
बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छन् । उनले दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रूपमा ब्रोइलर कुखुरापालन शुरू गरेकी हुन् । पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन् ।
हाल वर्षमा ६ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन् । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन् ।


लगनका साथ काम गरेमा सफलता हासिल हुने उनले बताइन् । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछिन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।