आजको तस्बिर

अरुण नदीको बेलिब्रिज भाँचियो, आवागमन बन्द

संखुवासभाको मकालु गाउँपालिका वडा नं. १ को जिमी गाउँ र ५ को आमराङ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको छ । शनिबार इप्सुवा हाइड्रोपावरको सामान बोकेर पुल तर्दै गरेको अवस्थामा मालबाहक यातायातको साधन अरुण नदीमा खसेको छ ।

पुल भाँचिएर मालबाहक सवारीसाधनसँगै मानिसहरू नदीमा खसेका थिए । मानवीय क्षति नभएको स्थानीयहरूले बताएका छन् । मकालु गाउँपालिकाको जिमी गाउँ र आमराङ जोड्ने सबैभन्दा सिधा बाटो यही हो । उक्त बेलिब्रिज नहुँदा वारिबाट पारि पुग्न करिब तीन–चार घण्टा घुम्नुपर्छ ।

‘ओभर लोड’का कारण बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दीछिरिङ शेर्पाले बताए । उक्त बेलिब्रिज बनेपछि दुई वडाका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित बनेका थिए । तर, अहिले बेलिब्रिज भाँचिएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

उक्त बेलिब्रिज इप्सुवा हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । बेलिब्रिजको लम्बाइ ५४ मिटर छ । उक्त बेलिब्रिजको ०७५ फागुन २४ गते प्रदेश १ का तत्कालीन प्रदेश प्रमुख गोविन्द तुम्बाहाम्फेले उद्घाटन गरेका थिए ।

इप्सुवा खोलाबाट ९७.२ किलोवाट विद्युत् उत्पादन गर्न इप्सुवा हाइड्रोपावरको काम चलिरहेको थियो । उक्त हाइड्रोपावर निर्माणको काम केएचआरएल कम्पनीले गरिरहेको छ । करिब १२ अर्ब रुपैयाँको लगानीमा उक्त हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको कम्पनी प्रतिनिधि अर्जुनबाबु ढकालले जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button