क्रोएसिया जाने तयारीमा रहेका सन्तोषले दुवै आँखा गुमाए

काठमाडौँ l गत भदौ २३ र २४ गतेको घटना नहुँदो हो त आज उनी क्रोएसिया पुगेर कुनै काममा लागिसकेका हुन्थे । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर आफ्ना दुवै आँखा गुमाएपछि उनी अहिले काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालको बेडमा उपचाररत छन् ।
‘क्रोएसिया जानका लागि पासपोर्टदेखि सबै तयारी भइसकेको थियो । हामीले तीन लाख रुपैयाँ डिपोजिट गरिसकेका थियौँ,’ अस्पतालको बेडमा सन्तोषलाई स्याहारेर बसिरहेकी उनकी पत्नी निर्मलाले रातोपाटीसँग भनिन्, ‘यस्तो नभएको भए उहाँ यतिबेला क्रोएसिया पुगिसक्नुभएको हुन्थ्यो ।’
यो घटनाले आफ्नो परिवारमा बज्रपात भएको निर्मला बताउँछिन् । सन्तोषको परिवारमा श्रीमती, एक सानी छोरी र बुबाआमा छन् ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको खबर प्रकाशमा आएसँगै देशभर तत्कालीन सरकारप्रति आक्रोश बढेको थियो । सोही क्रममा सन्तोष पनि २४ गतेको आन्दोलनमा सामेल हुने निर्णयमा पुगे ।

निर्मलाका अनुसार सन्तोषले २३ गते राति नै उनलाई ‘म त भोलि आन्दोलनमा जाने हो’ भनेका थिए । २४ गते बिहान सन्तोषलाई उनकी पत्नी निर्मला र बुबाले समेत आन्दोलनमा नजान धेरै आग्रह गरे, तर सन्तोष घर बस्न मानेनन् ।
सुर्खेतका जेनजी युवाको समूहले भाइबरमा ग्रुप बनाएर २४ गते आन्दोलन चर्काउने तयारी थालेका थिए । सन्तोषले पनि यसबारे जानकारी पाइसकेका रहेछन् । २४ गते बिहानै युवाहरू वीरेन्द्रनगरको सडकमा निस्किन थाले ।
सन्तोषलाई उनका बुबाले बजारतिर नजान आग्रह गरे । काठमाडौँमा धेरैले ज्यान गुमाएको भन्दै परिवारले आन्दोलनमा सहभागी नहुन सन्तोषलाई निकै कर गरेको थियो । परिवारको कुरा नसुनी उनी बिहानै घरबाट निस्किए ।
मध्याह्न १२ बजेपछि वीरेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । वीरेन्द्रनगरमा रहेका राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी सुरु भयो । त्यसपछि युवाहरू वीरेन्द्रनगर नगरपालिकाको कार्यालय हुँदै कांग्रेस उपसभापति (हाल कार्यवाहक सभापति) पूर्णबहादुर खड्काको निवासतर्फ लागे । आन्दोलन उग्र बन्दै थियो । त्यही बिचमा धमला चोक नजिकैको सडकमा प्रहरीले गोली चलायो । दिउँसो २ बजेतिर प्रहरीले चलाएको गोली सन्तोषको दायाँ कन्चटमा लाग्यो । घाँटीमा नेपाली झण्डा बेरेका सन्तोष सडकमै ढले ।
_MEc67JRp3Z.jpg)
सन्तोषलाई गोली लागेको खबर उनका परिवारले अपराह्न साढे चार बजेतिर थाहा पाए । सडकमा लडेका सन्तोषलाई आन्दोलनकारीले नै उठाएर प्रदेश अस्पताल पुर्याएका थिए ।
‘अस्पतालमा आफन्तको खोजी भइरहेको रहेछ । हामीले सुइँको पाएपछि ४ बजेतिर अस्पताल पुग्यौँ,’ निर्मलाले भनिन् । प्राथमिक उपचार गरी सोही दिन सन्तोषलाई नेपालगन्ज लगियो ।
काठमाडौँमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न अन्तरिम सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरू विभिन्न अस्पताल पुग्ने गरेका थिए । सुर्खेतमा गोली लागेर नेपालगन्जमा उपचाररत सन्तोषलाई भने कसैले सोधखोजसमेत नगरेको परिवारको गुनासो छ ।
त्यसैबेला ‘भेडा’ नामले चर्चित सामाजिक अभियन्ता नवराज बोहोराले कतैबाट सन्तोषबारे सुने । प्रशासनदेखि सबैतिर खोज गर्दा उनको रेकर्ड नभेटिएपछि नवराज आफैँ नेपालगन्ज गएर सन्तोषलाई भेटे ।
नवराजले सन्तोषलाई भेटेर उनको अवस्थाबारे फेसबुकमा पोस्ट गरेपछि मात्रै सबैतिर खबर फैलियो । त्यसयता नवराज बोहोरा सन्तोषसँगै छन् र उनले नै स्वास्थ्य मन्त्रालय तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई फोन गरेर उनको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले घाइतेको उपचारका लागि बनाएको प्रक्रिया अनुसारका कामसमेत नवराजले नै गरिदिए ।
नेपालगन्जमा सन्तोषलाई ४० दिनभन्दा बढी आईसीयूमा राखेर उपचार गरियो । निर्मलाले भनिन्, ‘हामी पीडामा थियौँ । के गर्ने, के नगर्ने भन्ने मेसो नै थिएन ।’

अभियन्ता नवराजका अनुसार सन्तोषको अवस्था नाजुक थियो । उनले भने, ‘चिकित्सकले उनको आँखालाई भन्दा पनि ज्यान बचाउनुलाई नै मुख्य प्राथमिकता दिइरहेका थिए । त्यसैले आईसीयूबाट बाहिर निकालेपछि तत्कालै काठमाडौँ लैजान गाह्रो भयो ।’
सन्तोषको कन्चटको हड्डीमा गोली लागेको रहेछ । मल्टीपल क्य्राक भई टुक्रा–टुक्रा परेको रहेछ । त्यो हड्डी सबै फालिएको छ । अब न्युरोहरू ठिक भएपछि कृत्रिम हड्डी हाल्ने भनिएको छ । न्युरो र आँखाको थप उपचारका लागि सन्तोषलाई कात्तिक १४ गते काठमाडौँ लगिएको हो ।
शिक्षण अस्पतालमा उनको थप अप्रेसन हुनेछन् । अहिलेसम्म टाउको सम्बन्धी ३ वटा अप्रेसन भइसके । कृत्रिम हड्डी र न्युरोको उपचार सकिएपछि तिलगंगा हस्पिटलमा आँखाको थप उपचार गर्ने योजना छ । शरीरमा अन्य चोट नभए पनि दुवै आँखा, टाउकोमा चोट लागेको छ ।
दाहिने कन्चटमा गोली लागेर एउटा आँखा घटनास्थलमै झरेको र अर्को आँखा बाहिर धकेलिएको अवस्थामा सन्तोषलाई अस्पताल पुर्याइएको थियो । तर बाँकी रहेको आँखामा पनि धेरै क्षति पुगेकाले अस्पतालमै निकालिएको उनकी पत्नी निर्मलाले बताइन् । उनका अनुसार सन्तोषले नाकबाट गन्ध थाहा पाउन सक्दैनन् । बायाँ कान र त्यस वरपरको भाग पनि पूरै क्षतिग्रस्त छ ।
सन्तोष अहिले राम्ररी बोल्न सक्दैनन् । डाक्टरले टाउकाको बिरामी यस्तै हुने र ६ महिनापछि रिकभर हुन सक्ने सम्भावना औँल्याएको निर्मलाको भनाइ छ ।

उपचारका क्रममा विभिन्न चुनौती छन् । अभियन्ता नवराजका अनुसार यताउता धाउनुपर्ने, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग सम्पर्कमा रहनुपर्ने, प्रशासनबाट कुनै जानकारी नपाउने र औषधि बाहिरबाट किन्नुपर्ने जस्ता समस्या छन् ।
नेपालगन्जमा अस्पतालभित्र पाइने सेवा–सुविधा अस्पतालले नै हेरे पनि नपाएका औषधिहरू परिवार आफैँले किनेको निर्मलाले बताइन् । बाहिरबाट रगतलगायतका लागि ३०–४० हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
सन्तोषको साथमा अहिले उनकी श्रीमती निर्मला, गाउँले जेठाजु, अभियन्ता नवराज बोहोरा र ससुरा काठमाडौँमै छन् । घरमा सासू र सानी छोरी छिन् ।
सन्तोषले देशमा रोजगारी, भ्रष्टाचारमुक्त समाज र शान्तिको मागसहित आन्दोलनमा सहभागिता जनाएका थिए । निर्मलाका अनुसार बारम्बार वैदेशिक रोजगारीमा जानुपर्ने र देश छोड्नुपर्ने बाध्यताले उनलाई भावनात्मक रूपमा असर पारेको थियो, जसले उनलाई आन्दोलनमा धकेलेको रहेछ ।
निर्मलाले आन्दोलन हुनुमा राजनीतिक दलका नेताहरूलाई दोष दिइन् । सत्तामा रहेकाहरूले जनताका आकाङ्क्षा र मागलाई लगातार बेवास्ता गर्दाको परिणाम नै जेनजी विद्रोह भएको उनको ठहर छ ।
उनी देशमा अब शान्ति हुनुपर्ने, भ्रष्टाचार अन्त्य हुनुपर्ने र यस्ता आन्दोलन फेरि नदोहोरिउन् भन्ने चाहन्छिन् । ‘कति जनाको कोखै रित्तियो, त्यस्तो नहोस् भन्ने इच्छा हो । जति पीडा मैले भोगेको छु, पछाडिका कसैलाई भोग्न नपरोस् भन्ने हो’, उनले भावुक हुँदै भनिन् ।
सन्तोषसँगै रहेका अभियन्ता नवराज बोहोरा घाइतेको परिचयपत्र पनि वर्गीकरण गरिनुपर्ने बताए ।
