अपराध /सुरक्षाबिज्ञान प्रविधिरोजगार

वैदेशिक रोजगार विभागको वेबसाइटमा साइबर हमला, अनलाइन श्रम स्वीकृति ठप्प

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक   रोजगार विभागको वेबसाइट साइबर आक्रमणका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । ह्याकरले प्रणालीमाथि नियन्त्रण जमाएपछि विभागले प्रवाह गर्दै आएका वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण अनलाइन सेवा प्रभावित भएका हुन् ।

विभागको वेबसाइट खोल्ने प्रयास गर्दा हाल ‘योर कनेक्सन इज नट प्राइभेट’ अर्थात् सुरक्षित पहुँच नभएको सूचना देखिन्छ । प्राविधिक रूपमा यो वेबसाइटको सेक्युरिटी लेयर (एसएसएल सर्टिफिकेट) मा समस्या आएको वा  त्यसलाई निष्क्रिय पारिएको सङ्केत हो ।

 

यसअघि विभागको वेबसाइटबाट इन्डेक्स भएका पेज गुगल सर्च इन्जिनमा हेर्दा जुवा तथा बेटिङ साइटको प्रचार सामग्री देखिएका थिए । यही कारणले पनि वेबसाइट ह्याक भएको आशङ्का गरिएको हो ।

 

यस वेबसाइटमार्फत वैदेशिक रोजगारीको खोजी सेवा, अनलाइन श्रम स्वीकृति नवीकरण र रोजगार पोर्टल लगायतका महत्त्वपूर्ण सेवा उपलब्ध हुँदै आएका थिए ।

वेबसाइट अवरुद्ध भएसँगै यी सम्पूर्ण सेवाहरू ठप्प भएका छन् । यस विषयमा थप जानकारी लिन विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीलाई सम्पर्क गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।

यसैबिच मन्त्रालय अन्तर्गतकै अर्को निकाय वैदेशिक रोजगार कार्यालयको वेबसाइटमा समेत असम्बन्धित पेज इन्डेक्स भएको देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button