आजको तस्बिररोजगार

थप आन्दोलन हुने हल्लाले त्रासमा छन् व्यवसायी, गाडी नबिक्दा थप घाटा

काठमाडौँ । जेनजी आन्दोलनले दसैं–तिहारको मुख्य सिजनमै सुस्ताएको अटो बजारमा नयाँ आन्दोलनको त्रासले थप अन्योल बढाएको छ, व्यापार बढ्ने उत्साह कतै देखिँदैन ।

आन्दोलनले समग्र अर्थतन्त्रमा, विशेषगरी अटोमोबाइल बजारमा, गहिरो प्रभाव पारेको छ । आन्दोलनका क्रममा हजारौँ सवारीसाधनमा भएको क्षतिले एकातिर नयाँ गाडीको माग बढाएको छ भने अर्कोतिर लगातार आन्दोलनका घोषणाहरूले व्यवसायीहरूमा अन्योल र चिन्ता थपेको छ ।

जेनजी आन्दोलनको असरले मुख्य सिजन दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा अटोमोबाइल बजार सुस्त बन्यो । गत साउन र भदौमा दुई अटो शोले चलायमान बनाएको बजार जेनजी आन्दोलनले एक्कासि ध्वस्त बन्यो ।

आन्दोलनका क्रममा टाटा, महेन्द्र, सिजी, हुन्डाई, सुजुकीजस्ता ठुला अटो कम्पनीका शोरुमहरूमा आगजनी र तोडफोडसमेत भएको थियो । त्यसले व्यवसायी र उपभोक्ता दुवैमा असर पुग्यो । अटो शोमा दसैं–तिहारमा खरिद गर्न उपभोक्ताहरूले गरेका बुकिङसमेत रद्द गरे । त्यसले पनि अटो बजार सुस्त बन्न पुग्यो ।

अटो व्यवसायीको व्यापार गर्ने मुख्य सिजनमा आन्दोलनका कारण उपभोक्ताको पनि मनोबल खस्किएको र बजारमा थप अनिश्चितता बढाएको छ । त्यसले गाडी खरिद–बिक्रीमा कमी हुन पुगेको व्यवसायीहरू बताउँछन् ।

तर आन्दोलनमा देशैभर सवारी साधनमा ठुलो क्षति भएकाले अटो बजार पुनः चलायमान बन्ने विश्लेषण हुन थालेका छन् । तर अटो व्यवसायीहरू भने आन्दोलनका क्रममा जलाइएका गाडीको प्रतिस्थापनले बजार चलायमान बनाउने अपेक्षा गरिए पनि त्यसको ठोस प्रभाव नदेखिने बताउँछन् । नयाँ गाडीको माग बढ्ने अनुमानलाई भए पनि त्यस्तो अवस्था नभएको व्यवसायीको भनाइ छ ।

 

सीजी मोटर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले जेनजी आन्दोलनपछि उपभोक्ता र व्यवसायी दुवैको मनोबल निकै खस्किएको बताए । सीजी मोर्टसले आन्दोलनका क्रममा जलेका सवारीको खरानी मात्रै उठाएको अवस्था रहेकाले चाडपर्वमा र अहिले व्यापार गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

उनले भने, ‘मान्छेको मनोबल गिरेको छ । उठाउनै गाह्रो देखिएको छ । अहिले गाडी किन्ने विषयमा सोध्दा अधिकांशले अहिले नगरौँ, पछि हेरौँला भन्ने जवाफ दिन्छन् ।’

सीईओ सिवाकोटीले पछिल्लो अटो बजारको अवस्था निकै नै सुस्त बनाएको जानकारी दिए । ‘अवस्था यति नाजुक छ कि बजार खरानी भएको छ र अब त्यही खरानीबाट मल बनाउनुपर्ने अवस्था छ,’ उनले निराशा व्यक्त गरे ।

त्यस्तै, फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले आन्दोलनपछिको बजार सुस्त रहनुको मुख्य कारण अनिश्चितता भएको बताए । ‘बजार सुस्त छ, किनभने के हुनेछ भनेर कसैलाई थाहा छैन । फेरि आन्दोलन होला कि, केही होला कि भन्ने अनिश्चितता छ,’ उनले भने ।

आन्दोलनको कारण गाडी किन्ने योजनामा रहेका दुवैथरी ग्राहकले आफ्नो योजना सारेकाले व्यापार सुस्त रहेको गोल्छाले धारणा राखे । ‘बजार ठप्प नै भने नभएको छैन । नबिकेको होइन, गाडी बिकिरहेको छ, तर एकदम सुस्त छ,’ उनले अवस्थाबारे बताए ।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले आन्दोलनमा जलाइएका गाडीमध्ये ७० प्रतिशत सरकारी स्वामित्वका रहेको बताए । उनका अनुसार उक्त गाडी अधिकांशको बीमा थिएन । बीमा नभएकाले तत्काल नयाँ गाडी खरिद हुने सम्भावना कम छ । ‘त्यो नभएपछि त अब चुनावको तयारी गर्नुपर्ने छ, त्यसैले त्यो स्तरमा गाडीको ‘रिफिलमेन्ट हुँदैन,’ उनले आशंका गरे ।

नारायणी अटो विजनेसका प्रमुख कार्यकारी अधिकृत अनुप बरालले पनि जेनजी आन्दोलनपछि अटो बजार सुस्त रहेको बताए । बजारमा कुनै उत्साह नभएको भन्दै सिजनमा समेत व्यापार गर्न नसकेको उनको गुनासो थियो । भने, ‘अन्दोलनले अटो शोले चलायमान बनाएको अटो क्षेत्र ध्वस्त बन्यो । व्यापारको मुख्य सिजनमा व्यापार हुन सकेन । त्यसले पनि अहिले बजार माथि उठ्न सकेको छैन ।’

  • आन्दोलनको क्षति र नयाँ मागको सिर्जना

जेनजी आन्दोलनका कारण सरकारी र निजी गरी करिब १० हजार सवारीसाधनमा क्षति पुगेको अनुमान छ । यसमध्ये करिब ७ हजार दुईपाङ्ग्रे र ३ हजार चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा जलेको अनुमान छ ।

यो ठुलो क्षतिले अटो बजारमा सवारीसाधनको माग बढाउने अपेक्षा छ । तर अटो व्यवसायीहरू भने खासै बजार चलायमान हुने अवस्था नभएको बताउँछन् । व्यवसायीहरूले आन्दोलनमा क्षति भएका सवारी साधन खरिद गर्दा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेका छन् ।

cg-showroom11_aWMNpHeJMl

तर लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक थपलिया अनुसार यदि कुनै माग सिर्जना भइहाले पनि त्यो निजी गाडीको नभएर पिकअप जस्ता व्यावसायिक गाडीको हुनेछ । यसले समग्र प्यासेन्जर कार बजारमा कुनै ठुलो हलचल नल्याउने उनको तर्क छ ।

आकाश गोल्छा पनि यसमा सहमत छन् । उनका अनुसार सरकारी निकायले खरिद गर्ने गाडीहरू विशेष किसिमका (डबल क्याब पिकअप) हुने भएकाले त्यसले आफूहरूलाई फरक नपार्ने उनको भनाइ छ ।

नारायणी अटो बिजनेसका प्रमुख कार्यकारी अधिकृत बरालले पनि आन्दोलनका कारण धेरै सवारी साधन क्षति भए पनि तत्काल बजार चलायमान हुने अवस्था नदेखिएको बताउँछन् ।

  • सरकारी निकायको खरिद योजना र सहुलियत

आन्दोलनका क्रममा सरकारी सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ । सरकारी निकायका लागि गाडी अत्यावश्यक हुने हुँदा प्रहरीले मात्रै ५०० वटा नयाँ सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृत दिइसकेको छ ।

अर्थ मन्त्रालयले अहिलेका लागि २५१ वटा गाडी किन्न स्रोत सहमति दिइसकेको छ । यसअघि नै प्रहरीले चालु आर्थिक वर्षको बजेटबाट ८७ वटा नयाँ सवारीसाधन किन्न टेन्डर आह्वान गरिसकेको छ ।

तत्कालका लागि कुल ३३८ वटा नयाँ सवारीसाधन खरिद गर्दा करिब ३ अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । सुरक्षा निकायका लागि आवश्यक पर्ने सिंगल वा डबल पिकअपको मूल्य महँगो छ । त्यसले पनि ठुलो रकम सवारी खरिदमा खर्च हुने देखिन्छ ।

सरकारले क्षति भोगेका सवारीधनीहरूलाई सहुलियत दिएको छ । आन्दोलनमा परेर जलेका सवारीसाधनको रिप्लेसमेन्ट गर्दा सरकारले ८० प्रतिशत ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

बीमा दाबी परेकाहरूको ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्ने व्यवस्था पनि गरिएको छ ।

  • दसैं–तिहारको व्यापार : आशा र निराशा

अटो व्यवसायीहरूका लागि दसैं र तिहार व्यापारको मुख्य सिजन मानिन्छ, जुन समयमा वर्षभरि बिक्री हुने गाडीको करिब ४० प्रतिशत डेलिभरी हुने गर्दछ ।

तर यो वर्ष चाडपर्वको समयमा नै बाढी पहिरो र जेनजी आन्दोलनका कारण प्रभावित बनायो । नाडाका अनुसार बाढी पहिरो र जेनजी आन्दोलनका बीचमा पनि यस वर्षको दसैं–तिहारमा १४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका करिब ४ हजार भन्दा धेरै गाडी बिक्री भएका छन् ।

तर यो वर्षको मुख्य सिजनमा व्यवसायीहरूले अपेक्षा गरेजस्तो उत्साह अनुभव गर्न पाएनन् । जेनजी आन्दोलन र चीनसँगका प्रमुख नाकाहरू लामो समयसम्म बन्द हुँदा गाडी आयात र डेलिभरीमा ठुलो असर प¥यो । व्यवसायीहरूले दसैँ तिहारका लागि अटो शोेमा नै भारी छुट र अफरहरू ल्याए पनि दसैं–तिहारको व्यापार निराशाजनक नै रह्यो ।

  • आयातको अवस्था र भविष्यको चिन्ता

बजारमा अन्योलताका बाबजुद सवारीसाधनको आयातमा भने खासै संकुचन आएको देखिँदैन । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असोजसम्ममा ६ अर्ब २५ करोड रुपैयाँ बराबरका सावरी साधन आयात भएका छन् ।

 

चालु आवको तीन महिनामा ६ अर्ब २५ करोड रुपैयाँ बराबरका २ हजार ६२० युनिट विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । जुन गत वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि हो ।

आयात पनि खासै कमी नभएको अवस्थामा छ । तर भदौ २३ र २४ गतेको आन्दोलनले मनोवल कमजोर बनाएका अटो व्यवसायीहरूलाई अर्को आन्दोलनको घोषणाले थप चिन्तित बनाएको छ ।

व्यापार व्यवसायमा ठुलो धक्का बेहोरेका व्यवसायीहरूलाई मंसिर ७ देखि हुने अर्को आन्दोलनको घोषणाले थप अन्योलता सिर्जना गरेको अटो व्यवसायीहरू बताउँछन् ।

थप आन्दोलनले समग्र बजारमा नकारात्मक असर पार्ने र सवारीसाधन खरिद गर्न चाहनेलाई समेत निरुत्साहित गर्ने हुन्डाई गाडीका महाप्रबन्धक दीपक थपलियाको भनाइ छ ।

त्यस्तै बजेट भाषणअघि विद्युतीय सवारी साधनको भन्सार बढ्ने आकलनमा भन्सारमा ल्याएका गाडी अहिले बिक्री नहुँदा अर्को समस्या थपिएको छ । अहिले बजेट भाषणअघि ल्याएका विद्युतीय गाडी भन्सारमा थन्किएर बसेका छन् ।

बजेट आउनुअघि कर बढ्ने अनुमानमा धेरै व्यवसायीले ठुलो संख्यामा गाडी आयात गरेको तर अपेक्षित बिक्री नहुँदा ती गाडीहरू भन्सारमै रोकिएको व्यवसायीहरूको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button