शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलको एक विधालय बन्द

२०७७ चैत्र ३०, सोमबार
पढ्ने समय : < 1 मिनेट

शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञान माविमा पठनपाठन बन्द गरिएको छ।

गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि वैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाले जानकारी दिएको छ।

उपमहानगरपालिकाका स्वास्थ्य तथा शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयका ७ जना शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए।

विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरू शैक्षिक भ्रमणको लागि गएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरू सबै शिक्षकहरू होम-आइसोलेसनमा छन्।

यस्तै, बुटवल १२ ढवाहस्थित ग्लोबल पिसपार्क पनि बन्द गरिएको छ। ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा सञ्चालित पिसपार्कमा रहेका ब्रम्हाकुमारीहरूमा पनि कोरोना संक्रमण देखिएपछि पिसपार्क बन्द गरिएको हो।

भारतबाट फर्किएका ४ जना ब्रम्हाकुमारीमा कोरोना संक्रमण पुष्टि भएको खनालले जानकारी दिए। चैत महिना लागेसँगै रूपन्देही लगायतका क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेको छ।

सोमबारमात्रै बुटवल कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ।
त्यस्तै, सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै हालसम्म कोरोना संक्रमण देखिएकाहरूको संख्या ९ हजार २ सय ५६ पुगेको छ भने ८ हजार ९ सय ७८ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page