभावित भएका छन् ।

केही दिन अगाडि शुभमुर्हूत गरेको सुशील पोखरलले निर्माण गर्न लागेको फिल्म ‘परालको आगो’ २६ भदौबाट फ्लोरमा निस्कने तयारीमा थियो । सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी लगायतको अभिनय रहने फिल्म देशको राजनीतिक परिस्थितिका कारण फ्लोरमा निस्कन सकेको छैन ।

542951438_1505079580495428_7718698079171937364_n_ZHRNZ2SRDw

त्यस्तै रेखा थापा मुख्य भूमिकामा अभिनित फिल्म ‘३६ को आँकडा’ उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन भइरहको छ । सरिब श्रेष्ठ निर्देशक रहेको फिल्मको छायाङ्कन देशको राजनीतिक परिस्थितिका कारण अहिले रोकिएको छ ।

Screenshot_20250812_174336_com_instagram_android_MediaExternalUrlHandlerActivity

जीवन शाही निर्देशक रहेको फिल्म ‘स्त्री’को पनि अहिले छायाङ्कन रोकिएको छ । केही अगाडि काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभसाइत गर्दै छायांकनमा रहेको फिल्म प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् ।

Stree-movie-team-1756387029

दिनेश राउत निर्देशक रहेको फिल्म ‘कुमारी’को पनि छायाङ्कन रोकिएको छ । पाटनको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायाङ्कन सुरु भएको फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्का शीर्ष भूमिकामा छन् ।

kumari_movie

रिलिज स्थगित

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण दुई फिल्मको रिलिज स्थगित भएका छन् । ‘अभिमन्यु’ र ‘जारी २’ ।  क्राइम–थ्रीलर जनरामा बनेको फिल्म ‘अभिमन्यु’मा कामेश्वर चौरसिया लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला, शिशिर वाङ्देल लगायतको अभिनय छ ।

फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा थियो ।

त्यस्तै संविधान दिवसको अवसरमा असोज ३ मा प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’को प्रदर्शन स्थगित गरिएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखेर फिल्मको रिलिज स्थगित गरेको जानकारी दिए । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com