अपराध /सुरक्षाबाग्मती प्रदेशमौसमसमाचार

बीपी राजमार्गः चार किलोमिटर सडक ध्वस्त, अस्थायी डाइभर्सन पनि बगे

बुधबार, २२ असोज २०८२, २० : ०२
बुधबार, २२ असोज २०८२

सिन्धुली । एक वर्षअघिको विपद्ले थिलथिलो बनेको बीपी राजमार्ग गत असोज १७ र १८ गतेको वर्षाले थप क्षतिग्रस्त भएको छ । २०८१ असोज १० देखि १२ गतेको वर्षाले राजमार्गको केही भाग नै बगाएको थियो ।

संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग सीधा र छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग असोज १८ र १९ गतेको वर्षाले पुरानै अवस्थामा पुर्‍याएको हो ।

एक वर्षअघि क्षति बेहोरेको उक्त सडक अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको थियो, तर एक वर्षपछि फेरि थङ्थिलो भएको हो ।

विगतको विपद् व्यवस्थापन पूरा नहुँदै सोही स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्सन पनि बगेका छन् । सामान्य गोरेटोसमेत बाँकी नरहने गरी रोशी खोलाले सडक बगाउँदा सवारी आवागमन नै ठप्प भयो, पैदल यात्रासमेत कष्टकर बन्यो ।

राजमार्गअन्तर्गत चौकीडाँडा, बोक्सी कुना, नर्केलगायत क्षेत्रका बाटो खोलाले बगाएपछि यात्रुहरू बाँकी रहेको पहरामा खोस्रोर यात्रा गर्न बाध्य छन् । राजमार्गको चार किलोमिटर सडकको डाइर्भसन बगेको छ ।

काभ्रेतर्फको रोशी खोलामा आएको बाढीले राजमार्गका ३.४ किलोमिटर सडक बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ भने सिनधुलीतर्फ करिब १ किलोमिटर सडक बगाएको डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । बाढीले गत वर्ष निर्माण गरिएको अस्थायी डाइभर्सन पनि पूर्ण रूपमा कटान गरेका कारण अहिले सडक सम्पर्कविच्छेद भएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी इन्जिनियर विन्दु अधिकारीले बताइन् ।

लगातारको वर्षाका कारण बीपी राजमार्गको काभ्रेस्थित चौकी डाँडादेखि बर्खे खोलासम्मको सडक खण्डमा ठुलो क्षति पुगेको उनले बताइन् । प्राप्त विवरणअनुसार सो खण्डको १७ विभिन्न स्थानमा गरी कुल ३ हजार ४१० मिटर (३.४१ किलोमिटर) सडक बाढी र पहिरोले बगेको छ ।

बरखे खोलादेखि धुलिखेलसम्म खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ भने सबैभन्दा बढी क्षति माम्ती खोला (४०० मिटर) र डाला बेंसी (४०० मिटर) सडक बगाएको छ । चौकी डाँडामा ३५० मिटर र सुक्खा पहिरो पिप्लेमा ३५० मिटर सडक बगाएको इन्जिनियर अधिकारीले बताइन् । उनका अनुसार चारसय बेंसीमा २५० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, माथिल्लो माम्तीमा २३० मिटर, माथिल्लो पिप्लेमा २२० मिटर, बोक्सी कुनामा २०० मिटर, गिमाटी बेंसीमा २०० मिटर, काल ढुंगा (भ्याकुरे खोला)मा १७५ मिटर, चिउरी बास झाङमा १७५ मिटर, कटुन्जे बेंसीमा १५० मिटर र नर्केमा ७५ मिटर सडक बगाएको छ ।

तर सडक अवरुद्ध भएसँगै यातायात सुचारु गर्न तीव्र गतिमा डाइभर्सन निर्माणको काम भइरहेको उनले बताइन् । काभ्रे खण्डको ५ स्थानमा डाइभर्सन निर्माणको काम भइरहेको र असोज २२ गते साँझ ५ बजेसम्म कटुन्जे, डाला बेंसी र कालढुंगाको डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको पनि उनले जानकारी दिइन् ।

चौकी डाँडामा सडक डाइभर्सन निर्माणका लागि काम जारी रहेकाले बुधबार राति ११ बजेसम्म सक्ने लक्ष्य राखिएको उनले बताइन् । उनका अनुसार चारसय बेंसीमा काम भइरहेको र २३ गतेसम्म सम्पन्न हुनेछ । बोक्सी कुना, भ्याकुरे, कालढुंगा र पिङथालीमा हाल डाइभर्सन निर्माणको काम भने सडक सञ्चालनका लागि काभ्रे खण्डमा मात्र १२ स्काभेटर, ४ लोडर र ५ टिपर चलिरहेका छन् ।

सिन्धुली खण्डको सडक बिहीबार सञ्चालनमा ल्याइने

राजमार्गअन्तर्गत सिन्धुली खण्डमा भने ३ स्थानमा सडकको डाभर्सन बाढीले बगाएको छ । उक्त खण्डको नेपालथोकदेखि बर्खे खोलासम्म ३ स्थानमा सडकको डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय सिन्धुलीका इन्जिनियर सुदर्शन उप्रेतीले जानकारी दिए ।

उनका अनुुसार अघिल्लो वर्षको विपद्ले क्षति पुगेको स्थानमै असोज १७ र १८ गतेको वर्षाका कारण पुनः क्षति भयो । सुनकोशी नदीमा आएको बढीका कारण राजमार्गको नेपालथोकमा ४०० मिटर र बालुवा भन्ने स्थानको २ वटा खण्डमा ६०० मिटर गरेर १ किलोमिटर सडक बगाएको छ ।

सडक बगाएको ३ वटै स्थानमा डाइभर्सन निर्माणको काम भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । नेपालथोकको डाइभर्सन निर्माणको काम अन्तिम चरणमा रहेको र बालुवाको एक खण्डमा पनि काम भइरहेकाले बिहीबारसम्मको उनले लक्ष्य राखे । उक्त स्थानमा ४ स्काभेटर, ४ टिपर र एक/एक वटा डोजर तथा लोडर चलेर सडक निर्माणको काम भइरहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button