सिन्धुली कलाघरकी सिर्जना

सिन्धुली कलाघरकी कोषाध्यक्ष हुन् सिर्जना गोले, तामाङ । सिन्धुली माडीकै सिन्धुली बहुमुखी क्याम्पसबाट उनले समाजशास्त्रमा स्नातक गरेकी छन् । कला क्षेत्रमा पढेलेखेका कलाकारहरु हुँदैनन् भन्ने गलत भाष्यलाई चिर्दै कलाघरमा सफल र असल कलाकार बनेर जमेकी छन् ।
अविवाहित सिर्जनाले अहिलेसम्म कलामै व्यस्त भएकै कारण विहे गर्ने विषयमा सोचेकै छैनन् । घरकी एक्ली छोरी सिर्जनाको थाप्लोमा पारिवारिक बोझ छ । बाबाको मृत्युपछि सिर्जनालाई घरको भारीले कहिलेकाँही नराम्रोसँग च्याँप्छ । तैपनि कलाका माध्यमबाट आफ्ना हरेक पीर-व्यथाहरुलाई उनी बिसाउँछिन् ।
२०७७ सालदेखि उनी सिन्धुली कलाघरमा जोडिएकी हुन् । त्यतिबेला कोरोनाले संसारलाई त्रहिमाम गराएको विषम परिस्थिति थियो । अहिले कमलामाई नगरपालिका, वडा नं-३, चपौलीस्थित आफ्नै जग्गामा रहेको कलाघर त्यतिबेला सिन्धुलीमाडीमा भरखर भरखर तातेताते गर्दै थियो । कलाघरलाई भाडा तिर्न र अन्यकुराको व्यवस्थापन गर्नै हम्मेहम्मे थियो ।
सिर्जना, कमलामाई-११ को ठूलो तेर्से गाउँबाट सिन्धुली सदरमुकाममा भविष्यको सुन्दर सपना बुन्दै पढ्न र पढेपछि जागिर खान आएकी थिईन् । पढाइ पूरा गरिन् स्नातक तर जागिर होईन, कलाघरमा कलाकारका रुपमा आवद्ध भईरहिन् । सुरुमा कलाघरमा आफूजस्तै महिला साथीहरुले बाजा बजाएको, नृत्य र गायनमा सहभागी भएको अनि नाटकमा अभिनय गरेको देख्दा दङ्ग पर्ने सिर्जना आफै यतिबेला सोही भूमिकामा छिन् । उनलाई जागिर खाएर दीनदुःखीको सेवा गर्ने र घर-व्यवहार धान्ने रहर थियो । तर, आज कलाकारितामार्फत देश, दुनियाँबीच परिचित हुन पाउँदा खुसीको सीमा छैन उनमा ।
यतिबेला उनले बजाउने बाजा कर्नाल (ढुङ्कुरी) हो । तैपनि दमाहा, ट्याम्को, मादल बजाउन तयार छिन् । सडक नाटकहरुमा बेजोड अभिनय गर्ने सिर्जनाको सिर्जनात्मक अभिनयलाई लाखौलाख सलाम र प्रशंसा पनि कमै हुनेछन् ।
पढेलेखेकी कलाकार भएकै कारण होला उनमा उद्घोषणकला प्रखर छ । निडरतापूर्वक बोल्न र सम्बन्ध स्थापित गर्न सक्ने कलात्मक प्रतिभाले नै सिर्जना भनेर चिनाएको छ । गायन र नृत्य क्षमतामा प्रभावकारी छिन् । सिर्जनालाई तामाङ भाषा, संस्कृति, संस्कार र परम्परागत ज्ञानको राम्रो हेक्का छ । तामाङ भेषभुषाले समेत उनको जातीय पहिचान झल्काउँछ । जीवनका हरेक मोडहरुमा सिर्जनाले कलाघरलाई जीवन्त राख्ने सुन्दर सपना बुनेकी छन् । त्यसैले कलाघरलाई कला संग्रहालय, कलाआश्रम,
कला विद्यालय बनाउने योजनामा उनले हातेमालो गरेकी छन् । जीवनको अन्तिम घडीमा कलाआश्रमलाई सुन्दर ढङ्गले सजाउने योजना बुनेकी छन् ।
फुर्सदको समयमा सिर्जना लगायत उनका साथीहरुले राष्ट्रिय संग्रहालय निर्माणमा सहयोग गर्दै सिमेन्ट, ईट्टा ओसार्ने, फलामका सामग्री तयार पार्न वेल्डिङ्ग गर्ने,रङ लगाउने काम गर्छिन् । त्यतिमात्र होईन, मीस मल्टिमिडियाले आयोजना गरेको ‘मीस तामाङ–२०२३’ मा सेकेण्ड रनर–अप भएकी थिईन् उनी । सिर्जना, विभिन्न मान, सम्मान, पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित र प्रशंसित भएकी छन् । कलामा रमाउँदै, देश, विदेशको यात्रा अनुभव संगालेकी छन् ।