समाचार

बाँकेमा क्यान्सरको उपचार सस्तैमा

नेपालगन्ज : पश्चिम नेपालको बाँकेमा क्यान्सरको सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध छ। खजुरा गाउँपालिकामा रहेको ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ले रेडियोथेपापी सेवाबाहेक सबै सुविधा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्य बताउँछन्।

‘क्यान्सरको अपरेसन, किमोथेरापी, सिटीस्क्यान, क्यान्सर छ कि छैन भनेर जाँच्ने प्रविधि हामीसँग छ’, डा. आचार्य भन्छन्, ‘क्यान्सर उपचारका लागि अब बाहिरी जिल्ला जानु पर्दैन। सस्तोमा हामी सबै सुविधा दिइरहेका छौं।’ यसअघि क्यान्सर रोगी चितवन, काठमाडौं तथा भारतका अस्पतालमा जान बाध्य थिए। जुन आर्थिक रुपमा बढी खर्चिलो हुन्थ्यो। ५० शैयामा सञ्चालन भइरहेको अस्पतालले एक वर्षदेखि बिरामी भर्ना गरेर नै उपचार गरिरहेको छ।

अस्पतालमा ११५ जना चिकित्सकसहितको जनशक्ति कार्यरत छ। जसमा चिकित्सक मात्र २२ जना छन्। त्यसमा पनि विशेषज्ञ चिकित्सकको संख्या १३ छ। पूर्वाधारको पनि खासै अभाव छैन। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगीलाई अस्पतालले सेवा दिइरहेको छ। शल्यक्रिया पनि भइरहेको छ। अस्पतालमा सामान्य शल्यक्रिया कम्तीमा ६ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँ र ठूला अपरेसनको शुल्क १० हजारदेखि १५ हजार रुपैयाँ मात्र छ। जुन अन्य अस्पतालभन्दा धेरै सस्तो भएको अस्पताल प्रशासनले जनाएको छ। बेलाबेलामा क्यान्सर शिविर सञ्चालन गर्दा निःशुल्क शल्यक्रिया समेत अस्पतालले गर्ने जनाएको छ।

२०६२ सालमा प्रखर परोपकार मिशनबाट अस्पताल सञ्चालनका लागि अभियान सुरु भयो। ११ माघ २०६५ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका थिए। जनस्तरबाट सुरु भएको यो अस्पताललाई १५ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रुपमा सरकारीकरण गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button