समाचार

हिन्दु राष्ट्रकाे वकालत गर्ने कमल थापाले ‘गीता’काे कसम भुलेपछि. . .

काठमाडौं : ‘गीता’ छाेएर कहिल्यै पार्टी नफुटाउने कसम खाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्यागकाे घाेषणा गरेका छन्।

 

 

पार्टी परित्यागसँगै थापाले नयाँ पार्टी खाेल्ने राय समेत व्यक्त गरेका छन्। थापाले गीता छुँदै कहिलै पार्टी नफुटाउने भनेर खाएकाे कसम दुई वर्ष पनि टिकेन।

२०७६ फागुन २८ गते राप्रपा एकीकरण घोषणा कार्यक्रममा उनले खल्तीबाट सानो गीता निकालेर भनेका थिए, ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी फुटाउनेछैन।’

थापाले पार्टी परित्याग गरेपछि उनकाे सामाजिक सञ्जालमा चर्काे आलाेचना भइरहेकाे छ। उनलाई ‘धर्मको नाममा कसम खाएर कसम उल्लंघन गर्ने अधर्मी’ सम्म भन्न थालिएकाे छ।

मंगलबार गृहजिल्ला हेटौंडामा थापाले पत्रकार सम्मेलन गर्दै राप्रपासँगको ३१ वर्ष लामो राजनीतिक यात्रा त्याग गरेको घोषणा गरे। मंसिरमा सम्पन्न पार्टीकाे महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवास विरूद्ध निरन्तर गाली गर्दै आइरहेका थापाले पार्टी परित्याग गर्नुकाे प्रमुख कारण नै निर्मल निवास भएकाे ‍औंल्याएका छन्।

पार्टीकाे आन्तरिक निर्वाचनमा निर्मल निवास र राजाबाट भएको हस्तक्षेप चिन्ता र पीडादायी भएको भन्दै थापाले आफूले राजनीतिमा नयाँ यात्राको सुरुवात गर्ने उद्घाेष गरे।

पराजयलाई सहर्ष स्वीकार्न नसकेका थापाले आफ्नाे पराजयमा पूर्वराजा र निर्मल निवासकाे प्रत्यक्ष हात रहेकाे भन्दै लगातार अभिव्यक्तिसमेत दिने गरेका थिए। राप्रपा परित्याग गर्दै थापाले २०६३ सालबाट नै पूर्वराजाले निरन्तर रुपमा पार्टीमा हस्तक्षेप गर्दै आएको आरोपसमेत  लगाउन भ्याए।

आफूलाई हराउन पूर्वराजाले खुलेआम प्रचारप्रसार गर्ने, लोभ लालचमा पार्ने काम गर्नुको साथै नियोजित ढंगले मत बदरसमेत गरेको थापाको आरोप पनि उनले लगाए।

‘महाराज​धीराजको चाहनामा कमल थापालाई हराउनुपर्छ भनेर खुलेआम प्रचार गर्ने, लोभलालचमा पार्ने काम भयो’ थापाले भने, ‘हाम्रो नाममा लागेको ४०० मतलाई समेत नियोजित ढंगले बदर हो भन्ने काम गरियो। त्यो ४०० मत गन्ने हो भने हाम्रो जित सुनिश्चित थियो’ थापाले पार्टी परित्याग घाेषणा कार्यक्रममा भने।

गीताकाे कसम ताेड्ने थापाले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना लगायतको कामलाई अलपत्र छोड्न नसक्ने भन्दै त्यसलाई पुरा गर्न नयाँ यात्रा सुरु गर्ने बताए।

नयाँ राजनीतिक यात्राकाे सुरुवात गर्न लागेकाे उद्घाेष गरेका थापाले आफूले राप्रपा फुटाउन वा विभाजन गर्न भने नलागेको बताए। थापाले मन र बचनले प्रतिवद्ध हुनेहरूलाई मात्रै आफ्नो यात्रामा आउन आग्रह गर्दै आफूप्रति भरोसा नभएकालाई करकाप नगर्ने समेत बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button