राजनीतिरोजगार

चुनावी परिणामले युवा उत्साहित, सुशासन र रोजगारी मुख्य अपेक्षा

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मतपरिणाम आउँदै गर्दा युवा पुस्तामा नयाँ उत्साह देखिएको छ। जेनजी आन्दोलनपछि भएको यो आम निर्वाचनले मुलुकमा स्थिर सरकार, सुशासन र रोजगारीको ढोका खोल्नेमा युवाहरू विश्वस्त देखिएका छन्। विशेष गरी चितवनका युवाहरूले अहिलेको राजनीतिक परिवर्तनलाई सकारात्मक रूपमा लिँदै अब बन्ने सरकारले जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

भरतपुर महानगरपालिका–१० का पृथ्वी धिताल अहिलेको चुनावी परिणामले युवा पुस्ताका मुद्दालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्छन्। युवाका लागि रोजगारी र सुशासन नै सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै उनले यदि सरकारले यी विषयमा काम गर्न नसके फेरि अर्को विद्रोह हुन सक्ने चेतावनी समेत दिए। जेनजी आन्दोलनपछिको यो निर्वाचनले देशवासीमा भरोसा जगाउनुपर्ने र भ्रष्टाचार नियन्त्रणमा कठोर बन्नुपर्ने उनको भनाइ छ।

त्यस्तै प्यूठानबाट उपचारका लागि चितवन आएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउँछन्। जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता भएको नेतृत्व अहिलेको आवश्यकता रहेको उनले औंल्याए।

भरतपुर–२ क्षेत्रपुरका प्रवास पराजुली पनि अब सुशासनको प्रत्यक्ष अनुभूति हुनुपर्ने धारणा राख्छन्। वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण बनाउन र बन्द रहेका उद्योग कलकारखाना सञ्चालन गरेर आर्थिक समृद्धिमा लाग्न उनले सरकारलाई सुझाव दिए।

भरतपुर–१४ की रचना दाहालले अहिलेको परिवर्तनलाई कसैले पनि कमजोर ठान्न नहुने तर्क गरिन्। जनताले परिवर्तनको पक्षमा दिएको मतलाई सम्मान गर्दै भ्रष्टाचार अन्त्य र आधारभूत सेवामा सुधार ल्याउनु पर्ने उनको माग छ।

समग्रमा युवाहरू अब बन्ने सरकारले चुनावी म्यान्डेट अनुसार देशलाई अगाडि बढाउनेमा आशावादी छन्। युवा शक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै पढ्ने र काम गर्ने वातावरण सिर्जना गर्नु नै नयाँ सरकारको मुख्य चुनौती र जिम्मेवारी हुने देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com